काठमाडौं । तीन सातादेखि बन्द सवारीसाधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया यातायात व्यवस्था कार्यालय राधेराधे
भक्तपुरले आइतबारदेखि सुचारु गर्ने भएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकाका चार ट्रायल सेन्टरको मापदण्डमाथि प्रश्न उठाएपछि जेठ ३ गतेबाट ट्रायल प्रक्रिया ठप्प रहेकोमा आइतबारबाट सेवा सुचारु गरिने कार्यालयले जनाएको छ।
सेवा सूचारु भएसँगै यसअघि अवरुद्ध भएका प्रयोगात्मक परीक्षा पनि सञ्चालन गरिने जनाउँदै कार्यालयले परीक्षा मितिसमेत तय गरेको छ।
करिब तीन सातादेखि काठमाडौं उपत्यका बागमती प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालय राधेराधे (भक्तपुर), ठूलोभर्याङ, चावहिल र एकान्तकुना ट्रायल सेन्टर बन्दा हुँदा लाइसेन्स लिने तयारीमा रहेका तथा लिखित परीक्षासमेत पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए।
राष्ट्रिय सतर्कता केन्दले ट्रायल सेन्टर मापदण्ड विपरीत चलेको भनेर बारम्बार गुनासो आएको भन्दै स्थलगत छानबिन सिमिति खटाएर अध्ययन गरेको थियो। छानबिन समितिले ट्रायल सेन्टरमा नै गएर अनुगमन गर्दा सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्ड पुरा भएको नपाइएको भन्दै प्रतिवेदनमा उल्लेख गरेको थियो।
प्रयोगात्मक परीक्षाको लागि सवारीसाधन परीक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले गाइड गर्छ। यस निर्देशिकामा प्रयोगात्मक परीक्षा दिने स्थलको लेआउटका तथा ट्राफिक चिन्ह, उकालो चढ्ने र रोक्ने आदिको मापदण्ड उल्लेख तोकेको छ। तर, सो मापदण्ड पुरा नभएको भन्दै उपत्यकाका चार ट्रायल सेन्टर बन्द गरिएको थियो।
भक्तपुर कार्यालयले सेवा प्रारम्भ गरिएको जानकारी गराए पनि अन्यले भने अझैँ सेवा सुचारुबारे जानकारी दिएका छैनन्।