काठमाडौं । नेपालमा मध्य तथा पश्चिमी तराईका भूभागमा अझै केही दिनसम्म अत्याधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी तीन दिन ३१ जेठ गतेसम्म अत्याधिक गर्मी र तातो हावाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
विशेष बुलेटिन जारीमार्फत महाशाखाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने देखिएकोले सोबाट बच्ने उपाय अपनाउन महाशाखाको अनुरोध छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने ), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाको अनुरोध छ।