काठमाडौं । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार काठमाडौंमा सम्पन्न सातौं र आठौं साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुन: अध्यक्षमा निर्वाचित गरेको हो।
प्रतिस्पर्धी कुमार चिमोरियाको प्यानललाई पराजित गर्दै कोइराला नेतृत्वको प्यानल विजयी भएको छ। संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन्। कोषाध्यक्षमा प्रदीप राना मगर र सहकोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन्।
सदस्यमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन्।
उद्घाटन सत्रको शुभारम्भ गर्दै बागमती प्रदेश सरकारका यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकार अटो व्यवसायीका समस्याहरू हाल गर्न र व्यावसायिक वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए। उनले संघसँग नेपालको यातायात क्षेत्र र अटो व्यवसायको सेवालाई थप प्रभावकारी पार्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
देशभरका १४५ रिकन्डिसन अटो व्यवसायी आबद्ध संस्थाको अधिवेशन उद्घाटन सत्रमा अटो व्यवसायी तथा अधिवक्ता रुद्र प्रसाद ढुङ्गेलद्वारा लिखित पुस्तक ‘सवारी तथा यातायात कानुन’ समेत लोकार्पण गरिएको थियो।