काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलायन्सलाई ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध सेवा)अनुमति दिइने बताएका छन्।
मन्त्री तामाङले हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सञ्चालन अनुमति पाएको नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ सेवालाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवा सञ्चालन संस्था (एयरलायन्स) लाई ग्राउन्ड ह्यान्डलिङ सेवा अनुमति दिइने उनले बताएका हुन्।
अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल सञ्चालन आधार बनाएर नियमित उडान सेवा सुरु गरे उनीहरुलाई ग्राउन्ड ह्यान्डलिङ अनुमति दिइने उनको भनाइ छ।
शनिबार अठोट नेपालले पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले वायुसेवा सञ्चालन संस्थालाई व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा दिन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको बताए।
यसअघि नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउन्ड ह्यान्डलिङ अनुमति पाएको थियो।
अब अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवाले नियमित उडान सेवा सुरु गरे उनीहरुलाई पनि कमर्सियल ग्राउन्ड ह्यान्डलिङ अनुमति प्राप्त हुनेछ।
मन्त्री तामाङले नेपालको पर्यटन क्षेत्रमा सम्भावना र अवसर अत्यधिक रहेकाले फोटो प्रचारसहितका विभिन्न माध्यम थप प्रभावकारी हुने धारणा व्यक्त गरे। उनले फोटोग्राफीमार्फत नेपालको पर्यटन गन्तव्य प्रवर्द्धन गर्न यसबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि पर्यटन व्यवसायीले भोगेका समस्या, पर्यटन क्षेत्रको अनावश्यक भ्याट, करलगायतमा सुधार गर्न सरकारले पहल गरिरहेको जानकारी उनले दिए।
‘नेपालमा अधिकतम विदेशी पर्यटक ल्याउन नयाँ गन्तव्य खोजी गरी पूर्वाधार विकाससहित सरकार नयाँ योजन लिएर अघि बढेको छ। विभिन्न देशका राजदूतसँगको भेटमा विदेशमा आन्तरिक र बाह्य पर्यटकका लागि होटलमा समान मूल्यमा सेवा दिइने गरेको तर नेपालमा आन्तरिक र बाह्य पर्यटकका लागि विभेद गरिएको गुनासो राख्ने गरेका छन्। यसलाई हटाउन आवश्यक छ,’ उनले भने।
मन्त्री तामाङले पशुपतिनाथ दर्शनार्थीका लागि निःशुल्क भोजन व्यवस्था गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिए।