काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्षमा सुमनविक्रम पाण्डे निर्वाचित भएका छन्।
एक्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका पाण्डे गत मार्च महिना सम्पन्न निर्वाचनमा अमेरिकन गुवामका जेराल्ड पेरेन्जसँग प्रतिस्पर्धी थिए। तर, परेन्जले मनोनयन फिर्ता लिएसँगै पाण्डे निर्विरोध भएका हुन्।
पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेस भए पश्चात ७ जुनमा भएको पाटाको साधारण सभाबाट अनुमोदन भएको थियो। सन् १९७५ देखि सदस्य रहेको नेपालले पाटाको यो तहको जिम्मेवारीमा पहिलो पटक प्रतिनिधित्व गरेको छ। पाण्डे २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा रहेका थिए।
सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भई सन् १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटकीय आदान प्रदान वा व्यापार विस्तारको क्षेत्रमा सदस्य राष्ट्रसँग सहकार्य गर्दै आएको छ।
३५ वर्ष लामो व्यवसायिक जीवनमा नेपालको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्टलगायत विधामा संलग्न पाण्डे ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष, पर्यटन बोर्डका सदस्य, एरलाइन् अपरेटर एशोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष भएका थिए।
सन् २०२६ सम्म कार्यकाल रहने ९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा इण्डोनेशियाका पिटर सिमोन, सचिवमा थाइल्याण्डका एसियन ट्रैलस र सदस्यमा भारतका सञ्जित जैन र सिंगापुरका मयुर पटेल छन्।