जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालमा जुन १३ बाट मनुसन सक्रिय हुनेभए पनि यस वर्ष तीन दिन छिटो सोमबार (जुन १०) बाटै मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागबाट भित्रिएको छ। नेपालमा मौसम भित्रिने चर्चासँगै आममानिसहरू के हुने हो र कसो हुने हो? भन्ने आशंका पनि जन्मिएका छन् किनभने विगतका मनसुनी वर्षाले नेपालमा धेरै धनजनको क्षतिका पुर्याएको छ।
नेपालमा हुने वर्षामध्ये ८० प्रतिशत वर्षात्को समय अर्थात् जेठ–भदौबीचमा हुने गर्दछ। यसरी छोटो समयमा अत्यधिक वर्षा हुँदा मुलुकमा रहेका करिब ६ हजार खोलानालामा पानीको सतह र बहाव ह्वात्तै बढ्ने र यसले पहाडी क्षेत्रमा पहिरो, भेल, आकस्मिक बाढी र तराईमा बाढी, डुबान तथा जमिन कटानजस्ता विपद् निम्त्याउने गरेको देखिन्छ।
खासगरी मनसुनको समयमा बाढी, पहिरो, जमिन कटान, चट्याङ, झाडापखाला, टाइफाइड, सर्पको टोकाइबाट अधिकतर मानिसहरू प्रभावित हुने गर्दछन्। यसले मानवीय क्षतिसँगै व्यक्तिगत घर, सार्वजनिक सम्पत्तिका रुपमा रहेका पुलपुलेसा, सडक, खानेपानीका संरचना, जलविद्युत आयोजना, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवनलगायतमा ठूलो क्षति हुने गर्दछ।
‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ अनुसार विगत ५ वर्षमा वर्षाका कारण मनसुनी विपद्बाट १४२७ सर्वसाधारणले ज्यान गुमाएका छन् भने ५ अर्ब ९१ करोड रुपैयाँबराबरको भौतिक संरचनाको क्षति राज्यले व्यहोरेको छ। गत वर्ष असार १ र २ गते आएको बाढीका कारण साना ठूला ३१ जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यस दौरान २७ सर्वसाधारणले ज्यान गुमाए। त्यस्तै, २०७८ मा आएको मनसुनी वर्षाले मेलम्ची खानेपानी आयोजनामा अकल्पनिय क्षति पुर्यायो। त्यसैवर्ष आएको मनसुनका कारण देशभर करिब ४५ पक्की पुल, ८७ झोलुङ्गे पुल तथा ६ सय खानेपानीका संरचनामा क्षति पुग्यो भने १६०० व्यक्तिगत घर क्षतिग्रस्त हुनुका साथै ११ करोड ८७ लाख रुपैयाँबराबरको सर्वसाधारणको बालीनाली नष्ट भयो।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा ३५–५५ प्रतिशतसम्म बढी वर्षा हुनेछ। बढी वर्षा हुँदा स्वभाविक रुपमा बाढी पहिरोको जोखिम पनि बढी हुन्छ। मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरी क्षेत्रमा बढी पानी पर्ने गर्दछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा ३५–५५ प्रतिशतसम्म बढी वर्षा हुनेछ। बढी वर्षा हुँदा स्वभाविक रुपमा बाढी पहिरोको जोखिम पनि बढी हुन्छ। मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरी क्षेत्रमा बढी पानी पर्ने गर्दछ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाएको छ।
खोला तथा नदी किनारा तथा भिरालो र कमजोर जमिनमा मानबबस्ती विकास, नदीनालाको बहाव क्षेत्र मिचेर बनाइएका भौतिक संरचना, ढल तथा नालाको उचित व्यवस्थापन नहुनु, भिरालो जमिनमा जथाभावी सडक तथा संरचनाको निर्माण गरिनु, बढ्दो अव्यवस्थित सहरीकरणका साथै जथाभावी ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको दोहनले मनसुनजन्य प्राकृतिक विपत्ति बढाउँदै लगिरहेको छ।
बझाङमा जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह धामीको जेठ २८ गते मृत्यू भएको छ। सरकार (संघ, प्रदेश र स्थानीय) र विभिन्न सरोकारवाल निकायहरूले वर्षा, आगलागी, गर्मी, डुबानजस्ता घट्नाबाट बचाउन समय समयमा सम्वन्धित क्षेत्र र समूदायलक्षित अनुशिक्षण (प्रशिक्षण) दिने गर्दछन्। त्यही अनुशिक्षण गर्ने क्रममा एक प्रहरीको मृत्यू भएको छ। यस्ता अनुशिक्षणलाई पनि व्यवस्थित र सुरक्षित बनाउनुपर्ने आवश्यकता छ।
विपद् व्यवस्थापनका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले विभिन्न कानुन निर्माण गरेका छन्। तिनै कानूनका अधिनमा रहेर विपद् जोखिम कम गराउन क्रियासिल हुने गर्दछन्। विपद् व्यवस्थापन दिग्दर्शन २०७१, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ऐन २०७४, विपद जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३०, राष्ट्रिय विपद जोखिम न्यूनीकरण नीति २०७५, राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचा र मनसुन पुर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा केन्द्रित रहेर संघीय सरकारको विपद् व्यवस्थापन टोलीले काम गर्दछ भने प्रदेश र स्थानीयस्तरमा पनि ऐनका अतिरिक्त प्रादेशिक विपद् प्रतिकार्य कार्यढाँचा र स्थानीय विपद् प्रतिकार्य कार्यढाँचामार्फत काम गर्ने गर्दछन्। तर, कतिपय बेला संघ, प्रदेश र स्थानीय तहबीच उद्धार तथा राहतमा तालमेल नहुने र बढी क्षति व्यहोर्नुपरेका घट्नाहरू पनि छन्। यस्ता विषयमा सम्बन्धित निकाय र सरोकारवाला समयमै सचेत भई अग्रताका साथ जोखिम न्यूनकिरणमा खटिनु अहिलेको आवश्यकता हो। जसले क्षति कम गर्न अधिकतम सहयोग गरोस्।