काठमाडौं। सुनचाँदी व्यवसायमा आबद्ध तीन प्रतिनिधिमूलक संस्थाले सुन आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले अर्थमन्त्री वर्षामान पुनलाई भेटेर सरकारले आगामी २०८१/८२ को भन्सार विधेयकमार्फत सुन आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएकामा विरोध गर्र्दै खारेजी माग गरेको हो।
अर्थमन्त्री पुनले व्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै व्यवसायीले राखेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा आवश्यक पहल गर्ने बताएको महासंघले जनाएको छ।
महासंघका सल्लाहकारसमेत रहेका सभाषद् रणेन्दु बराइलीले भन्सार दरमा भएको वृद्धिले व्यवसायीमा परेको नकारात्मक प्रभावबारे मन्त्री पुनलाई जानकारी गराए।
महासंघ अध्यक्ष माणिकरत्न शाक्यले मुलुकभरका सुनचाँदी पेसा, व्यवसायीसँग प्रत्यक्ष जोडिएको र धर्म, संस्कृति र परम्पराअनुसार मानिसलाई जन्मदेखि मृत्युसम्म कुनै न कुनै रुपमा आवश्यक पर्ने सुनजस्तो संवेदनशील वस्तुमा निरन्तर भन्सार दर वृद्धि हुनु अनुपयुक्त रहेको बताए।
गत वर्ष पनि सरकारले भन्सार महसुल विधेयक, २०८० मार्फत सुन आयातमा लाग्ने भन्सार महसुुल बढाएको थियो। सोही कारण विश्व बजारमा निर्यात प्रतिस्पर्धामा उत्रन कठिनाइ ह्ने उनको भनाइ छ।
महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले विभिन्न अध्ययनअनुसार नेपालमा २० हजार बढी सुनचाँदी व्यवसायी प्रत्यक्ष रुपमा यो व्यवसायमा जोडिएको, प्रत्यक्ष÷अप्रत्यक्ष २ लाख बढी रोजगारीमा आबद्ध भएको जानकारी दिए।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसन सुनारले झिटी–गुन्टाअन्तर्गत पैठारी हुने सुनको सीमा बढाइने अपेक्षा गरिएकामा आर्थिक वर्ष २०८१/८२ को बजेटमा झनै संकुचित पारिएको, सीमा बढाएर भन्सार छुटको सीमा ५० ग्राम र सोभन्दा बढीमा विदेशी मुद्राको स्रोत खुलाइँदा ३०० ग्रामसम्म ल्याउन पाउने व्यवस्था गर्नुपर्ने माग अर्थमन्त्री पुनसँग राखे।
सुनमा भन्सार दर वृद्धि गरिँदा व्यवसायीले आयात तथा बिक्री वितरण गर्न नसक्ने र त्यसको प्रत्यक्ष प्रभाव व्यवसाय, उपभोक्ताका साथै सरकारलाई समेत पर्नेतर्फ उनले ध्यानाकर्षण गराए।
नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात निर्देशिकाअनुसार हाल दैनिक २० केजीका दरले बैंकमार्फत सुन आयात गर्न पाउने व्यवस्था छ। निरन्तर भन्सार वृद्धिले वैध कारोबारमा असर पर्न गई अवैध कारोबारलाई प्रोत्साहन मिल्नेतर्फ सचेत रहन उनले सरकारसँग आग्रह गरे।
भेटमा महासंघ अध्यक्ष शाक्य, वरिष्ठ उपाध्यक्ष रसाइली, उपाध्यक्ष दियशरत्न शाक्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ र सचिव किरणभार्य वज्राचार्य सहभागी थिए।
यस्तै, रत्न तथा आभूषणबाट अध्यक्ष सुनार, प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, महासचिव निरबहादुर विक, कोषाध्यक्ष गणेश विश्वकर्मा तथा हस्तकला महासंघबाट अध्यक्ष प्रचण्ड श्रेष्ठलगायत व्यवसायी सहभागी थिए।