काठमाडौं। कफी पारखीलाई लक्षित गरी नेपालमै पहिलो पटक ‘कप टेस्टर च्याम्पियनसिप २०२४’ सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक दिने कप टेस्टर च्याम्पियनसिप आयोजना गरिएको हो।
कफी पारखीहरुलाई नेपाली कफी चखाउने र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने उद्देश्यका साथ द बारिस्टा कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटी कफी र लेकाली कफीले संयुक्त रुपमा आयोजना गरेका हुन्।
कफी क्षेत्रमा युवा सहभागिता र भविष्य सुनिश्चित गराउन एवं अन्तर्राष्ट्रिय क्षेत्रमा उचित बजार मूल्य नपाइरहेको स्थितिमा ब्रान्डिङ गर्ने उद्देश्य कार्यक्रमको रहेको आयोजक विनायक मल्लले जानकारी दिए। ‘नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा जति मूल्य पाउनुपर्ने हो, भनेजति नपाइरहेको र ब्रान्डिङ पनि राम्रो नभइरहेको स्थीतिमा यस्तो खाले प्रतिस्पर्धाले थप हौसला प्राप्त हुनेछ’, मल्लले भने।
प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन्। कफी उत्पादक, कफी सपका सञ्चालक, बारिस्टादेखि कफी पारखीहरुले सहभागिता जनाएको निमा तेन्जिङ शेर्पाले बताए। पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेका बेला यस्ता खाले च्याम्पियनसिपले अझ प्रोत्साहन मिल्ने उनको दाबी छ।
‘नेपालमा कफी कल्चर बढेको छ, नेपालमा कफी उत्पादक धेरै सिपालु छन्,’ शेर्पाले भने, ‘उनीहरुको क्षमता राष्ट्रिय एवंम अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने मुख्य उद्देश्य हो।’ २ वर्षअघि पहिलो पटक यस्तै खाले प्रतिस्पर्धा आयोजना गरे पनि बीचमा रोकिएको थियो। अब हरेक वर्ष प्रतिस्पर्धा आयोजना गर्दै लगिने उनले बताए।
यसरी हुन्छ प्रतिस्पर्धा
प्रतिस्पर्धामा जोकोही सहभागी हुन सक्छ्। आयोजकले केही समयअघि सामाजिक सन्जालमार्फत प्रतिस्पर्धामा सहभागीलाई सार्वजनिक आह्वान गरेका थिए। सोही आधारमा ४८ जनाले आवेदन दिएका थिए। आवेदन दिएकालाई विभिन्न चरणमा प्रतिस्पर्धा गराइन्छ। एक जनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ। तीमध्ये दुईटा एउटै स्वादको र अर्को केही फरक हुन्छ।
प्रतिस्पर्धीले तीनमध्ये एउटा कफी चाखेर फरक छुट्याउनुपर्छ, जसलाई निर्णायकले सही भए/नभएको छुट्याउँछन्। सोही आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ। सुरुवाती चरणमा सहज देखिए पनि गाह्रो भने हुने आयोजकको भनाइ छ।
प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रिय स्तरमा हुने कफी टेस्ट प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। विदेशमा यो खालको प्रतिस्पर्धा हरेक वर्ष हुने गरेको छ।
प्रतिस्पर्धाको सोच कसरी आयो
यो खाले प्रतिस्पर्धा संसारभरि हुने गरेको छ। वर्ल्ड कफी कप टेस्टेड च्याम्पियन आयोजना गर्ने गरिएको छ। नेपालमा पनि कफीका लागि राम्रो वातावरण भइरहेको बेला थप सम्भावना उजागर गर्न कार्यक्रम राखिएको आयोजकको भनाइ छ।
कफी क्षेत्रमा लामो समय काम गरेका निमा तेन्जिङ शेर्पा, प्रणित गुरुङ, मनोज शाही, सूर्य दुरा र विनायक मल्ल टिमको सहकार्यमा इभेन्ट आयोजना गरिएको हो। प्रतिस्पर्धा अन्तर्राष्ट्रिय स्ट्यान्डर्डअनुसार सञ्चालन गरिनेछ।
राेजीछानी कफीको स्वाद लिन पाइने
च्याम्पियनसिपमा भाग लिएर प्रतिस्पर्धा गर्ने मात्र हैन, त्यहाँ पुग्नेले इच्छाअनुसार छानीछानी विभिन्न ब्रान्डका कफीको स्वाद लिन पाउँछन्। कार्यक्रम स्थलमा विभिन्न नेपाली ब्रान्डका १६ वटा कफीले स्टल राखेका छन्। त्यहाँ कफीको स्वादसहित कफी र त्यसमा लाग्ने मेसिन खरिदसँग जानकारीसमेत लिन पाइन्छ।