काठमाडौं। मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा बहुमत जुटाउन नसक्दा पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका नेता सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले बताएको हो। मुख्यमन्त्री सिंहले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
सिंहले शुक्रबार बिहान ६ दलका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनलाई जनमतसँगै एमाले, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ।
मुख्यमन्त्री नियुक्तिसँगै प्रदेश मन्त्रालय भागबन्डा पनि टुंगिएको छ। ६ दलीय सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ।
जनमतलाई एक मन्त्रालय पछि दिने गरी मुख्यमन्त्रीसहित वन तथा वातावरण मन्त्रालय, नेकपा माओवादी केन्द्रलाई अर्थ र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, नेकपा एकीकृत समाजवादीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी र ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय दिइने समझदारी बनेको छ।
एक–एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात र जसपाले गृह तथा सञ्चार मन्त्रालय पाउने सहमति भएको छ।