दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोला निवासी ६८ वर्षीय सत्यबहादुर पुन अहिले व्यावसायिक बङ्गुरपालन गरेर आर्थिकरुपमा सक्षम भएका छन् । आफूलाई एक सफल बङ्गुरपालक उद्यमीको रुपमा चिनाउन सफल भएका छन् ।
विगत एक दशकदेखि सो पेशा अङ्गालेका उनले अहिले वार्षिकरुपमा सबै खर्च कटाएर १० लाखदेखि १२ लाख रूपैयाँसम्म बचत गर्न सफल भएको बताउँछन् । एक सफल व्यवसायीका रुपमा चिनिएका पुन आजभोलि बङ्गुरका पाठापाठी स्याहार गर्ने, दानापानी खुवाउने काममा व्यस्त छन् । उनलाई उनकी श्रीमती र दुई छोराले पनि सहयोग गर्दै आएका छन् ।
पन्ध्र वर्ष पहिले रुकुमको लुगुममा खेतीपाती गरेर मात्र घर परिवार पाल्न र छोराछोरीलाई पढाइलेखाइ गर्न नसक्ने भएपछि आफू कामको खोजीमा तुलसीपुरमा आएको उनी बताउँछन् । ‘‘अहिले आफू एक सफल बङ्गुरपालक हुन पाउँदा निकै खुशी छु’’, उनी भन्छन् ‘‘शुरुमा कामको खोजीमा दाङ आए । तुलसीपुरको नयाँ बसपार्कको मासु पसलमा बसेर पाँच वर्ष काम गरेँ ।’’
काम गरेर कमाइ गरेको केही रुपैयाँ घरमा पठाए केही बचत गरेपछि त्यहीँबाट उनले चार वटा बङ्गुर खरीद गरेका थिए । उनले भने, ‘‘स्थानीयको जग्गा भाडामा लिएर बङ्गुरपालनको शुरुआत गरेको हुँ । अहिले छोराछोरीलाई पठाउन, घरखर्च चलाउन सजिलो भएको छ ।’’ वार्षिकर १०/१२ लाख रूपैयाँ बचत हुने गरेको पुनले बताए ।
‘‘तुलसीपुरको मासु पसलमा बसेर काम गर्दै जाँदा मासुबाट निकै फाइदा हुने देखेें, यहाँका साथीले गरेको बङ्गुरपालन पनि हेरें, त्यसैको प्रेरणाले आफूले सो व्यवसायको शुरु गरेको हुँ’’ पुनले भने । शुरुमा चार वटा बङ्गुरका पाठापाठीबाट शुरु गरेको पुनको फाराममा अहिले ३३ वटा माउ र १८ वटा बङ्गुरका पाठापाठी छन् । हालै १३ वटा माउले बच्चा जन्माइसकेका छन् भने बाँकी २० वटा बच्चा जन्माउने अवस्थामा छन् ।
ग्वार खोलादेखि पूर्वतर्फको खुला ठाउँमा उनले खोर बनाएर व्यवस्थित रुपमा बङ्गुर फार्म सञ्चालन गरेका छन् । पुनले शुरु गरेको बङ्गुर फार्म अहिले सबैको लागि नमुना बनेको छ । बङ्गुरपालन गर्नको लागि सोच बनाएका जो कोही पनि त्यहाँ हेर्न पुग्छन् । देख्छन् र घर आएपछि बङ्गुर पालन गर्ने गर्दछन् ।
पुनले पहिलो वर्षमा त बङ्गुरपालनबाट त्यति राम्रो आम्दानी लिन नसके पनि दोस्रो वर्षबाट राम्रो आम्दानी लिन सकेको बताए । उनले अहिले एउटा ठूलो बङगुरलाई २० हजारदेखि २५ हजार रूपैयाँसम्ममा र सानो बङ्गुरलाई चार हजारदेखि पाँच हजारसम्ममा बिक्री गर्ने गर्छन् ।
उहाँका एक जना छोराले तुलसीपुरमा बङ्गुरको मासु बिक्री पसल पनि खोलेका छन् । आफूले उत्पादन गरेका बङ्गुर छोराले काटेर बिक्री गर्ने हुँदा बङ्गुर अझै बढी पाल्ने योजना रहेकाे पुन बताउँछन् । अहिले बजारमा बङ्गुरको मासु प्रतिकेजी २८० देखि ३०० रूपैयाँसम्म बिक्री हुने गरेको उनका छोरा किशोर पुनले बताए ।
उन्नत जातको विकासी बङ्गुरको मासु रातो र बोसो कम हुने भएकाले यसको मासु जति खाए पनि केही असर नगर्ने बरु स्वास्थ्यलाई फाइदा पुग्ने भएको हुँदा ड्युरोक जातका बङ्गुरको पाठापाठी मात्र होइन मासुको मागसमेत बढेको उनको भनाइ छ ।
मागअनुसार पाठापाठीको पुर्याउन नसेकेकाले अगामी दिनमा ७५ वटा माउ पाल्ने तयारीमा उनी छन् । व्यवसाय विस्तारका लागि अहिलेसम्म सरकारी निकायबाट आफूले कुनै सहयोग नपाएको उनको गुनासो छ ।
उनको फार्ममा उत्पादन भएका बङ्गुरका पाठापाठी दाङको विभिन्न ठाउँसहित प्यूठान, सल्यानमा पनि लैजाने गरेका छन् । पुनको बङ्गुर फार्ममा बङ्गुरको बच्चा किन्नका लागि आएकी तुलसीपुर उपमहानगरपालिका–६ शारदा नेपालीले यहाँ उन्नत जातका बङ्गुरका पाठा पाइने हुँदा आफू किन्न आएको बताइन् ।
‘‘घरमा गाई बस्तु केही छैनन् सधैँ खानेकुरा फाल्ने हुन्छ त्यसैले बङ्गुरको पाठी किन्न आएकी हुँ’’, उनले भनिन् । उनले पाठा किन्दा निकै फाइदा हुने बताइन् ।
मासुभन्दा बच्चा बेच्दा बढी फाइदा हुन्छ दाना कम लाग्ने र थारै खोर भए पनि पुग्ने भएकाले आफूले धेरै पाठापाठी उत्पादन तथा बिक्री वितरण गर्ने गरेको पुनको भनाइ छ । कम लगानीमा छोटो समयमा मन्नग्य आम्दानी गर्न सकिने भएकाले अहिले बाह्मण, क्षेत्री पनि बङ्गुर पाल्नकै लागि ठाउँठाउँबाट पाठापाठी किन्न आउने पुन बताउँछन् । उनको फार्ममा ३५ वटा खोर छन् ।
बङ्गुर फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन् । पढे लेखेका पैसा कमाउनकै लागि जागिर खानैपर्छ भन्ने मान्यतालाई गलत हुने भनाइ राख्ने पुनले साच्चीकै पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने व्यवसाय गर्नुपर्ने बताउँछन् । शुरुका दिनमा आफूले बङ्गुर पालनमा लाग्दा परिवार र साथीभाइहरुबाट निकै आलोचना खेप्नुपरेको अनुभवसमेत उनले सुनाए ।
बङ्गुरलाई लुतो, खोरेते, स्वान, फिवर, जुका र भ्यागुते रोगबाट बचाउन जुकाको भ्याक्सिन दुई दुई महिना र अन्य रोगबाट बचाउन छ छ महिनामा सुई दिनुपर्ने उनी बताउँछन् । उनका अनुसार बङ्गुरको हेरचाह राम्रो भए ४० दिनको पाठापाठी १५ किलोसम्म हुन सक्छन् भने एक वर्षमा दुई पटक बच्चा जन्माउने हुँदा छिट्टै आम्दानी लिन सकिन्छ । –नारायणी रजौरे/रासस