काठमाडौं । बजारमा विद्युतीय (ईभी) स्कुटरको आयात बढ्दो क्रममा छ। आयात बढेसँगै ईभी स्कुटर प्रयोगकर्ता पनि बढिरहेका छन्। ईभी स्कुटरमा कम्पनीले दाबी गरेको रेन्ज र व्याख्या गरेअनुसारका फिचर उपलब्ध नहुने एक किसिमको हल्ला छ।
तर, वास्तवमा यो अफवाह मात्र हो वा वास्तविकता भन्ने सबैको चासोको विषय हो। ईभी स्कुटर कम्पनीले एक पटकको फुल चार्जमा यति किलोमिटर रेन्ज दिन्छ भनेर तोकेका हुन्छन्। सोही आधारमा नै ग्राहकले पनि स्कुटर खरिद गर्छन्।
तर, कम्पनीको भनेअनुसार रेन्ज नपाउने गरेको गुनासो पनि धेरै प्रयोगकर्ताले गरेको भेटिन्छ। कम्पनीले निर्धारण गर्ने रेन्ज उसको आरएण्डी सेन्टरमा एक निश्चित वातावरण र गतिमा गर्ने हुँदा सडकमा गुडाउँदा फरक पर्ने हुन्छ। बाटोमा यात्रा गर्दा भने उकालो, कच्चीबाटो तथा एयरकन्डीसनको प्रयोगले गर्दा यसको रेन्ज घटाउँछ।
ग्राहकले ईभी किन्दा २५०० वाट भन्दा माथिको मोटर भएको प्रोडक्ट किन्नुपर्दछ। ६० भोल्ट ३२ एम्पियरको ब्याट्री भएको स्कुटरले कुनै पनि उकालोमा २ जना तान्न सक्छ। उकालो २ जना नतान्ने भनेको इभीको फल्ड होइन कि इभीको बनावटमै मोटरको समस्या भएको कारणले गर्दा हो।
२५०० अथवा २००० वाट भन्दा तलको मोटर क्षमता नै कम भएको कारणले नतानेको हो। २००० वाट र त्यो भन्दा तलको मोटर पावर भएको स्कुटर छ भने वास्तमै तान्न गाह्रो हुन्छ। डबलमा तान्दै तान्दैन। सिंगलमा मात्र तान्छ। किनकि मोटरको क्षमता नै त्यहिअनुसार हुन्छ।
इभी सवारीसाधनमा मोड १, २ र ३ हुन्छन्। मोड २ मा चलायो भने माइलेज राम्रो दिन्छ। मोड १ र मोड ३ मा धेरै नै ब्याट्री खपत हुन्छ। ईभीको मापन एक किलोमिटर बराबर १ प्रतिशत चार्ज भनिन्छ। तर नेपालको बाटोको बनावटका कारण त्यति रेन्ज नमिल्ने स्कुटर वितरकहरु बताउँछन्। नेपालमा दुई पांग्रे विद्युतीय स्कुटर अथवा बाइकमा अहिलेसम्मको अभ्यासमा रेन्जहरुको अनुसन्धान सिंगल मान्छेको आधारमा मात्र गरिएको छ।
विद्युतीय स्कुटर प्रयोगकर्ता एनके सरद नेपालमा विद्युतीय स्कुटर छोटो दुरीका लागि बनेकाले लामो दुरी तय नगर्न सुझाउँछन्। नेपालमा लामो दूरीका लागि जान चार्जिङ स्टेशन र फास्ट चार्जिङको सुविधा नभएका कारण कुनै पनि विद्युतीय स्कुटरको व्यापार सोचेअनुरुप नभएको उनको भनाइ छ।
ईभी किन्दा ग्राहकले त्यसको मोटर हेर्नुपर्छ। यदी ३०००–२५०० वाट भन्दा माथिको मोटर छ भने त्यसले जुनसुकै उकालोमा तान्छ। तर, २५०० वाट भन्दा तलको मोटर छ भने त्यो तराईको लागि बनाइएको प्रोडक्ट हो।
‘मेरो स्कुटरमा ३००० वाटको मोटर छ। अन्यत्र जति स्पिडमा कुद्छ त्यति नै स्पिडमा भैंसी पाटीको उकालोमा पनि कुद्छ। त्यो कुराहरु ग्राहकले बुझेका छैनन्,’ सरद भन्छन्, ‘इभीमा र पेट्रोलियम दुवैमा कम्पनीले जति रेन्ज दाबी गरेको हुन्छ त्यति रेन्ज आउँदैन। तर, इभीमा थोरै पनि रेन्जमा तलमाथि भयो भने ग्राहक रेन्ज कम भयो भन्छन् यो एउटा बानी हो। यी कुरा बाटोमा भर पर्छ।’
ईभी किन्दा ग्राहकले त्यसको मोटर हेर्नुपर्छ। यदी ३०००–२५०० वाट भन्दा माथिको मोटर छ भने त्यसले जुनसुकै उकालोमा तान्छ। तर, २५०० किलोवाट भन्दा तलको मोटर छ भने त्यो तराईको लागि बनाइएको प्रोडक्ट हो।
प्रोडक्टको वर्गीकरणअनुसार तराई, पहाड, हिमाल कुन–कुन क्षेत्रमा डबल राखेर र सिंगल मान्छे राखेर कसरी चलाउने कति किलो तान्छ भन्ने निर्धारण गरिएको हुन्छ। त्यसकारणले गर्दा जुन लेभलको पिकअप सुरुवाती सयममा हुन्छ त्यो लेभलको पिकअप पछि हुँदैन।
अर्का ईभी स्कुटर प्रयोगकर्ता क्रिपेश शर्मा ठाउँअनुसार पिकअप दिने बताउँछन्। अलि टाढाबाट स्पिडमा लग्यो भने तान्ने तर, एकैपटक धेरै बढाउन खोज्दा नतान्ने र सिंगल लोडमा जस्तोमा पनि तान्ने उनको अनुभव छ। ‘इभी स्कुटरमा रेन्ज नै हुन्न अर्काे भनेको ग्राउन्ड क्लियरेन्स कम भएको कारण जहाँ पनि ठोकिन्छ’ शर्मा भन्छन्, ‘इभी स्कुटर सबैमा ग्राउन्ड क्लियरेन्स उस्तै हुन्छ, पिजमा ठिकै हो स्पिड ब्रेकरहरुमा पनि डबर बस्दा अलि ठूलो स्पिड ब्रेकर भयो भने पनि छुन्छ। अफरोडमा पनि ढुंगा, खाल्डोमा पर्दा ठोकिन्छ।’
विगत साढे ३ वर्ष देखी इभी स्कुटर प्रयोग गर्दै आएका सिताराम भट्टराई विद्युतीय स्कुटर अफरोडका लागि नबनेको बताउँछन्। ‘मेरो स्कुटरले १०० किलोमिटर रेन्ज दिन्छ तर ६०–७० किलोेमिटर भन्दा माथिलाई रेगुलर जाने र आउने कुरामा रिस्क लिन मिल्दैन,’ भट्टराई भन्छन्, ‘७५ किलोको २ जना मान्छे चढेर काठमाडौं उपत्यकामा जहाँ पनि जान मिल्छ।’
काठमाडौं उपत्यकाका लागि मात्र हो भने विद्युतीय स्कुटर किन्दा राम्रो तर बाहिर पनि जाने हो भने ईभी उपयुक्त हुँदैन। इभी स्कुटरको सिट नै सानो भएकाले मोटो मान्छे दुई जना बस्न गाह्रो हुने भट्टराई सुनाउँछन्।
त्यस्तै अर्का प्रयोगकर्ता रोविन पौडेल सीधा बाटोमा १०० रेन्ज दिने तर उकालो ओरालोमा र डबल लोड राखेर चलाएको बेला त्यति रेन्ज नदिने बताउँछन्। ‘इभी स्कुटर अलि महंगो भए पनि, यसमा हुने फिचर अरु सामान्य बाइक स्कुटरभन्दा धेरै फरक भएको उनी सुनाउँछन्।
अरु स्कुटरहरु डबल लोड राखेर चलाउँदा घ्यार–घ्यार हुन्छ, धेरै बटार्नुपर्छ तर, इलेक्ट्रिकमा त्यस्तो हुदैन,’ पौडेल भन्छन्, ‘इलेक्ट्रिक सवारीसाधन बाटोमा चार्ज गर्न मिल्दैन। फुल चार्ज हुन ४/५ घन्टा लाग्ने भएकाले त्यसलाई केही घण्टा बसेर चार्ज गर्नुपर्ने हुन्छ। तर पेट्रोलबाट चल्नेमा पेट्रोल सक्यो बाटोमा पेट्रोल हालेर चलाइहाल्न सकिन्छ।’