काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको चालू आर्थिक वर्ष चैतसम्मको अपरिस्कृत वित्तीय विवरणमा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ।
प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को ९ महिने अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ९३ अर्ब ९४ करोड आम्दानी भएको जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा ८२ अर्ब ८८ करोड खर्च भएको छ। मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा नाफा ८ अर्ब ८८ करोड र गत आवको मुनाफा १३ अर्ब ३७ करोड थियो।
प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड पुगेको छ। आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ।
प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत्् चुहावट नियन्त्रण, आन्तरिक तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले चालू आवको ९ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए।
प्राधिकरणले चालू आवको ९ महिनामा विद्युत् बिक्रीबाट ६८ अर्ब ८९ करोड खुद संकलन गरेको छ। यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादक र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ।
प्राधिकरणले हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोडको विद्युत्् भारतबाट आयात गरेको छ भने आन्तरिक रुपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारत निर्यात गरिएको जनाएको छ।
प्राधिकरण आफूले कमाएको नाफाबाट चालू आवको चैत महिनासम्म १७ अर्ब ८२ करोड विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा लगानी गरेको विवरणमा छ।