काठमाडौं। गत साता ५ कारोबार दिनमध्ये ३ दिन बढ्ने र २ दिन घट्ने हुँदा साताभरमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.२५ अंक बढ्यो। जेठ १७ गते २०६९.५३ अंकमा रहेको नेप्से गत बिहीबार २०७७.७८ बिन्दुमा रोकिएको हो। खासगरि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा र आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटअघि नेप्सेमा केही बृद्धि देखिएपनि बजेट घोषणासँगै सेयर बजार पुरानै लयमा फर्किएको हो।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी बजेटले लगानीकर्ताको अपेक्षालाई कदर नगरेकाले आगामी आर्थिक वर्षको मौद्रिक नीति अगाडि सेयर बजार चलायमान नहुने बताउँछन्। ‘अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताका सुझावलाई बजेटमार्फत् सम्बोधन गर्नु भएन। लगानीकर्ताको अपेक्षा नसमेटिँदा पुँजी बजारले सकारात्मक गति पक्रिन सकेन,’ अध्यक्ष जिसी भन्छन्, ‘अब पुँजी बजारमा प्रत्यक्ष प्रभाव पार्ने र बजारलाई थप चलायमान गराउने भनेको आगामी मौद्रिक नीतिले नै हो।’
खासगरि बजेटमा लगानीकर्ताहरुले अल्पकालिन सेयर लगानीको प्रतिफलमा ५ प्रतिशत र दीर्घकालिन लगानीको प्रतिफलमा ३ प्रतिशत पूँजीगत लाभकर लगाउन र यसरी लिइएको पुँजीगत लाभकर नै अन्तिम करको रुपमा सम्बोधन हुनुुपर्ने माग राखेका थिए। त्यसैगरि अर्थमन्त्री भएपछि पुनले आफ्नै अग्रसरतामा विभिन्न निकायसँग लिएको सुुझाव बजेटमार्फत कार्यान्वयन हुने अपेक्षामा लगानीकर्ता थिए। तर, बजेटले लगानीकर्ताको कुनै पनि अपेक्षालाई सम्बोधन गरेन।
यद्यपि बजेट सार्वजनिक भएसँगै गभर्नर महाप्रसाद अधिकारीसहित केन्द्रीय बैंकका पदाधिकारीहरु आगामी मौद्रिक नीति लचिलो आउने बताउँदै हिँड्न थालेका छन्। ‘वास्तवमा मौद्रिक नीति कस्तो आउँछ अघिल्लो दिनसम्म पनि थाहा हुँदैन। त्यसैले यसरी हल्ला गर्दै हिँड्नु नमिल्नुपर्ने हो,’ अध्यक्ष जिसी भन्छन्, ‘आश्वासन दिएर कार्यान्वयन नगर्ने प्रवृत्ति धेरै भोगेकाले विश्वासको संकट छ। कतै आशा देखाएर लगानीकर्तालाई भुुमरीमा हाल्न लागिएको त होइन, प्रश्न उब्जिएको छ।’
पुँजी बजार चलयमान बनाउन सेयर धितो कर्जामा लगाइएको १२ करोड र २० करोडको सीमा हटाउनुपर्ने, सेयर धितो राखेर ऋण लिँदा जोखिमभार कम सतप्रतिशतभन्दा बढी गर्न नहुने, अझै ऋणतर्फको ब्याजदर घटाउनुपर्नेलगायतका अपेक्षा लगानीकर्ताले राष्ट्र बैंकसँग राखेका छन्। २०७८ साउनदेखी गिरेको लगानकीकर्ताको मनोबल उकास्न नीतिगत रुपमै सम्बोधन हुनुपर्ने आवश्यकता छ। नीतिगत सम्बोधन नभएसम्म यो वा त्यो बहानामा बजार सूचक २२०० विन्दुु पार गर्न कठिन छ। तर, मौद्रिक नीति आउन पनि अझै करीव डेढ महिना बाँकी छ। यस्तो अवस्थामा सूचक अझै केही समय २००० देखि २१५० कै बीचमा रहने देखिन्छ।
त्यसो त सरकार स्वार्थमा रुमल्लिएर पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्त हुन सकेको छैन। २०८० पुस २० देखि बोर्ड अध्यक्ष खाली छ। सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुलेल बोर्ड अध्यक्ष नियुक्त हुँदा पनि अलिअलि बजार चलायमान हुने अवस्था आउने बताउँछन्। ‘पुँजीबजार चलयमान बनाउन मौद्रिक नीतिका कसिला पाटाहरु फुुुकाउँदै जानुपर्छ र बोर्ड अध्यक्ष तत्काल नियुक्त गर्नुपर्छ,’ अध्यक्ष फुलेल भन्छन्, ‘अर्थमन्त्री पुनले लगानीकर्तासँग सुझाव मागेर बेवास्ता गर्दा राज्यले पुँजी बजारलाई सत्रुको नजरबाट हेरेको हो कि भन्ने भान परेको छ। यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्छ।’
हरेक सरकार आउँदा पुँजी बजारका विषयमा चासो राख्ने र राजनीतिक परिवर्तनसँगै पुँजीबाजर माथि खेल्ने प्रवृत्ति अंगाल्दा समस्या भएको फुलेल बताउँछन्। ‘पुँजीबजार राजनीतिको आधारमा नभई नीतिको आधारमा चल्ने बनाउनुपर्छ र नीति एक समयसम्म स्थिर हुनुपर्छ’ फुलेल भन्छन्।
पछिल्लो समय धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले समयमै सेयर विक्री गरेको पैसा लगानीकर्तालाई नदिने गरेको आवाजहरु बढ्दै गएको छ। नियामक प्रमुख नभएको मौका छोपेर ब्रोकहरुले खरिदकर्ताले पैसा नदिएको भन्दै विक्रेतालाई पनि भुक्तानी रोक्ने गरेको गुुनासो बढिरहेको छ। भुक्तानी नदिएको विषयले बेलाबेला सामाजिक सञ्जालसमेत गर्माउने गरेको छ। यद्यपी कुनै पनि ब्रोकर विक्रेताको रकम भुक्तानी रोकेर राखेको स्वीकार्दैनन्। समयमै भुक्तानी नपाउँदा पनि लगानीको माहोल नबनेको लगानीकर्ताहरुको भनाई छ।
सेयर बजार सुस्त देखिएपछि लगानीकर्ताहरुले पछिल्लो समय क्षेत्र विशेष र कम्पनी विशेषलाई लक्षित गरेर कारोबार गर्ने गरेका छन्। यस्तो कारोबार भएको अवस्थामा ‘ट्रेडर’ हावी हुने गर्दछन्। ट्रेडर हावी हुँदा सामान्य नाफामै पनि अधिक कारोबार गर्ने प्रबृत्ति रहन्छ। यस्तो समूहले फाइनान्स, जलविद्युत, लघुवित्त, ब्यापार, होटल र उत्पादनमुुलक क्षेत्रमा बढी खेल्ने गरेका छन्। नेप्सेमा भइरहेको कारोबारले पनि त्यही संकेत गर्दछ। अघिल्लो साता १६ अर्ब ९८ करोड रुपैयाँ कारोबार भएकोमा गत साता २० अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।