काठमाडौं। निजी क्षेत्रले निर्माण गर्न लागेको देशकै सबैभन्दा ठूलो माथिल्लो तमोर जलविद्युत् आयोजनाले वित्तीय व्यवस्थापन गरेको छ।
२८५ मेगावाट क्षमताको माथिल्लो तमोर आयोजना ४ वर्षमा सम्पन्न गर्ने गरी तमोर इनर्जी प्रालिले निर्माण गर्न लागेको हो। बिहीबार ऋण सम्झौतामा तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र अगुवाईकर्ता बैंक (एभरेष्ट बैंक) का प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरे।
आयोजनाको अनुमानित लागत ५५ अर्व १५ करोड रुपैयाँ रहेको छ भने निर्माण कार्य आगामी २०८५ साल जेठमा सम्पन्न हुनेछ। एभरेष्ट बैंकको अगुवाईमा कृषि विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक तथा गरिमा विकास बैंकले ऋण लगानी गरेका छन्।
कोशी प्रदेश ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा निर्माण हुने यो आयोजना अर्धजलाशययुक्त हो। ६ घण्टाको पिकिङ क्षमतामा निर्माण हुने यस आयोजनामा बाँधमाथि रहने रिजर्भवायरमा २ घण्टा र हेड पोण्डमा ४ घण्टा पूर्ण क्षमतामा विद्युत् निकाल्न पुग्ने पानी भण्डारण गरिनेछ। यस आयोजनाको डिजाइन डिस्चार्ज करिब ७८ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ४५० मिटर रहनेछ।
आयोजनामा करिब ९१ मिटर लामो २२ मिटर अग्लो बाँध रहने छ, जसमा दुई वटा अन्डर स्लुइस र ४ वटा व्यारेज रहनेछन्। ७८ घनमिटर प्रतिसेकेण्डको पानीलाई ६ वटा इन्टेक गेटमार्फत ग्राभेल ट्र्यापमा पठाइनेछ । यस संरचनामा ५ मिलिमिटर भन्दा ठूला सेडिमेन्टमा थिग्ग्राइनेछ । यहाँबाट ३ वटा १६० मिटर शून्य लामो समानान्तर सेटलिङ बेसिनमा पानी पठाइनेछ।
उक्त सेटलिङ बेसिनमा शून्य दशमलब २ मिलिमिटर भन्दा ठूला सेडिमेन्टमा थिग्य्राएपश्चात् तुलनात्मक रुपमा सफा पानी पिकिङ पोन्डमा जानेछ । यस पोखरीको पानी भण्डारण गर्ने क्षमता ८ लाख घनमिटर रहनेछ ।
टनेल तथा ६ सय ८३ मिटर लामो पेनस्टक साफ्टको बीचमा १४ मिटर व्यास तथा ९३ मिटर अग्लो सर्ज साफ्ट रहनेछ । यस आयोजनाबाट वार्षिक रुपमा एक हजार ६ सय ५५ गिगावाट आवर अर्थात् एक अर्ब ६५ करोड ४० लाख युनिट बिजुली उत्पादन हुनेछ।
जसमध्ये ४४६ गिगावाट आवर सुख्खायाममा उत्पादन हुनेछ। निजी क्षेत्रले निर्माण गर्न लागेको यो एउटा आकर्षक आयोजना हो भने राष्ट्रिय स्तरमा पीक इनर्जी व्यालेन्स गर्न यो आयोजनाले अहम् भूमिका खेल्ने आयोजनाको दाबी छ।
यस आयोजनाको भूमिगत विद्युत गृह करिब १०४ मिटर लामो र २५ मिटर चौडाइको हुनेछ, जसमा ५७ मेगावाट क्षमताका ५ वटा पेल्टन टर्बाइन रहनेछन्। उत्पादित विद्युतलाई २२० केभीको डबल सर्किट करिब १५ किलोमिटर लामो प्रसारण लाइन मार्फत ढुङ्गेसाँघु सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
कार्यक्रममा बोल्दै तमोर इनर्जीका अध्यक्ष ढुंगानाले देशमा उत्पन्न भएको निराशा चिर्न ठूला आयोजना निर्माण गरेर स्वदेशी पूँजीमा पनि ठूला आयोजना बनाउन सकिने सन्देश दिन लागेको बताए । नेपालको निजी क्षेत्र पनि स्वदेशी लगानी र पूँजीमा ठूला आयोजना समेत निर्माण गर्न सक्ने अवस्था आएको ढुङ्गानाले बताए।
प्रवद्र्धक समूहले यसअघि १ मेगावाट पातीखोला जलविद्युत् आयोजना, १५ मेगावाटको हेवा खोला ए जलविद्युत् आयोजना, ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजना सञ्चालन गरिरहेका छन्। यस्तै ३७.५ मेगावाट क्षमताको तमोर ५ जलविद्युत् आयोजना र २१ मेगावाट क्षमताको पालुनखोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्।