तिलगंगा सडक खण्ड
काठमाडौं । चक्रपथ सडक खण्डमा सरकारले सुरुङ र अण्डरपास निर्माण गर्ने भएको छ। सवारी साधनको अत्यधिक चापलाई मध्यनजर गर्दै सरकारले चक्रपथ (नारायण गोपाल) चोकमा अण्डरपास र चाबहिलस्थित ओम हस्पिटलबाट तिलगंगासम्म सुरुङ निर्माण गर्ने योजनाअघि सारेको हो।
सडक विभागले आगामी आर्थिक वर्ष (२०८१/०८२) मा अण्डरपास र सुरुङ निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको छ। विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार आगामी आर्थिक वर्ष दुवै स्थानको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन भएको हो।
सम्भाव्यता अध्ययनको प्रतिदेन तयार भएपछि फेरि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने योजना रहेको महानिर्देशक ढकालले बताए। ‘आव २०८१/०८२ मा सम्भाव्यता अध्ययन सम्पन्न गर्ने र मिल्यो भने डिपिआर पनि गर्ने योजना छ,’ महानिर्देशक ढकालले भने, ‘आगामी आर्थिक वर्षमा सकिएन भने चक्रपथको सुरुङ र अण्डरपासको डिपिआर आव २०८२/०८३ सम्म तयार हुन्छ।’
डिपिआर अध्ययन प्रतिवेदन तयारपछि मात्रै कुन निर्माण कार्य सुरु गर्ने यकिन हुने उनले बताए। अण्डरपास र सुरुङ निर्माणको लागत रकम पनि डिपिआरले नै देखाउने ढकालको भनाइ छ।
नारायण गोपाल चोकमा निर्माण हुने अण्डरपास कलंकीको जस्तै हुने महानिर्देशक ढकालले बताए।
अण्डरपास र सुरुङको अध्ययनका लागि कति खर्च लाग्छ भनेर अहिले नै भन्न नसकिने ढकालले बताए। ‘अध्ययनका लागि अहिले नै यकिन खर्च भन्न नसकिए पनि आगामी आवमा हामी अध्ययन गर्छौं,’ उनले भने।
नारायण गोपाल चोकमा निर्माण हुने अण्डरपास कलंकीको जस्तै हुने महानिर्देशक ढकालले बताए। ओम हस्पिटल र तिलगंगाको बीचमा पर्ने पशुपतिनाथ मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत छ। त्यसलाई ख्याल गरेर अध्ययन गरिने विभागले जनाएको छ।
चाबहिल, वसुन्धरा, महाराजगञ्ज, स्वयम्भू, कलंकी, एकान्तकुना, सातदोबाटो, कोटेश्वर गौशाला क्षेत्रमा पर्ने चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ। जसमध्ये ११ किलोमिटर लामो कोटेश्वर कलंकी खण्ड चीनको सहयोगमा ८ लेनमा विस्तार भइसकेको छ।
कंलकीबाट महाराजगञ्जसम्म पनि चीनले अनुदान सहयोगमा निर्माण गर्न सम्झौता भएको महानिर्देशक ढकालले बताए। कलंकी–महाराजगञ्ज खण्ड ८ लेनमा विस्तार गर्न चिनियाँ पक्षबाट ‘एक्सचेन्ज अफ लेटर’ प्राप्त भएर अर्थ मन्त्रालयले हस्ताक्षरको तयारी गरेको विभागको भनाइ छ।
कलंकी–महाराजगञ्ज खण्ड ८ लेनमा विस्तार गर्न ५ अर्बभन्दा बढी लाग्ने विभागको आंकलन छ। उक्त काम चीन सरकारले अनुदान सहयोगमा गर्ने भएकाले नेपाललाई भने आर्थिक भार पर्ने छैन।
विभागका एक इन्जिनियरका अनुसार आगामी वर्षका लागि महाराजगञ्ज अर्थात् नारायण गोपाल चोकबाट ओम हस्पिटलसम्मका लागि २५ करोड रुपैयाँ बजेट राखिएको छ। त्यस्तै गौशाला–तीनकुनेसम्म ३० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेट सुरुङ, अण्डरपास वा सडक विस्तार के मा खर्च हुन्छ? हालसम्म प्रस्ट छैन। नयाँ आर्थिक वर्ष सुरु भएपछि अध्ययनमा लाग्ने खर्च छुट्याएर ठेक्का आह्वान हुने विभागले जनाएको छ।
चीनले विस्तार गर्ने सम्झौता भएको बाहेक (महाराजगञ्ज–ओम हस्पिटल) सम्मको सडक विस्तार पनि विभाग आफैँले गर्ने योजना बनाएको विभागका उपमहानिर्देशक रामहरि पोखरेल बताउँछन्। कहिलेबाट सडक विस्तार सुरु गर्न सकिन्छ भन्ने विषय अहिले प्रस्ट भई नसकेको उनको भनाइ छ।
हाल ४ लेनमा रहेको सडक ८ लेनमा विस्तार गर्न प्रतिकिलोमिटर खर्च ४० करोड रुपैयाँभन्दा बढी हुने प्राविधिकहरू बताउँछन्। यसरी हेर्दा आगामी वर्षका लागि विनियोजन गरिएको रकम सडक विस्तारका लागि पुग्ने छैन।