काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ५०० मेगावाटसम्मका आयोजना स्वदेशी निजी क्षेत्रले नै बनाउन सक्ने कुरा पुष्टि भएकोले विद्युत् विधेयक संशोधन गरेरमात्रै पास हुनुपर्ने धारणा राखेका छन्। बिहीबार काठमाडौंमा आयोजित माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्।
'२८५ मेगावाट क्षमताको आयोजना स्वदेशी लगानीमा स्वदेशी निजी क्षेत्रले बनाउन सक्छ भन्ने कुरा त आजको यो समारोहले नै पुष्टि गरिसकेको छ,' कार्कीले भने, 'विद्युत् विधेयकमा स्वदेशी निजी क्षेत्रलाई १०० मेगावाटसम्मका आयोजनामा सीमित गर्न खोजिएको छ। १०० देखि ५०० मेगावाटसम्मका आयोजना निजी क्षेत्रले नै बनाउन सक्ने भएकोले विद्युत् विधेयक संशोधन गरेरमात्रै संसद्बाट पास हुनुपर्छ।'
२८५ मेगावाटको आयोजनामा लगानी गर्ने स्वदेशी बैंक तथा वित्तीय संस्थालाई धन्यवाद दिँदै कार्कीले आयोजना बन्दा यसले बिजुलीमात्रै उत्पादन नगरेर राज्यले गर्नुपर्ने पूर्वाधार विकासका धेरै काममा टेवा पुर्याउने बताए।
'सरकारले २८ हजार मेगावाट उत्पादन गरेर भारत र बंगलादेशमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने, १३ हजार मेगावाट आन्तरिक खपत गर्ने धेरै पहिलीदेखि बताउँदै आए पनि बजेटमा भने निजी क्षेत्रलाई समेटिएको छैन। जुन दुखद हो,' उनले भने।
१० हजार मेगावाट विद्युत् निर्यातको सम्झौता नै भइसकेको उल्लेख गर्दै कार्कीले २८ हजार मेगावाट उत्पादनका लागि आवश्यक ४६ खर्ब रुपैयाँ लगानीका लागि पनि स्वदेशी बैंक तथा वित्तीय संस्था तयार हुनुपर्ने र अपुग रकम मात्रै विदेशी लगानी ल्याउनुपर्ने उनले बताए।
स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन गइरहेको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना २८५ मेगावाटको माथिल्लो तमोरमा एभरेस्ट बैंक लिमिटेडको नेतृत्वमा कृषि विकास बैंक, एचआइडीसीएल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैक, नेपाल एसबीआई बैक र गरिमा विकास बैकले ऋण लगानी गरेका छन्।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यसमा ३० प्रतिशत स्वपुँजी र बाँकी ऋण लगानी हुनेछ।
अपर तमोर हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्प ज्योति ढुंगानाले २०४९ सालको विद्युत् ऐन ल्याउने शैलाजा आचार्यलाई सम्झँदै २१ वर्षअघि १ मेगावाटको आयोजना निर्माण गरेर दुई दशकमै २८५ मेगावाटको आयोजना बनाउन सक्ने अवस्थामा पुगेका बताए।
ऋण लगानी सम्झौतामा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अपर तमोरका अध्यक्ष पुष्पज्योति ढुंगानाले हस्ताक्षर गरेका छन्। कार्यक्रम सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र रघुवीर महासेठ, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई लगायतको सहभागिता रहेको थियो।