काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ता स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा आज आयोजित ‘सामाजिक अभियन्ता भेला’ कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले देशभित्रका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्ने बताएका हुन्।
‘गैरसरकारी क्षेत्र विदेशी पुँजी परिचालन गर्ने आइएनजिओ र तिनमै आश्रित रहेर सञ्चालित एनजिओ मात्र होइनन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘देशभित्र रहेको श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सहकारिता र सामाजिक एवं सांस्कृतिक रूपान्तरणको नेतृत्व गर्ने क्षेत्र पनि हुन्।’
उनले देशको मूल नीति विदेशी सहायतामा मात्रै निर्भर हुने होइन, आफ्नै पुँजी, जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम हुनुर्नेमा जोड दिए।
विश्वव्यापीकरणको परिस्थितिमा गैरसरकारी संस्थाहरूलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने नीति नै महत्त्वपूर्ण हुने बताउँदै प्रधानमन्त्रीले सबै तहको पार्टी कमिटीमा गैरसरकारी तथा सामाजिक संघसंस्था विभाग गठन गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले छाता संगठनका रूपमा केन्द्रमा राष्ट्रिय महासंघ गठन गर्ने, सबै वडामा सामुदायिक केन्द्र र क्लब गठन गर्ने नीति पार्टीले लिनुपर्ने बताए। संस्थाहरूले आफ्नो तहको सरकार र राज्यका निकायका कामको अनुगमन र सहकार्यका आधारमा सामाजिक क्षेत्रमा बलियो उपस्थिति र नेतृत्व स्थापित गर्न सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले सिंगो पार्टीको पुनर्गठन र रूपान्तरणको प्रक्रियामा यस्ता संस्थाले योगदान गर्ने विश्वास व्यक्त गरे।
पार्टी केन्द्रले समाज कल्याण विभागलाई सामाजिक संघ संस्थाको सञ्चालन र पार्टीको जिम्मेवारीसम्बन्धी नीतिगत व्यवस्थाबारे अध्ययन गरी आवश्यक राय सल्लाह दिनुपर्ने बताए।
संघीय संरचनाबमोजिम समाज कल्याण विभागका प्रदेश र स्थानीय तहको संरचना निर्माण गरी ती क्षेत्रमा रहेका सङ्घसंस्थालाई राय सल्लाह, परामर्श र आवश्यकताअनुसार निर्देशनसमेत दिनुपर्ने प्रधानमन्त्रीले उल्लेख गरे।
उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारसँग सम्बन्ध स्थापित गरी उनीहरूसँग पार्टीको सम्बन्ध स्थापित गर्न सहयोग र समन्वय गर्नेजस्ता महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताए।
समाजवादको आधार तयार पार्ने सन्दर्भमा माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट सरकार, सदन र सडकबाट संघर्ष गर्ने नीति अख्तियार गर्दै आएको बताउँदै अध्यक्ष प्रचण्डले यसका निम्ति सामाजिक क्षेत्रको भूमिकालाई संकीर्ण तवरले नबुझ्न उनले सुझाव दिए।
पार्टी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउन मेहेनत र सङ्घर्ष गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पनि यीनै विषयमा केन्द्रित भएको बताए।