काठमाडौं। खारेजी चरणमा पुगेको गुण एयरलाइन्सको लाइसेन्स नवीकरण प्रक्रिया बैंक ग्यारेन्टी कि नगद भुक्तानी भन्ने प्रक्रियाका कारण लम्बिएको छ। गुणले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम किस्ताबन्दीमा दिने गरी पत्र पठाएको २ महिना हुन लाग्दासमेत नवीकरण प्रक्रिया अगाडि बढ्न नसकेको हो।
गुण एयरलाइन्सका एकाउन्टेबल म्यानेजर योगराज कँडेलले वैशाख ४ मा बक्यौता रकम मासिक २५ लाख रुपैयाँ तिर्ने गरी बैंक ग्यारेन्टी बुझाए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको बताए।
तिर्नुपर्ने ६ करोड ५० लाख रुपैयाँको बैंक ग्यारेन्टी प्राधिकरणले स्वीकार गरेको पत्र दिए पनि त्यसपछिको प्रक्रिया कहाँ पुग्यो र कसरी अगाडि बढेको छ भन्ने कुनै जानकारी कम्पनीलाई नदिएको उनको भनाइ छ।
प्राधिकरणको एभिएसन सेफ्टी एण्ड सेक्युरिटी नियमन निर्देशनालय सिनामंगलले वैशाख ४ मा बैंक ग्यारेन्टीको पत्र लिएर स्वीकारसमेत गरिसकेको छ। तर, प्राधिकरणले त्यसपछि लाइसेन्स नवीकरणका लागि कुनै प्रक्रिया अगाडि नबढाएको एकाउन्टेबल म्यानेजर कँडेलको भनाइ छ।
पटक–पटक प्राधिकरणमा गएर नविकरणको विषयमा जानकारी लिँदा मुख्य कार्यालयमा पत्र नै नआएको भन्दै जवाफ फर्काइने गरेको उनले जानकारी दिए। ’अहिले प्राधिकरणले हाम्रो पत्र नै गायब बनाएको छ,’ एकाउन्टेबल म्यानेजर कँडेलले भने, ‘बैंक ग्यारेन्टीमा चित्त नबुझेको भए किन पत्र स्वीकारेको र नस्वीकारेको कारण भए किन नभनेको?’
प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले बैंक ग्यारेन्टीभन्दा नगदै बुझाउन अनुरोध गरिएको बताए। प्राधिकरण कुनै पनि एयरलाइन्स बन्द होस् भन्ने पक्षमा नरहेको, सहजीकरण गरिरहेको र सम्पर्कमा नआएको उनको धारणा छ।
‘बैंक ग्यारेन्टीभन्दा नगदै बुझाउन अनुरोध गर्ने कार्यालयको तयारी छ,’ प्रवक्ता पाण्डेले भने, ‘लामो समयदेखिको बक्यौता भएकाले निर्णय गर्न केही ढिलाइ भएको हो, हामी छलफलमै छौं।’
जेटस्ट्रिम जहाज नचलाउने पक्षमा प्राधिकरण
प्राधिकरणको उच्च व्यवस्थापन भने हाल गुणसँग भएको जेटस्ट्रिम जहाज नचलाउने पक्षमा छ। एटिआरको दबदबा रहिरहेका बेला प्राधिकरणले सो जहाज चलाउन नदिने र नयाँ जहाज खरिदका लागि पहल गर्ने तयारी उच्च तहले गरेको छ। हाल गुणसँग ५ वटा जेटस्ट्रिम र २ वटा बिचक्राफ्ट जहाज छन्।
‘हामीसँग भएको जहाज उडान गर्न नदिने हो भने पनि त्यो खाले पत्र दिनुपर्यो नि,’ गुणका एकाउन्टेबल म्यानेजर कँडेलले भने, ‘हाम्रो तयारी एटिआर जहाज ल्याउने हो। तर, सुरुमा बाटो फुकाउनुपर्यो।’
जहाज बेच्न लाइसेन्स नवीकरण अनिवार्य
सुरुमा उडान बन्द गर्दा नै एयरलाइन्सले हाल रहेको जेटस्ट्रिम जहाज बेच्ने र एटिआर जहाज खरिद गर्ने योजना बुनेको थियो। विश्वभर छाएको आर्थिक मन्दीका कारण जहाज खरिद तयारी गरेको थिया।े तर, पछि हटेसँगै गुण एरलाइन्स व्यस्थापकलाई योजनामा धक्का लागेको थियो।
बिक्रीका लागि उड्दा उड्दैको जहाज ग्राउन्डेड गरे पनि खरिद गर्ने कम्पनी अन्तिममा ब्याक हुँदा समस्या परेको थियो। अहिले केही कम्पनीले जहाज खरिदका लागि चासो देखाए पनि बिक्री गर्न लाइसेन्स नवीकरण अनिवार्य चाहिन्छ। सोही कारण अहिले गुणले बैंक ग्यारेन्टी दिएर मासिक २५ लाख किस्ता बुझाउने योजना बनाएको छ।