क्यापिटल नेपालको मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ)सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुन अध्यक्षतामा जेठ २३ मा बसेको पहिलो बैठकले सम्पत्ति शुद्धीकरण निर्देशक समितिको रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो। बैठकमा समिति सदस्य कानुनमन्त्री पदम गिरी मुख्यसचिव बैकुण्ठ अर्याल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल, निर्देशक समितिका सदस्यसचिव एवं अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरेलगायत सहभागी थिए।
संखुवासभाको मकालु गाउँपालिका–५ आमराङस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको जेठ २२ मा सुरुङ ब्रेक थ्रु गरेका हुन्। यसको विकासकर्ता भारतीय कम्पनी एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले जेठ २१ मा मेयर, उपमेयर, ४ कर्मचारी र ९ क्रसर सञ्चालकविरुद्ध लेले र नख्खुका ढुंगाखानीमा रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। आव २०७५/७६ देखि ७९÷८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर लगाउँदा सरकारी दरभन्दा कम गरी १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २८७ रुपैयाँ हानि–नोक्सानी पु¥याएको अभियोग उनीहरुमाथि लागेको छ।
विदेशी मुद्राको अवैध कारोबार आशंकामा राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ। क्यासिनो प्यालेसमा जेठ २४ मा छापा मार्दा क्यासिनोबाट १ करोड ५ लाख बरामद भएको विभागले जनाएको छ। विभागले अनुसन्धानका लागि क्यासिनोको सेफ र लकर पनि नियन्त्रणमा लिएको छ।
यो साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२५ अंकले घटेको छ। साताको पाँच कारोबार दिनमा उतारचढाव भइरहँदा नेप्से ८.२५ अंकले घटेर कारोबारको अन्तिम दिन बिहीबार २०७७.७८ को बिन्दुमा रोकिएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २०६९.५३ को बिन्दुमा सीमित भएको थियो। यो साताको पाँच कारोबार दिनमा नेप्सेमा कुल २० अर्ब ५७ करोड बराबरको कारोबार भएको छ। गत साता कुल १६ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ २५ मा पक्राउ गरेको हो। श्रेष्ठले बाल संगठनलाई हानिनोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सम्म पटक–पटक न्यून रकममा जग्गा लिज सम्झौता गरेको सीआईबीको दाबी छ। नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। जग्गा सञ्चालन र लिजमा दिँदा अनियमितता गरेको आशंकामा यसअघि वैशाख २७ मा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
निजी क्षेत्रको नेतृत्वमा हालसम्मकै ठूलो २८५ मेगावाटको माथिल्लो तमोर आयोजना निर्माणमा लगानी जुटेको छ। चार वर्षभित्र सम्पन्न गर्ने गरी तमोर इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनामा जेठ २४ मा ऋण सम्झौता भएको हो। अनुमानित लागत ५५ अर्ब १५ करोड रहेको आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा कृषि विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक तथा गरिमा विकास बैंकले ऋण लगानी गर्नेछन्। आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा निर्माण हुनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वरिष्ठ पाइलटद्वय विजय लामा र भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको छ। नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामा र पन्तलाई प्राधिकरणले अर्को सूचना जारी नभएसम्म जेठ २१ देखि उडानमा प्रतिबन्ध लगाएको हो। प्राधिकणले हवाई सुरक्षामा गम्भीर असर गर्ने काम गरेको आरोप उनीहरुमाथि छ।
सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। जेठ २४ को मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। फिर्ता बोलाइएका राजदूतमा अघिल्लो सरकारमा कांग्रेस कोटाबाट नियुक्त हुन्।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका नेता सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी छन्। निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव प्रदेशसभामा बहुमत जुटाउन नसक्दा पदमुक्त भएसँगै प्रमुख भण्डारीले जनमतका सिंहलाई जेठ २५ मा मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी हुन्। सिंहले जेठ २५ मा ६ दलका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै मधेस प्रदेशमा पनि मुख्यमन्त्री परिवर्तन भएका हुन्। उनलाई जनमतसँगै एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ।