धनगढी । सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। डेढ महिनादेखि मुख्यमन्त्रीसहित तीन सदस्यीय सरकार रहेकोमा आज थप गरिएका मन्त्रीले सपथ लिएका हुन्।
यससँगै मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विस्तार गरेको मन्त्रिपरिषद्का सदस्यलाई सोमबार प्रदेश प्रमुख नजिर मियाले एक समारोहबीच पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्।
शपथग्रहण गर्नेमा नेकपा एमालेका सुरेन्द्र पाल आर्थिक मामिला र नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
एमालेका वीरबहादुर थापा, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र नेकपा एकीकृत समाजवादीका माया पन्तले तत्काललाई विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन्।
यसअघि नागरिक उन्मुक्ति पार्टीका क्रमशः कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त भइसकेका छन्।
स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उनले मन्त्री धेरै भएको र मन्त्रालय फुटाइनु ठिक नहुने भन्दै शपथग्रहण गर्न तयार नभएका हुन्।
एकीकृत समाजवादी दलका नेता समेत रहेका मुख्यमन्त्री सोडारीले सहमतिमा भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्र्याउने तयारी गरेका छन्।