काठमाडौं। सीजी फुड्स नेपालले अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख सहयोग घोषणा गरेको छ।
विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको लोकप्रिय ब्रान्ड वाई वाई चाउचाउले नेपाल दोस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थनस्वरुप ‘वाई वाई क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ।
सीजी फुड्स नेपालले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेट अवधारणा कार्यान्वयनमा ल्याएको हो। टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकका लागि वाई वाईको यो प्याकेट विशेष हुने विश्वास कम्पनीका छ।
वाई वाईको विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीमा थप उत्साह ल्याउने कम्पनीले बताएको छ।
लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाई वाईले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी ६० लाख क्यानलाई सहयोग गर्नेछ।
पत्रकार सम्मेलन अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।
नेपाली राष्ट्रिय टिम दोस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपालले नेपाली राष्ट्रिय टिमलाई बधाइ एवं शुभकामना व्यक्त गरेको छ।
यसअघि वाई वाईले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहनस्वरूप सुपर–८ मा पुग्न सफल भए ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनबापत १ हजार, प्रत्येक चौकाबापत ८ हजार दिने घोषणा गरेको छ।
यस्तै, कम्पनीले प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ।