नेपालगञ्ज बसपार्क/सबै तस्बिर : नगर विकास कोष
काठमाडौं । नगर विकास कोषले देशभरका २६ बसपार्क निर्माणमा डेढ अर्ब बढी लगानी गरेको छ। जसमध्ये २० वटा निर्माण सम्पन्न भइसकेका छन्। ५ वटा निर्माणाधीन र एउटा बसपार्क भने ठेक्का प्रक्रियाको चरणमा छ।
जर्मन विकास बैंक (केएफडब्लू)को आर्थिक सहयोगमा काम गर्दै आएको कोषले देशको पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा बसपार्क निर्माण गरेको हो। सहरी क्षेत्रको यातायात र ट्राफिक व्यवस्थापनका लागि अझै पनि बसपार्क निर्माणको आवश्यकता रहेको कोषका सूचना अधिकारी सूर्यबहादुर कार्की बताउँछन्।
कोषले सन् २००१ मा पहिलो पटक महेन्द्र बसपार्क निर्माण गरेको थियो। निर्माण सम्पन्न भएका २० बसपार्कमा १ अर्ब १ करोड ४५ लाख २१ हजार ९०६ रुपैयाँ खर्च भएको छ। यस्तै निर्माणाधीन ५ र ठेक्का प्रक्रियामा रहेको एउटा गरी ६ वटा बसपार्कको लागत ६३ करोड ५३ लाख ८९ हजार ६८ रुपैयाँ छ। यसरी निर्माण सम्पन्न र निर्माणाधीन बसपार्क गरी नगर विकास कोषबाट १ अर्ब ६४ करोड ९९ लाख १० हजार ९७४ रुपैयाँ खर्च भएको कोषका सूचना अधिकारी कार्कीले बताए।
२०४५ सालमा ‘नगर विकास कोष समिति’का रूपमा स्थापना भएको कोषले २०५० पछि मात्रै बसपार्क निर्माण सुरु गरेको हो। २०५३ केएफडब्लूले नगर विकास कार्यक्रमका लागि पहिलो, दोस्रो र तेस्रो चरणमा अनुदान रकम उपलब्ध गराएको थियो। त्यसपछि भने सरकारले छुट्टै ऐनको व्यवस्था गरी समिति हटाएर ‘नगर विकास कोष’का रूपमा अघि बढेको हो। हाल नगर विकास कोष ऐन २०५३ अनुसार कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
भीमदत्त बसपार्क
सबैभन्दा उत्कृष्ट कोहलपुर बसपार्क
कोषले निर्माण सम्पन्न गरेका २० वटा बसपार्क मध्ये आधुनिक प्रविधि प्रयोग गरी कोहलपुर बसपार्कलाई सबैभन्दा राम्रो बनाएको मान्न सकिने कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा बताउँछन्। ‘अन्य बसपार्क नराम्रा होइनन्। तर, टेक्नोलोजी, फिनिसिङ, चार्जिङ सेन्टर, महिला बालबालिकालाई ब्रेस्ट फिडिङ, अरू सेवा सुविधाका हिसाबले पछिल्लो समय निर्माण भएमध्ये कोहलपुरलाई अझ उत्कृष्ट मान्न सकिन्छ,’ सापकोटाले भने।
कोहलपुर बसपार्कबाट ब्रेस्ट फिडिङ कक्ष बनाउन सुरु गरेको कोषले अन्य बसपार्कमा पनि उक्त कक्ष निर्माण सुरु गरेको छ। गत वर्षबाट कोहलपुर बसपार्क सञ्चालनमा आएको हो।
थप ३ बसपार्क अध्ययन हुँदै
कार्यकारी निर्देशक सापकोटाका अनुसार थप ३ वटा बसपार्क निर्माणका लागि अध्ययन थालिएको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ बाट निर्माण गर्न सकिने गरी अध्ययन भइरहेको उनको भनाइ छ।
‘तीन ठाउँकै बसपार्क अध्ययनको अन्तिम चरणमा छन्। लगानी निर्णय गर्न १/२ महिना लाग्छ। आगामी आर्थिक वर्षबाट निर्माण सुरु गर्न सक्छौं,’ सापकोटाले भने। अध्ययन भइरहेका ठाउँमा मोरङको उर्लाबारी, डोटीको दिपायल सिलगढी र धनगढीको धनगढी बसपार्क छन्।
कोहलपुर बसपार्क
निर्माणमा अनुदान र ऋण सहयोग
कोषले आर्थिक एवं प्राविधिक सहयोग गरेर बसपार्क निर्माण भए पनि सञ्चालनको जिम्मेवारी नगरपालिकाकै हुने सूचना अधिकारी कार्की बताउँछन्। ‘हाम्रो काम अध्ययन र निर्माणसम्म मात्रै हो। सञ्चालन, व्यवस्थापन एवं मर्मतको जिम्मेवारी नगरपालिकाकै हुन्छ,’ उनले भने।
कोषले मुख्यतः नगरपालिकालाई ऋण प्रवाह गरेर काम गर्छ। यद्यपि आवश्यकता हेरेर केही नगरपालिकालाई कुल लागतको ५/१० प्रतिशतसम्म अनुदान सहयोग गरेको कार्यकारी निर्देशक सापकोटा बताउँछन्। ‘हाम्रो मुख्य उद्देश्य ऋण प्रवाह गरेर नगरपालिकासँग सहकार्य गर्नु हो।
तर, आवश्यकता हेरेर उनीहरूलाई सजिलो गराउन केही ठाउँमा अनुदान पनि दिँदै आएका छौं,’ उनले भने। ऋण दिँदा नगर विकास कोषले साढे ७ प्रतिशतका दरले २० वर्षसम्मका लागि दिने उनको भनाइ छ। अन्य बैंकमा जस्तो कोषले ब्याजदर घटबढ गर्दैन।
यी क्षेत्रमा गर्छ कोषको लगानी
नगर विकास कोषले बसपार्कमा नभई नगरपालिकाको सहरी क्षेत्र विकासका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। खानेपानी आयोजना निर्माण एवं मर्मतमा पनि कोषले सहयोग गरेको सूचना अधिकारी कार्कीले बताए। हालसम्म कोषले सपिङ कम्प्लेक्ससहितका बहुउद्देश्यीय भवन, खानेपानी आयोजना, तरकारी बजार, जग्गा एकीकरण आयोजना ‘ल्याण्ड पुलिङ’, मल्टिलेयर कार पार्किङ, पार्क निर्माणमा पनि लगानी गरेको छ।
तुल्सीपुर बसपार्क
निर्माणाधीन बसपार्क
हेटौंडा बस टर्मिनल
तानसेन बसपार्क
जलेश्वर बसपार्क
छिन्चु बसपार्क
वालिङ बसपार्क
इटहरी बसपार्क
सञ्चालनमा रहेका बसपार्क
बुटवल बस टर्मिनल
सिद्धार्थनगर बसपार्क
वीरेन्द्रनगर बस टर्मिनल, भरतपुर
सेन्ट्रल बस टर्मिनल, भरतपुर
बस टर्मिनल, सपिङ स्टल एण्ड ड्रेनेज, बुटवल
लुम्बिनी बसपार्क, बुटवल
दमक बस टर्मिनल
इटहरी बस टर्मिनल
मेचीनगर बस टर्मिनल
नेपालगन्ज बस टर्मिनल
सिद्धार्थनगर बसपार्कसँगै पहुँच रोड
विराटनगर बस टर्मिनल
बागलुङ बसपार्क
भिमदत्त बसपार्क
वीरेन्द्रनगर बस टर्मिनल
वीरगन्ज बस टर्मिनल
गौर बस टर्मिनल
काँकडभित्ता बसपार्क
तुल्सीपुर बसपार्क एण्ड सपिङ कम्प्लेक्स
कोहलपुर क्षेत्रीय बसपार्क