काठमाडौं। मुलुकको शोधनान्तर स्थिति दिनप्रतिदिन मजबुत बन्दै गएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को १० महिने तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधनान्तर ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचत देखिएको छ।
शोधनान्तर बचतको वृद्धिसँगै मुलुकको विदेशी विनिमय सञ्चिति पनि उच्च भएको छ। विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रुपैयाँ हो।
२०७९ वैशाखमा हालसम्मकै २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको भुक्तानी सन्तुलन निरन्तर सुधार आउँदै उच्च बिन्दुमा पुगेको हो। जतिबेला विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड डलर थियो।
विदेशी विनिमय सञ्चिति २ वर्षको बीचमा करिब ५७ प्रतिशतले बढेको हो। त्यसैगरी चालू खाता पनि अघिल्लो वर्ष वैशाखमा ४९ करोड ३६ लाख डलर घाटामा रहेकोमा गत वैशाखमा १ अर्ब ४५ करोड डलर बचत देखिएको छ।
यस अवधिमा पूँजीगत ट्रान्फर १७.२ प्रतिशतले घटेर ५ अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्येक्ष वैदेशिक लगानी गत वर्ष वैशाखसम्मको ४ अर्ब ३६ करोडको तुलनामा बढेर ६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
२०८१ वैशाखसम्म कायम विदेशी मुद्रा सञ्चितिले १५.१ महिनाको बस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ। २०८१ वैशाखसम्म विदेशी विनिमय सञ्चिति कुल ग्रास्त उत्पादनको ३४ प्रतिशत, कुल आयातको १०५.३ प्रतिशत र विस्तृत मुद्राप्रदाय २९.२ प्रतिशत छ।
यस अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.६१ प्रतिशतले अवमूल्यन भएको छ भने कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारेल ११.६ प्रतिशतले वृद्धि भएर ३३.१८ डलर पुगेको छ।