काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समिति सभापति देशबन्धु बस्नेतको एकल लगानीमा सञ्चालनमा आउन लागेको होटलले सो रेटिङ पाएसँगै डलब बी माइनसबाट दीर्घकालिन ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फत छोटो अवधिका लागि ३ करोड रपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने छ।
विन्धाम होटल एशिया प्यासिफिक प्रालिबाट मान्यता प्राप्त उक्त होटललाई होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिइएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जनाएको छ। कम्पनीलाई दिइएको रेटिङ, लगानीकर्ताको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिएको प्राथमिकतालगायतलाई पनि आधार मानिएको बताइएको छ।
बस्नेतको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनामा प्रत्यक्ष लगानी र परियोजना निर्माण गर्दै आएको छ। होटलले प्रतिष्ठित विदेशी चेन होटल विन्धामसँगको सहकार्यमा रामडा ब्राण्डलाई भित्र्याएको छ। विन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटल सञ्चालित छन्। अध्यक्ष बस्नेतसँग यस्ता परियोजनामा काम गरेको लामो अनुभव र सफलतालाई हेरेर नै उनको होटलले उक्त रेटिङ पाएको बताइएको छ।
होटलको कुल लगानी १ अर्ब ७ करोड २० लाखमा रहेको बताइएको छ। होटललाई २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य लिएको छ भने पूर्ण रुपमा २०२६ को सुरुवातमै सञ्चालन गरिने बताइएको छ। होटलको वित्तीय र भौतिक प्रगतिसँगै आगामी योजना हेरेरै इन्फोमेरिक्सले होटललाई उक्त रेटिङ दिएको बताइएको छ।
यस्तै होटल रहेको स्थान पनि नेपाल भारत सीमाभन्दा ३० किलोमिटरकै दूरिमा रहेकाले यसले भारतीय पर्यटकलाई लक्षित गरेको बताइएको छ। सेवाग्राहीलाई प्राथमिकतामा राखेर स्थान छनोट गरी होटल स्थापना भएकाले पनि उक्त रेटिङ दिइएको इन्फोमेरिक्सले जनाएको छ।