काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी स्वीट्जरल्यान्डको जेनेभा जाने कार्यक्रम तय भएको छ।
राष्ट्रपतिले जेठ ३१ मा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा उनले जेठ ३० मा स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपालका राष्ट्र प्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः पहिलो पटक भएको बताइएको छ।
भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ मा जेनेभाबाट जर्मनीको बर्लिन जाने कार्यक्रम रहेको मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।
राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। उनले असार ३ मा जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन्।
राष्ट्रपतिका साथ धर्मपत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहनेछन्।
राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ मा स्वदेश फर्किनेछन्।