काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५औं वार्षिक साधारणसभाले ग्लोबल एकेडेमी अफ टुरिजमका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ। नवनियुक्त अध्यक्ष लकाईले संस्थाको गरिमालाई उचो बनाउँदै पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाको सहकार्यमा प्रवर्द्धनात्मक काममा सक्रिय हुने बताए।
उनले पाटा नेपालका संस्थापक अध्यक्ष स्व. प्रभाकरशमशेर जबराको सम्झनामा सम्मान व्यक्त गर्दै प्रतिष्ठित संस्थालाई नेपालमा भित्र्याएर पर्यटन उद्योग प्रवर्द्धन र विकासमा नेपाललाई विश्वसँग जोड्ने दृष्टिकोणको अभिभारा पूरा गर्ने प्रतिबद्धता जनाए।
साधारणसभाले पाटा महासचिवमा नरेन्द्रदेव भट्ट (प्रबन्ध निर्देशक–हेरिटेज टुर्स एन्ड ट्राभल), कोषाध्यक्ष रीतल राणा (प्रबन्ध निर्देशक–मिड भ्याली इन्टरनेसनल कलेज)लाई चयन गरेको छ। यस्तै, सदस्यमा लाक्पा फुटी शेर्पा (संस्थापक–लक्जरी डीएमसी ट्राभल), रुपेश जोशी (निर्देशक–बुद्ध एयर), विनोद अधिकारी (निर्देशक–आर्य भिलेज ट्राभल्स), सुनीलबहादुर भट्टराई (कार्यकारी निर्देशक–बीजीबी क्याफे), हिम्मत पुरी (निर्देशक–डेस्टिनागो टुर्स एन्ड ट्राभल), सरिता लामा (प्रबन्ध निर्देशक–अफ द वाल ट्रेकिङ) र तेन्जिङ प्याङ लामा (निर्देशक–होटल ल्हासा इन्टरनेसनल (दूषित प्रिन्सेस काठमाडौं) चयन भएका छन्।
कार्यसमिति सदस्यमा डा. स्मृति कला पन्त (बीएचएम÷बीएचटीएम प्रमुख–लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट), प्रकाशचन्द्र लोहनी (अध्यक्ष–अल्पाइन उद्धार सेवा), सुमन घिमिरे (कार्यकारी निर्देशक–जंगल सफारी लज), इमु रेग्मी (निर्देशक–बसेरा बुटिक होटल) प्रोक्सीलाई पदाधिकारी तथा सदस्यमा चयन गरेको छ।
साधारणसभामा पाटा नेपाल च्याप्टरले वरिष्ठ पर्यटन तथा होटल व्यवसायी अम्बिका श्रेष्ठ (द्वाराकाज होटल्स एन्ड रिसोर्ट्स अध्यक्ष) र श्यामबहादुर पाण्डे (होटल सांग्रिलाका संस्थापक) लाई पर्यटन तथा आतिथ्य उद्योगको विकास र विस्तारका लागि वहन गरेको योगदानस्वरुप ‘पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको थियो।
त्यसैगरी यती ग्रुपका अध्यक्ष लाक्पा सोनम शेर्पालाई टुरिज्म ट्रेलब्लेजर अवार्ड २०२४ बाट पुरस्कृत गरिएको छ। एक्सप्लोर नेपालका संस्थापक भरत बस्नेतलाई पाटा पर्सनालिटी अफ द इयर २०२४ पुरस्कार दिइएको छ।
त्यसैगरी हेरिटेज टुर्स एन्ड ट्राभल्सका संस्थापक नरेन्द्रदेव भट्टलाई पाटा स्पेसल कन्ट्रिब्युसन अवार्ड–२०२४ बाट सम्मानित गरिएको छ।
यस्तै, प्रिमियर होटल स्कुल, इटहरीलाई पाटा बेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२३ अवार्ड वितरण गरिएको थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएकामा खुसी व्यक्त गरे।
निवर्तमान अध्यक्ष विभूतिचन्द ठाकुरले सम्पूर्ण सदस्य, संघ–संस्था तथा सरोकारवालालाई निरन्तर साथ र सहयोगका लागि धन्यवाद दिए।