काठमाडौं। नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ नामक पुस्तक विमोचन भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच थ्रि एस मिडियाद्वारा प्रकाशित थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पथ टु मोडरनाइजेशन नामक पुस्तक विमोचन भएको हो।
पुस्तक जनवादी गणतन्त्र चीनको चिनियाँ कम्युनिष्ट पार्टी,अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेपालका कला, संस्कृति, इतिहास र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरुले गरेको ११ दिन लामो चीन भ्रमण सम्पन्न गर्दा चीनबाट बटुलेको अनुभवलाई पुस्तकमा उतारिएको छ।
आधुनिकीकरणको यात्रामा प्रवेश गर्दै गरेको चीनको सुदूरपश्चिम–दक्षिणको सिचाङ प्रान्त हुँदै सुदूरपूर्व–दक्षिणको तिब्र गतिको आधुनिकीकरणको प्रक्रिया सम्पन्न भएको चच्याङ प्रान्तको यात्रा र वर्तमान आधुनिकीकरणको अनुभव पुस्तकमा समेटिएको छ।
अन्तर्राष्ट्रिय च्याम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक मात्र नभइ सामाजिक, आर्थिक र व्यवसायिक रहेको बताए। विकासको क्षेत्रमा चीनबाट नेपालले धेरै कुरा सिक्न आवश्यक रहेको उनको भनाइ छ। चीन सामाजिक, आर्थिक, प्राविधिक क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै हरेक क्षेत्रमा विकसित रहेको र चीनको विकास मोडेलबाट प्रभावित भएर नेपाल लगायतका विश्वका धेरे देशहरुले विकासको खाका कोरेको उनले बताए।
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले चिनियाँ नागरिक आधुनिक विकास र अनुसन्धानमा उत्कृष्ट रुपमा लागेको अनुभव गरेको बताए। छिमेकी देशले विश्व मानव विकासका लागि गरेका कामहरु देखेर आफू भावुक बनेको बताए।
नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बल तामाङले आधुनीकिकरणको चिनियाँ मोडेलबारे नेपालले धेरै कुरा सिक्न आवश्यक रहेको बताए। चीनको सय वर्षे इतिहास गौरवशाली रहेको बताउँदै शास्त्रीय समाजवादी आर्थिक मोडेल मात्रै अपनाएको भए यो समृद्धि चीनका लागि सम्भव नरहेको बताए। नेपाललाई चीनले विकासका साथै प्राविधिक क्षेत्र, सांस्कृतिक क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको उनको भनाइ छ।
योहो टेलिभिजनका समाचार प्रमुख तथा कार्यक्रम सञ्चालक जीवराम भण्डारीले आफूले देखेको कुरा हेर्दा नयाँ अनुभव गर्न पाएको बताए। चिनियाँहरु नेपालीहरुको बारेमा धेरै नै सकारात्मक रहेको र नेपाली समाजलाई धेरै चासोका साथ लिने गरेको पाएको उनले बताए।
चीन मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले चीनबाट नेपालले धेरै कुराहरुमा सहयोग प्राप्त गर्नसक्ने बताए। नेपालका लागि चीनको विकास धेरै नै आवश्यक रहेको र चीनसँग नेपालले सांस्कृतिक, सामाजिक, आर्थिक, प्राविधिक र आधुनिकीकरणमा धेरै सहयोग माग्न सक्ने बताए। चीनको आधुनिकीकरण र विकासले विश्वकै अर्थतन्त्रलाई परिवर्तन गरिदिएको उल्लेख गरे।
वरिष्ठ कलाकार मदनदाश श्रेष्ठले नेपाल र चीनबीच परापूर्वकालेदेखि नै आपसी सम्बन्ध रहेको र चीनले नेपालको शान्ति, विकास र समुन्नतिका लागि उल्लेखनिय योगदान गरेको बताए। कलाकार श्रेष्ठले पुस्तकमा चीनको विभिन्न शहरमा भ्रमण गरी नेपालीहरुले लिएको अनुभवलाई उतारिएको उनले बताए।
भ्रमणमा पुगेका १८ जना कलाकार, पत्रकार, राजनीतिज्ञसहितले भ्रमणका क्रममा चीनको विकासलाई नजिकबाट नियाल्ने अनुभवका साथै चीनको समाजलाई बुझ्न् अवसर पाएको बताए ।