काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ। गत शुक्रबार र शनिबार सुर्खेतस्थित सिटी हलमा सञ्चालित मेलाको ३५ सयले अवलोकन गरेका छन्।
मेलामा २ सय ६३ जनाले विभिन्न खालको रोजगारीको लागि आवेदन दिएका छन्। नेपाल चेम्बर अफ कमर्सको समन्वयनमा २ सय ६७ रोजगारीको प्रतिबद्धता गरिएको छ।
नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणी न्यौपानेले मेलाले कर्णाली प्रदेशमा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। मेलामा रोजगारदाता र श्रमिकबीच प्रत्यक्ष भेट हुँदा रोजगारीका विभिन्न आयाम खुलेको उनले बताए। ‘यो मेला सुरुवातमात्रै हो। सरकारले यस्ता खालका मेलालाई निरन्तरता दिनुपर्छ,’ उनले भने।
मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकको रूपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ थिए।
मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तराष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशाला प्रस्तुत गरिएको थियो। कार्यक्रममा हुड्के नाच, झ्याउरे नाच, डेउडा प्रस्तुत गरिएको थियो।