जीवनमा यति धेरै दुःख र हन्डर आउला भन्ने नीतिमाको मनमा एकरत्ति पनि थिएन। आफ्नो भाग्यमा जे लेखेको हुन्छ, त्यो सबैले भोग्नैपर्छ भन्ने आहान छ। पीडा र संघर्ष झेल्ने र भोग्नेलाई मात्र थाहा हुन्छ। नीतिमाको जीवनमा यस्ता मोड धेरै आइपरे, जुन कल्पनाभन्दा बाहिरका थिए।
सानै उमेरमा बुबा गुमाइन्। एकल आमाको भरमा जीविकोपार्जन गरेकी नीतिमाको वैवाहिक जीवनपछि श्रीमान् (चेतन भण्डारी बाजेको सेकुवाका अध्यक्ष)लाई सुन काण्डमा मुछियो। राज्यले चाह्यो भने एउटा व्यवसायीलाई कसरी दुःख दिन्छ र कुन प्रकारका हर्कत अपनाइन्छ भन्ने गतिलो उदाहरण बाजेको सेकुवा कर्नर सञ्चालकलाई मात्र थाहा छ। मुद्दा लागेपछि श्रीमान् नेपालबाहिर बस्न बाध्य भए। श्रीमानले गर्दै नगरेको गल्तीमा दोषी करार गरेर राज्यले दिएको दुःखमा नीतिमा श्रीमान् चेतनका लागि अग्निरेखा भएर उभिइन्। राज्यले लगाएको आरोपलाई गलत सावित गर्दै चेतनलाई निर्दोष बनाउन सफल भइन्। श्रीमान् चेतनले अहिले अदालतबाट पूर्ण सफाइ पाइसकेका छन्।
...
काठमाडौंमै जन्मिएकी नीतिमाका लागि यो नयाँ ठाउँ भएन। बाल्यकाल काठमाडौंकै हावापानीमा बिताएका कार्कीका बुबा चोभारमा रहेको हिमाल सिमेन्टमा जागिरे थिए। पुख्र्यौली घर तराई सर्लाही रहेकाले आउजाउ गरिरहन्थे। कक्षा ७ सम्म काठमाडौंमा पढेपछि हजुरबुबाहरूले नातिनीलाई आफ्नै गाउँ पढाउने रहर गरेपछि नीतिमा सर्लाही गइन्। परिवारकै पहिलो सन्तान भएकाले उनी सबैका लागि प्यारी थिइन्। मावली र घरतिरका आफन्तले उनलाई निकै माया गर्थे।
हजुरबुबाहरूको रहर पूरा गर्न उनी एक वर्ष बुबासँग बसेर पढिन् भने एक वर्ष आमातर्फका हजुरबुबासँग। नवलपुरको जुटपानी स्कुलमा एक वर्ष अध्ययन गरेपछि अत्यधिक गर्मीका कारण उनी त्यहाँ धेरै बस्न सकिनन्। त्यसपछि सर्लाही सदरमुकाम मलंगवाबाट एसएलसी दिइन्।
नीतिमाले आईए अध्ययन काठमाडौंको पद्मकन्या बहुमुखी क्याम्पसमा गरेकी हुन्। अध्ययन गर्दाकै बेला उनका बुबाको निधन भयो। त्यो बेला उनी काम गर्दै पढिरहेकी हुन्थिन्। पारिवारिक रुपमा घर चलाउनकै लागि जागिर गर्नुपर्ने बाध्यता नभए पनि उनले रहरकै कारण दिउँसो काम गर्थिन्। तीन महिना कम्प्युटर सिकिन् अनि त्यही तालिम दिने जागिर पाइन्। यो नै नीतिमाको पहिलो जागिर थियो।
बीए पहिलो वर्ष अध्ययन गरिरहेकै बेला उनका धेरै साथीहरू बेलायत अध्ययन गर्न जाने कुरा थाहा पाइन्। उनले पनि थप अध्ययनका लागि विदेश जाने निधो गरिन्। कम्प्युटरसम्बन्धी अध्ययन गर्न उनी १८ महिना बेलायत बसिन्। तर, नीतिमाको चाहना विदेश गएर पढ्ने र उतै बस्ने थिएन।
आफन्तको घरमा आउजाउँ गर्दा चिनजान भएपछि चेतनका बुबाले नीतिमालाई बुहारी बनाउन पाए हुन्थ्यो भन्ने मनमनै सोच्थे। नीतिमाको चेतनसँगको पहिलो भेट पनि कम्प्यूटर इन्च्यूस्टमा भएको थियो। कम्प्युटर कोर्ष केही समय सँगै सिक्ने क्रममा दुवैबीच गहिरो चिनजान भइसकेको थियो।
बेलायतको बसाइँ त्यागेर नेपाल
काठमाडौंमा रहँदा बीए अध्ययन गरिरहेकी नीतिमाले बीचमै पढाइ छाडेर कम्प्युटर अध्ययनका लागि बेलायत गएकी थिइन्। १८ वर्षकै उमेरमा बेलायत अध्ययन गर्न गएकी उनलाई त्यहाँ बस्न सजिलो थियो। अहिलेजस्तो धेरै समस्या थिएन। काम पाउन कुनै समस्या नभए पनि उनले दीर्घकालीन रुपमा त्यहाँ बस्ने सोच बनाइनन्।
लयमा चलिरहेको बाजेको सेकुवाको रफ्तारलाई माओवादी द्वन्द्वले धराशयी बनायो। यतिसम्म कि सोह्रखुट्टे आउटलेटमा माओवादी कार्यकर्ताले कब्जा गरेका थिए।
ब्याचलर सकेपछि मास्टर डिग्रीका लागि आवेदन दिएकी नीतिमाको तीन वर्षे भिसा आइसकेको थियो। तर, उनी बीचमै फर्किएर नेपाल आइन्। सन् २००२ मा बेलायत गएकी कार्की १८ महिनाको कोर्ष पूरा गरी २००३ डिसेम्बरमा नेपाल फर्किइन्। यतिसम्म कि उनलाई बेलायतमै राख्न आफन्त पर्ने एक जनाले कामदार भिसाका लागि आवेदनसमेत दिएका थिए। तर, नीतिमा सबै अवसर त्यागेर स्वदेश फर्किइन्।
आँटिली नीतिमा
नीतिमा जति आँटिली लाग्छिन्, बेलायतमा रहँदा पनि त्यस्तै थिइन्। त्यहाँ रहँदा अध्ययनसँगै कामसमेत गर्थिन्। काम गर्ने क्रममा उनको कम्पनीले युनाइटेड एयरलाइन्सभित्र पठाएको थियो। त्यहाँ उनले सेक्युरिटीसम्बन्धी काम गर्नुपर्ने थियो।
काम गरिरहँदा नीतिमा एक व्यक्तिले सामान चोरेको देखिन् र सम्बन्धित निकायमा उजुरी दिइन्। त्यसपछि कम्पनीले त्यो व्यक्तिलाई कामबाटै हटाएर सम्झौतासमेत खारेज गर्यो। त्यो बेला नीतिमालाई सामान चोर्ने व्यक्तिले पार्किङ क्षेत्रमा आउँदा आँखा फुटाउने धम्कीसमेत दिएको उनी स्मरण गर्छिन्। तर, उनले धम्कीलाई कुनै प्रवाह गरिनन्। ‘यो मेरो ड्युटी हो। मेरो काम भनेकै निरीक्षण गर्ने हो। यस्तो बेला कसैले गल्ती गरेको भेटे उजुरी गर्ने दायित्व हो।
तिमीसँग डराएर भाग्दिनँ भन्ने जवाफ फर्काएकी थिएँ’, उनले भनिन्। त्यो बेला एयरपोर्टभित्र काम गर्दा त्यो ग्रुपले असुरक्षित बनाए पनि उनले हिम्मत हारिनन्। उनको हिम्मतलाई कदर गर्दै कम्पनीले सुपरभाइजरमा पदोन्नतिसमेत गर्यो। तर, नीतिमाले त्यो सबै छाडेर आफ्नी आमासमेतलाई समेत जानकारी नदिई नेपाल फर्किइन्। जुन कम्पनीमा उनले काम गर्थिन्, त्यो कम्पनीमा ‘पेड होलिडे’ एक महिनाका लागि भएकोले उनी अन्य ठाउँ जानुपर्ने थियो। त्यही मौका छोपेर नेपाल आइन्।
नेपाल फर्केको केही समयपछि नै नीतिमाले चेतनसँग लगनगाँठो कसिन्। त्यो बेला बाजेको सेकुवाका २ वटा मात्र आउटलेट थिए। ती दुई आउटलेटमा ग्राहकको भीडभाड थामिनसक्नु हुन्थ्यो।
नखाको विष लाग्दैन भन्ने भाष्य निर्माण गरें
नीतिमाले खाएको विष मात्रै लाग्छ, नखाएको लाग्दैन भन्ने भाष्य निर्माण गरिन्। बाजेको सेकुवाको रफ्तारलाई ब्रेक लगाउने गरी भण्डारी परिवारलाई सबैभन्दा ठूलो आरोप राज्यले लगायो। ३३ किलो सुन प्रकरणमा उनका श्रीमान् चेतन भण्डारीसमेत आबद्ध रहेको बताएर सरकारले एकैसाथ सबै आउटलेट बन्द गराएपछि सर्वोच्चमा मुद्दा हालिन् अनि आफैं प्रतिरक्षाका लागि कानुनी बहसमा उत्रिइन्। ’त्यो बेला बाजेको सेकुवा कुनै पनि आपराधिक क्रियाकलाप गरेर भन्दा पनि योजनाबद्ध किसिमले नै बन्द गराइएको थियो,’ कार्कीले भनिन्, ‘अहिले अदालतले हामीलाई न्याय दियो। गल्ती नै नगरेको अवस्थामा दोष लगाएर सबै व्यवसायमा ताला लगाउनु गलत थियो। प्रत्येक व्यक्तिको मौलिक हकसमेत हनन भएको ठहर गर्दै अदालतमा आफैं बहसमा उत्रिएकी थिएँ’, उनले भनिन्।
सन् २००९ मा बाजेको अधिकांश आउटलेट खुलिसकेका थिए भने सन् १०१४ मा पोखरामा फ्रेन्चाइजी खोलेको थियो। त्यहाँ भण्डारी परिवारको कुनै लगानी थिएन। २०१८ मा सुनबाट कमाएको पैसा बाजेको सेकुवा बनाउन लगानी गरेको भनेर आरोप लगाइएको थियो। ‘आइडिया बेचेर काम गरिरहेका हामीलाई कुनै लगानी चाहिँदैन भन्ने थियो। त्यसमाथि घरमा तीन जनाको मात्र परिवार रहेकाले पैसा कहाँबाट आइरहेको छ र कसरी लगानी गरिएको छ भन्ने उनलाई राम्रोसँग थाहाँ थियो। सोही कारण अदालतमा आफ्नो वास्तविकता बताउन अग्रसर भएकी थिएँ’, कार्कीले भनिन्।
‘अदालतले हामीलाई न्याय दियो। सञ्चालक दोषी होलान् तर कम्पनीलाई नै दोषी देखाएर बन्द गर्न मिल्दैन भन्ने अडान अदालतमा राखेकी थिएँ’, नीतिमाले भनिन्। गल्ती नभएकाले पनि निडर र निर्भयका साथ मुद्दा लडेको उनको दाबी थियो। नीतिमाले अन्तरिम आदेश लिएर व्यवसाय सञ्चालन गरिरहेकी थिइन्। अहिले अदालतले क्लिन चिट दिइसकेको छ।
माओवादी द्वन्द्वको प्रभाव
लयमा चलिरहेको बाजेको सेकुवाको रफ्तारलाई माओवादी द्वन्द्वले धराशयी बनायो। यतिसम्म कि सोह्रखुट्टे आउटलेटमा माओवादी कार्यकर्ताले कब्जा गरेका थिए।
त्यहाँ काम गर्ने कर्मचारीले माओवादीमा लागेका छौं भन्दै हाजिर गर्ने र काम नगरी बाहिर जाने गर्थे। माओवादीले काम गर्नेलाई अवरोध मात्र गरेनन्, चेतनलाई त्यहाँ जानसमेत दिँदैन थिए। काम नगरी तलब दिनुप¥यो भन्दै उनीहरूले धेरै दुःख नीतिमा सम्झिन्छिन्। त्यो बेला रेस्टुरेन्ट चलाउने वातावरण बिग्रिएको थियो। डर,त्रास र धम्कीका कारण चेतन ४ वर्षसम्म सोह्रखुट्टे आउटलेटमा गएनन्। तर, नीतिमा नडराई जाने गर्थिन्।
‘सानैदेखि आफ्नो गल्ती छैन भने डराउनुहुन्न भन्ने बाबाआमाबाट सुनेकीले म त्यहीँ आँट लिएर एक्लै जाने गरेकी थिएँ’, उनले भनिन्। बिनागल्ती किन डराउनू भन्ने सोच राखेरै माओवादी कार्यकर्ताले गरेको ज्यादतीविरुद्ध सोह्रखुट्टे आउटलेटमा जाने गरेको उनी सुनाउँछिन्।
विदेश उडानमा ब्रेक
बाजेको सेकुवाले अमेरिकामा आफ्नो फ्रेन्चाइजी सुरु गरेको थियो। सँगै सात ठाउँमा विस्तारका लागि पाइप लाइनका रुपमा अगाडि बढेको थियो। सम्भवतः नेपालको ब्रान्ड विदेशमा फ्रेन्चाइजी खोल्ने बाजेको सेकुवा कर्नर नै पहिलो थियो। यो भनेको नेपालका लागि प्रतिष्ठाको विषय थियो। तर, यो कुरा तत्कालीन राज्यले बुझ्न सकेन र अनाहकमा दुःख दिएको नीतिमाको दाबी छ।
यसको असर विश्व बजारमा फैलिन आफ्नो पखेँटा फिँजाइसकेको ब्रान्डलाई धक्का लाग्यो। अमेरिका, जापान, अस्ट्रेलिया र युरोपका धेरै मुलुकमा गरी १८ देखि २० वटा खुल्ने तयारी अवस्थामा रहँदा मुद्दा चलेपछि एकसाथ ब्रेक लाग्यो। अहिले मुद्दा जितेर आफ्नो रफ्तार समाउन सुरु गरे पनि व्यावसायिक रुपमा धेरै ढिला भयो। ‘त्यो बेला दुःख नपाएको भए अहिले धेरै मुलुकमा नेपालको ब्रान्ड फिँजिइसकेको हुन्थ्यो,’ नीतिमाले भनिन् ‘यो हाम्रा निम्ति मात्र नभई राज्यका लागिसमेत दुर्भाग्य हो।’
बाजेको सेकुवालाई फ्रेन्चाइजी मोडल
नीतिमाले बेलायतमा रहँदा फ्रेन्चाइजीबारे बुझ्ने मौका पाएकी थिइन्। एनले एउटै ब्रान्डका धेरै आउटलेट रहने र तिनमा भिन्न–भिन्न सञ्चालक हुने गरेको देखेको विवाहपछि चेतन र ससुरालाई सेयर गरिरहन्थिन्। बाजेको सेकुवालाई पनि त्यो मोडलमा चलाउन सकिन्छ कि भन्ने विषयमा छलफल चलाउँथिन्।
आउटलेट खोल्न नीतिमाका ससुरालाई भने धेरै रुचि थिएन। चेतनले नयाँ ठाउँमा पनि खोल्ने र लगानी विस्तार गर्ने सोच बनाइरहेका बेला नीतिमाले यसमा सहयोग गरिन्। उनका ससुराले बाजेको सेकुवा चलाउँदा ५० रुपैयाँ प्लेटमा सेकुवा पाइन्थ्यो। दैनिक लाख रुपैयाँ बढीको व्यापार भइरहेका बेला अरु ठाउँमा खोल्न आवश्यक छैन भन्ने किसिमको प्रतिक्रिया ससुराले जनाउँथे।
हुन त, भण्डारी परिवारले त्यो बेलासम्म ऋण लिएर व्यवसाय गरेको थिएन। सोही कारण नयाँ ठाउँमा शाखा खोल्दा ऋण लाग्ने डर थियो। त्यसमा नीतिमा कुनै पनि व्यवसाय गर्दा ऋण पाइन्छ र लिनुपर्छ भन्ने धारणामा अडिग हुन्थिन्। त्यो बेला बाजेको सेकुवाको सम्पूर्ण रकम नबिल बैंकमा जम्मा हुने गरेको थियो। नीतिमाकै प्रस्ताव स्वीकार्दै भण्डारी परिवारले पहिलो पटक बैंकबाट ऋण लिएर सोह्रखुट्टेमा सन् २००५ मा आउटलेट सुरु गरेको थियो। नबिल बैंकले पनि सहजै ऋण दिएको थियो।
त्यतिबेला काठमाडौंमा सुविधासम्पन्न रेस्टुराँ धेरै खुलेका थिएनन्। अतः सबैको रोजाइमा बाजेको सेकुवा पर्ने गरेको थियो। यसले गर्दा ग्राहकलाई पालो दिनसमेत धौ–धौ हुन्थ्यो। विवाहको केही वर्षपछि पहिलो सन्तानको रुपमा जेठी छोरीको जन्म भएपछि पनि नीतिमा स्याहारसुसारका लागि घर बसिनन्। सन् २००९ मा एकैसाथ अनामनगर, बत्तीसपुतली र गैरीधारामा आउटलेट सञ्चालनमा आयो। बत्तीसपुतलीमा जग्गा खरिद गरेरै संरचना बनाइएको उनी बताउँछिन्।
श्रमिकलाई मालिक बनाउने बाजेको सेकुवा
अहिले सञ्चालित अधिकांश आउटलेट सञ्चालकको रुपमा रहेका छन्। सोह्रखुट्टेमा माओवादी द्वन्द्वका बेला जागिर नछाडी निःस्वार्थ काम गरेका कर्मचारी अहिले आउटलेटमा मालिकको रुपमा काम गरिरहेका छन्। लामो समय काम गरेका कर्मचारीलाई लक्षित गरी बाजेको सेकुवाले निश्चित रकम तिरेर साझेदार बनाउँदै आएको छ।
बाजेको सेकुवाको पहिलो नाम जम्बुद्वीप सेकुवा थियो। बुबाले जम्बु, जमुना र दीननाथ भनेर जम्बुनाथ सेकुवा कर्नर राखेका थिए। त्यतिबेला कोक तथा विभिन्न पेय पदार्थका कम्पनीले ब्रान्डिङका लागि ठूला–ठूला बोर्ड बनाउने क्रममा जम्बुद्वीप सानो अक्षरमा र बाजेको सेकुवा ठूलोमा लेखिदिएका थिए।
फ्रेन्चाइजी मोडल सुरु गरेपछि लगानीकर्तालाई सुझाव नै १५÷१६ वर्ष काम गरेका कर्मचारीलाई अनुभवका आधारमा निश्चित प्रतिशत सेयर दिन भण्डारीले आग्रह गरेका थिए। सोहीअनुसार अहिले सञ्चालनमा रहेका फ्रेन्चाइजीमा अधिकांश सञ्चालक पूर्वकर्मचारी नै छन्। व्यवसायको दृष्टिले समेत पुराना कर्मचारी सञ्चालक रहेको फ्रेन्चाइजीको व्यापार राम्रो भइरहेको छ। फ्रेन्चाइजी लिन आउने जोसुकै रेस्टुरेन्ट क्षेत्रको ज्ञान भएकालाई मात्र दिने गरेको नीतिमाले बताइन्।
सन् २०१४ मा बाजेको भेन्चर स्थापना गरी अमेरिका बस्ने सुशील खड्कालाई साझेदारको रुपमा भित्र्याइयो। भेन्चर भनेको बाजेको सेकुवाका जति पनि पाइपलाइनका काम बाँकी थिए, त्यो पूरा गर्ने थियो। त्यो बेला बाजेको पानी, बाजेको मसला, बाजेको फ्रेन्चाइजी। अर्थात्, जे–जति काम सबै बाजेको ब्रान्डमा गर्ने सहमतिअनुसार अगाडि बढ्यो। पहिलो फ्रेन्चाइजी पोखरामा सुरु भयो।
प्रत्येक चार किलोमिटर दूरीमै बाजेको सेकुवा आउटलेट
सेवा विस्तारमा आक्रामक देखिएको बाजेको सेकुवाले सहरभित्र चार किलोमिटर दूरीमै आउटलेट खोल्दै आएको छ। एकअर्को आउटलेटलाई असहज नहोस् भन्ने उद्देश्य राखेर यो खाले निर्णय गरिएको सञ्चालक नीतिमा बताउँछिन्।
कम्प्युटर बिलिङ गर्ने पहिलो रेस्टुरेन्ट
बेलायतमा कम्प्युटरसम्बन्धी अध्ययन गरेर फर्किएकी नीतिमाले आफ्नो परिवारको बिजनेसमा पहिलोपल्ट कम्प्युटरबाटै बिलिङ गर्ने व्यवस्था लागू गरिन्। उनले सुरुमा खातामा हिसाब राख्ने र बिल चाहिए कपीमार्फत दिने व्यवस्थालाई सन् २००६ बाटै अन्त्य गरिन्। उनी सुरुमा आउँदा रेस्टुरेन्टमा ठूलो कागजमा हिसाब राख्ने र चिट दिने गरिन्थ्यो। कम्प्युटर बिलिङदेखि गोदाम व्यवस्थापनसमेत नीतिमाले नै गरेकी थिइन्।
जम्बुद्वीपबाट बनेको बाजेको सेकुवा
बाजेको सेकुवाको पहिलो नाम जम्बुद्वीप सेकुवा थियो। बुबाले जम्बु, जमुना र दीननाथ भनेर जम्बुनाथ सेकुवा कर्नर राखेका थिए। त्यतिबेला कोक तथा विभिन्न पेय पदार्थका कम्पनीले ब्रान्डिङका लागि ठूला–ठूला बोर्ड बनाउने क्रममा जम्बुद्वीप सानो अक्षरमा र बाजेको सेकुवा ठूलोमा लेखिदिएका थिए। अतः आममानिसलाई ठूलो अक्षरमा लेखिएको शब्द ख्याल गर्दै सेकुवा खान कहाँ जाने, बाजेकोमा भन्ने बानी पर्न गएको नीतिमा सुनाउँछिन्। दौरा–सुरुवाल मात्र लगाउने ब्राह्मण भण्डारीलाई सुरुमा सेकुवा खान आउने ग्राहकले बाजे भनेर सम्बोधन गर्थे । कालान्तरमा त्यही नाम व्यवसायको ब्रान्ड बन्यो।
चेतनले एमबीए सकेपछि गोदावरी भिलेज रिसोर्टमा जागिरको अफर पाएका थिए। उनले एक महिनाको समय मागेका थिए। त्यही बेला चेतनका बुबाले ‘केही समय म तीर्थाटन जान्छु, तिमीले व्यवसाय हेर है’ भनेर जिम्मा लगाएका थिए। त्यतिबेला चेतनले रेस्टुरेन्टभित्र आफ्ना कर्मचारीले बुबालाई कसरी छलिरहेका छन् भन्ने थाहा पाए।
बुबा एक्लैले सबै चीज हेर्न नसक्ने भएकाले कर्मचारीले धेरै रकम तलमाथि गरेको देखेपछि चेतन गोदावरी नजाने निधो गर्दै आफ्नै व्यवसायमा सक्रिय भए। बुबाको आँखा छलेर खेर जाने वस्तुलाई मात्र नियन्त्रण गर्दा महिनामै हजारौं रुपैयाँ बचत भएको देखेपछि उनी त्यहीँ अडिए।
बाजेको मसला
जब पोखरामा २०१४ मा पहिलो फ्रेन्चाइजी पोखरामा सुरु भयो, त्यो बेला काठमाडौंबाटै सम्पूर्ण सामान पठाउने गरिन्थ्यो। पछि मल्टिपल फ्रेन्चाइजी भएपछि सम्भावना भएन। सिटी सेन्टर नजिकै सेन्टर किचन बनाएर सबै तयारी त्यहीँबाट गर्न सुरु भयो। त्यति गर्दा पनि सबै ठाउँमा एकै स्वादको हुने÷नहुने चुनौती थपियो। त्यसपछि त्यतिबेलादेखि ससुराबुबा धेरै बिरामी हुन थालेसँगै व्यवसायमा सक्रिय हुन सम्भवन भएन। त्यसपछि नीतिमा आफैं अगाडि बढिन्। ससुराबुबाले यसअघि तयार पारेको सेकुवालाई अनुमानका आधारमा गृहकार्य गरेर कार्यढाँचा तयार पारिन्। सोहीअनुसारको रेसिपी तयार पारिन, जुन सफल पनि भयो।
अहिले सिस्टमअनुसार मसला कसरी हाल्ने भन्ने टुंगो लाग्छ। अहिले बाजेको सेकुवा सेकुवाका लागि ‘म्यानुअल’ नै तयार पारेर अगाडि बढिसकेको छ। पाइपलाइनभित्रै रहेको बाजेको मसलालाई विदेश जानेका लागि कोसेलीका रुपमा पठाउन तयार पारेको नीतिमा बताउँछिन्। विदेश जानेमध्ये धेरैजसो मसला लिन आउने गरेका थिए। त्यतिबेला उनले सानो स्वरुपमा मसलालाई व्यावसायिक रुपमा अगाडि बढाइन्।
तर, हनुमन्ते खोलामा केही वर्षअघि आएको बाढीले बाजेको मसला उद्योग नै डुबानमा पर्यो। यसले ८० देखि ९० लाखको सामान कामै नलाग्ने गरी नष्ट भयो। त्यसपछि मसलातिर खासै ध्यान नदिइएको नीतिमा सुनाउँछिन्। कोरोनामा लकडाउनका बेला हाइलाइफ कम्पनीका सञ्चालक प्रशान्त घिमिरेले पनि उनलाई धोका दिए। नीतिमाले अरुका लागि मसला बनाइदिने गरेकी छन्।
अहिले व्यञ्जनको मसला नीतिमाले नै बनाउँदै आएकी छन्। घिमिरेले पनि मसला बनाउने प्रस्ताव लिएर आएपछि स्वीकार्दै मसला उत्पादन गरेर पठाए पनि सम्झौताको दुई महिनापछि काम नगर्ने भनेर आए। उनीहरूले बाँकी पैसासमेत नदिएपछि मुद्दा हालेर जिते पनि हालसम्म कुनै क्षतिपूर्ति पाउन सकेका छैनन्। अहिले हाइलाइफ अर्कै कम्पनीले खरिद गरिसकेको छ। घिमिरेले धोका दिएकै कारण मसला उद्योगलाई अगाडि बढाउन नसकिएको नीतिमा बताउँछिन्। अहिले मसलाको मात्रै बजारमा साढे ३ करोड बढी रकम उठ्न बाँकी छ। डिलरले तिनुपर्ने रकमसमेत नदिएको गुनासो उनको छ।
मसलामा पनि राजनीति
बाजेको सेकुवा कर्नरमा अनावश्यक दुःख पाइरहेका भण्डारी परिवारले बाजेको मसलामा समेत धोका पाउनुप¥यो। हाइलाइफका सञ्चालक घिमिरेले धोका दिइरहेका बेला अमेरिकामा राम्रो बिक्री भइरहेको भनेर सामान लगे पनि त्यहाँ पुग्दैनथ्यो। गत वर्ष अमेरिकाको न्यूयोर्क जाँदा नीतिमाले आफ्नो मसला खोज्दा पाइनन्। सोधीखोजी गर्दा लामो समयदेखि त्यहाँ नपुगेको थाहा पाइन्। अमेरिकाका लागि भनेर नीतिमाबाट पैसा तिरेर मसला लैजाने गरिएको थियो। कम्पनीले बीच बाटोमै गायब बनाउने गरेको रहस्य उनले पत्ता लगाइन्। त्यसपछि उनले त्यो कम्पनीलाई मसला दिन बन्द गरिसकेकी छन्। मसलालाई अमेरिकी बजारमा पुर्याउन कसले र किन रोके भन्नेबारे आफूले अहिलेसम्म नबुझेको बताउँछिन्, नीतिमा।
अमेरिकामा मात्र हैन, क्यानडामा पनि त्यस्तै व्यवहार भएको अनुभव उनले सुनाइन्। क्यानडामा सञ्चालनमा रहेको एउटा मःमः रेस्टुरेन्टले सुरुमा बाजेको मःमः मसला प्रयोग गरेर राम्रो बजार लिएसँगै त्यहाँका बिक्रेताले थप मसला नदिएको गुनासो आएपछि सीधै पठाउन लागिएको उनले बताइन्। अब विदेशका अधिकांश ठाउँमा नेपालबाट सीधै मसला पठाउने तयारी भइरहेको उनको भनाइ छ।
हार अस्वीकार्य
हरेक व्यवसायमा अनेकौं बाधा–अड्चन आए पनि यहाँबाट बाहिरिने कुनै ‘अप्सन’ नरहेको बताउँछिन्, उनी। ‘अहिले हामी राज्यका निकाय र बाह्य क्षेत्रबाट धेरै ‘टार्गेट’मा छौं,’ सञ्चालिका नीतिमाले भनिन्, ‘यस्तो अवस्थामा हामीले व्यवसाय छाडेर जानुहुँदैन, जे गर्छौं यहीँ गर्छौं।’
बाजेको सेकुवाले नयाँ–नयाँ काम गर्नुपर्छ भन्ने सोचका साथ अहिले झिर र टिमुरे नामक नयाँ ब्रान्ड सुरु गरिसकेको छ। नेपालमा भन्दा विदेशमा राम्रो अवसर र कमाइ हुँदा पनि स्वदेशमै नयाँ केही गरौं भन्ने लाग्छ, उनलाई। बाजेको सेकुवा ‘हाई एन्ड रेस्टुरेन्ट’ बनिसकेकाले सबैको पहुँच पुग्न सक्दैन।
अर्थात्, सबै वर्गका मानिस आएर सेकुवा खान सक्ने अवस्था छैन। राँगा र बंगुर सेकुवा पारखी पनि छुटिरहेकाले तिनलाई लक्षित गरेर झिर सञ्चालन गरिएको नीतिमा बताउँछिन्। बाजेको सेकुवाले गत वर्षदेखि झिर सञ्चालनमा ल्याएको छ। सञ्जीव तिमिल्सिनालाई साझेदारको रुपमा भित्र्याएर झिर सञ्चालन भइरहेको छ।
तिमिल्सिना तिनै व्यक्ति हुन्, जसले बाजेको सेकुवामा ६ वर्ष अप्रेसन हेड भएर काम गरेका थिए। उनी विदेश जान लागिरहेका बेला भण्डारीले नयाँ व्यवसाय सुरु गरेर लगानीकर्ताको रुपमा आबद्ध गराई नेपालमै अड्याएर रोजगारी सिर्जना गराएका छन्।
झिर र टिमुरे ३० देखि ४० लाख रुपैयाँमा सञ्चालन गर्न सकिने भएकाले बाजेको सेकुवाकै धेरै पूर्वकर्मचारी मिलेर सञ्चालन गरिरहेका छन्। अहिले झिरको १० वटा आउटलेट पुगिसकेका छन्।
खानापारखी लक्षित युवा जमातलाई तान्न टिमुरे सञ्चालन गरिएको छ। झिरमा किलोमा मासु जोखेर पोलेर खान पाइनुका साथै एमआरपीमा मदिरा व्यवस्थापन पनि छ। टिमुरेका हाल ४ वटा आउटलेट पुगिसकेका छन्।
प्रकृति र अध्यात्ममा रुचि
२०१४ सम्म आंशिक व्यवसाय हेर्दै आएकी नीतिमाले पूर्ण रुपमा २०१६ बाट काम सुरु गरेकी हुन्। दुई छोरीलाई हुर्काउन समय बिताएकी उनले स्कुल जान लागेपछि काममा फर्किएकी हुन्।
प्रकृति र अध्यात्मप्रेमी भएका कारण छिट्टै अमेरिकामा योगा सेन्टर सञ्चालन गर्ने तयारी गरेकी छन्, उनले। काममा मात्रै नभई उनको सोख घुम्नमा समेत छ। त्यसका लागि छोरीको समय–तालिका मिलाउने गरेको नीतिमा बताउँछिन्। उनीहरूको बिदा भएको बेला ट्रेकिङमा निस्कने गरेकी छन्।
नीतिमालाई नेपालमा सबभन्दा मन पर्ने ठाउँ मुस्ताङ हो। उनी गत वर्ष एक साता मुस्ताङ बसेर आएकी थिइन्। जबसम्म गल्ती गरिँदैन तबसम्म डराउनुपर्दैन भन्ने मुख्य धारणा आफूलाई अध्यात्मबाटै आएकाले कहिल्यै डर नलाग्ने गरेको उनी बताउँछिन्।