काठमाडौं ।बहुराष्ट्रिय कम्पनी अन्तर्गत विश्वभर रहेका कर्मचारीलाई नेपाल भ्रमण बर्ष–२०२० को अवसरमा नेपाल घुमाउन पहल गर्न सरोकारवालाले नेपाल सरकारलाई सुझाव दिएका छन् ।
सरकारले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीलाई आग्रह गरेमा विश्वभर फैलिएका आफ्ना कम्पनीमा कार्यरत कामदारहरुलाइ नेपाल भ्रमण गर्न प्राेत्साहित गर्न सक्ने बहुराष्ट्रीय कम्पनीका नेपाली साझेदारहरुले बताएका छन् ।
एउटै बहुराष्ट्रिय कम्पनीमा लाखौंको सङ्ख्यामा कामदारहरु कार्यरत हुन्छन् । त्यस्ता कामदारलाई हरेक वर्ष एक महिना विश्वभर घुम्न निस्किने विदा कम्पनीले उपलब्ध गराउछ । त्यसरी घुम्न निस्किने पर्यटकलाई नेपाल ल्याउन सकिएमा सरकारले लिएको लाख पर्यटकको लक्ष्य पूरा हुने युनिलिभर नेपालका नेपाली साझेदार रविभक्त श्रेष्ठ बताउँछन् ।
युनिलिभरमा विश्वभर डेढ लाख भन्दा बढी कर्मचारी छन् । नेपालमा उत्पादनमुकल क्षेत्रमा युनिलिभर बाहेक, कोकाकोला, पेप्सी, डाबरलगायतका कम्पनी छन् । त्यसैगरी अटोमोटिभ क्षेत्रका धेरै बहुराष्ट्रीय कम्पनीको प्रतिनिधित्व पनि नेपालमा छन् । हुन्डाई, टोयोटा, होन्डा, सुजुकी, महिन्द्रा, फोर्ड, निसान, एमजी, टाटा, स्कोडा, जिपलगायतका कम्पनी छन् । ती बिभिन्न देशमा कम्पनीका कामदारलाई नेपालको बारेमा जानकारी गराउन सकिएमा ठूलो सङ्ख्यामा खर्चालु पर्यटक ल्याउन सकिने व्यवसायीहरु बताउँछन् ।
नेपाल सरकारले नेपालमा हरेक बहुराष्ट्रिय कम्पनीलाई आग्रह गर्ने र नेपालबाट आफ्नो हेडक्वाटरमा इमेलमार्फत उक्त जानकारी गराउन सकिएमा धेरै कामदार नेपाल घुम्न आउन सक्ने श्रेष्ठको बुझाइ छ ।
नेपालमा उपस्थिति रहेको बहुराष्ट्रिय कम्पनीहरुको विश्वभर रहेको सञ्जालमा मात्रै लाखाैकाे सङ्ख्यामा कर्मचारी रहेका छन् । त्यसको १० प्रतिशत मात्रै कामदारलाई पर्यटकको रुपमा नेपाल ल्याउन सकियो भने अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने श्रेष्ठको विश्वास छ ।
त्यसैगरी होटलमा नयाँ नयाँ चेन भित्रिरहेका छन् । विश्वमा ख्याती कमाएका होटलको चेन नेपालमा खुलिसकेका छन् । अहिले म्यारियट, ह्यात, सोल्टी, ताज, ¥याडिसनलगायतका होटल विश्वभर छन् । त्यहाँ काम गर्ने कामदारलाई नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको छ र घुम्न इच्छुक जान सक्नुहुन्छ भन्ने सन्देश पु¥याउन सकिएका सरकारको लक्ष्य पूरा हुने म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन् ।
सरकारले बहुराष्ट्रिय कम्पनीका नेपाली साझेदारसँग बसेर छलफल गरेमा त्यस्ता कम्पनीहरु नेपालको प्रबद्र्धन सकारात्मक हुने व्यवसायीहरु बताउँछन् । नेपाली साझेदारले आ–आफ्नो हेडक्वाटरमा इमेलमार्फत जानकारी गराउने र हेडक्वाटरले विश्वभर फैलिएका आफ्ना कार्यालयमा उक्त इमेल फर्वाड गरेमा सजिलै यो काम गर्न सकिन्छ ।
सामान्यतयः एउटा बहुराष्ट्रिय कम्पनीमा एक लाख जना कर्मचारी हुन्छन् । नेपालमा उत्पादनमुलक उद्योगका बहुराष्ट्रीय कम्पनीको सहभागिता छ । त्यसैगरी सेवामुलक उद्योगमा पनि बहुराष्ट्रिय कम्पनी आवद्ध छन् । अटोमोटिभ क्षेत्रमा उपस्थिति दरिलो छ ।
सरकारले नेपाली साझेदारलाई प्रयोग गरेर त्यहाँबाट ठूलो सङ्ख्यामा पर्यटक ल्याउन सक्ने श्रेष्ठले बताए । ‘यतातिर कसैको ध्यान गएको देखिएको छैन्,’ नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘नेपालमा रहेका प्रमुखले आफ्ना हेडक्वाटरलाई इमेल पठायो भने यो सम्भव हुन सक्छ’ ।
यसरी एक महिना घुम्न निस्किने पर्यटकको खर्च पनि एकदमै राम्रो र धेरै हुन्छ । किनभने उनीहरुको आम्दानी राम्रो हुन्छ । यो क्षेत्रलाई टार्गेट गरेर घुम्नका लागि नेपाल ल्याउन सकियो भने उनीहरुको बसाइ पनि लम्बिने र खर्च पनि बढ्ने साझेदारहरु बताउँछन् ।
नेपालमा सन् २०१७ मा एक पर्यटकले दैनिक औसत ५४ अमेरिकी डलर खर्च गरेकोमा सन् २०१८ मा ४४ डलरमा सीमित भएको छ ।