काठमाडौं। सरकारले आगामी आर्थिक वर्षबाट नयाँ कार्यक्रमका रूपमा ‘गण्डकी आर्थिक त्रिभुज परियोजना’ अघि बढाउने घोषणा गरेको छ। जेठ १५ मा बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले भरतपुर–मुग्लिन–पोखरा–बुटवल क्षेत्रलाई समेटर आर्थिक त्रिभुज परियोजना अघि सारेका हुन्।
आर्थिक त्रिभुज परियोजना नेपालका लागि नयाँजस्तो देखिए पनि भएकै संरचनालाई प्रयोग र विस्तार गरेर त्यस क्षेत्रलाई व्यावसायिक बनाउन खोजिएको हो। त्रिभुज परियोजनामा समेटिएको भरतपुर–बुटवल–पोखरा राजधानी काठमाडौंपछि सबैका लागि पायक पर्ने क्षेत्र र मुलुकको आर्थिक केन्द्रका रुपमा विकास भइरहेका सहर हुन्।
नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिङ–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेटलगायत घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रको रूपमा विकास गरिने घोषणा सरकारले गरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्र गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजित पार्टी प्रशिक्षणमा भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रुपमा विकास गरिन लागेकाले मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक परियोजना बन्ने दाबी गरेका छन्।
त्रिभुज परियोजना बजेटमार्फत अर्थ मन्त्रालयले अघि सारेको हो। यद्यपि राष्ट्रिय योजना आयोगको योजना बैंकमा पनि त्रिभुज परियोजना समेटिएको बताइन्छ। त्रिभुज परियोजना कार्यान्वयन कार्ययोजना भने प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बनाएपछि अन्य निकायको टुंगो लाग्ने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्री बताउँछन्।
‘त्रिभुज परियोजना अर्थ मन्त्रालयको प्रस्ताव भए पनि प्रधानमन्त्री कार्यालयले कार्ययोजना कार्यान्वयन कार्यविधि बनाउँछ,’ प्रवक्ता खत्रीले क्यापिटल नेपालसँग भने, ‘कसरी र कुन रुपमा कार्यान्वयन हुने, कुन निकाय जवाफदेही हुने र कसरी कार्यान्वयनमा जाने भन्ने विषय कार्यविधि बनेपछि प्रस्ट हुन्छ।’
नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिङ–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेटलगायत घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रको रूपमा विकास गरिने घोषणा सरकारले गरेको छ।
कार्यविधिले त्रिभुज परियोजना कार्यान्वयनको आधार, काम सुरु गर्ने समय र निर्माण गर्ने म्याद, पूर्वाधार परियोजनामा अटाउने संरचना, परियोजनाको लागत रकमजस्ता विषय प्रस्ट्याउनेछ। बजेटमा आएका प्रावधान हेर्दा सामान्यतया प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालयलगायतको भूमिका रहने देखिन्छ।
काठमाडौंपछिका व्यापारिक र आर्थिक केन्द्रलाई एकीकृत गरी आर्थिक वृद्धिका सम्भावित क्षेत्रलाई समेटेर त्रिभुज परियोजना अघि बढाएको देखिन्छ। गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणघाट–बुटवल र मुग्लिङ–पोखरा सडक खण्डको विस्तार कार्य आर्थिक वर्ष २०८१/८२ भित्र सम्पन्न गर्ने बजेटमै उल्लेख छ।
त्यस्तै, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने र त्रिभुजका तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल निर्माण गरिने विषय पनि बजेटमा समावेश छ।
त्रिभुजभित्र गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्राहलय निर्माण गर्ने, गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखाबजार, मनकामना, बेनीघाटसम्म पड्वे यातायात चलाउने सरकारको तयारी छ। हिन्दु धर्मावलम्बीको आस्था धरोहर मनमकामना भरतपुर–मुग्लिङ–पोखरा खण्डकै आसपास पर्छ।
त्यस्तै, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेका छन्। भरतपुर– बुटवल औद्यागिक पूर्वाधार विकास भएको क्षेत्र पनि हो। भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) समावेश यस करिडोरमा अहिले पनि धेरै उद्योग सञ्चालनमा छन्।
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना, ४२ मेगावाटको मोदी ‘ए’ जलविद्युत् आयोजना र गुरिल्ला ट्रेललगायतका पर्यटकीय पूर्वाधार विकास गरी गण्डकीलाई पर्यटन ‘हब’ बनाउने काम अघि बढेको छ। पोखरामै मेडिकल कलेज स्थापना र मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणले तीव्रता पाएको छ। याे परियाेजनाले कालीगणडकी करिडाेरलाइर् पिन
उता, बुटवलबाट स्याङ्जा हुँदै पोखरा जोड्ने सडक विस्तारको काम सुस्त रुपमा अघि बढिरहेको छ। त्यस क्षेत्रमा पनि वालिङ, गल्याङ, चापाकोट र पुतलीबजारजस्ता क्षेत्र व्यावसायिक विस्तारको खोजीमा भौंतारिएका छन्। त्यस्तै, मुग्लिङ–पोखरा करिडोर क्षेत्रमा पर्ने बन्दीरपुरमा पर्यटन व्यवयासीले ठूलो लगानी गरेका छन्।
डुम्रे क्षेत्रमा स्मार्ट सिटी निर्माण परियोजना अघि बढेको छ। सरसर्ती हेर्दा मुग्लिङ–पोखरा क्षेत्रका दमौली, आँब खैरेनी, खैरेनीटार, बेंसीसहरलगायत क्षेत्र व्यावसायिकीकरणको दिशामा अघि बढेका छन्।
त्रिभुज परियोजनामा समेटिने भरतपुर शिक्षा र स्वास्थ्यको हब बन्दै गइरहेको छ। भरतपुर मुग्लिङ क्षेत्रमा पर्ने देवघाट हिन्दुहरूको पवित्र धार्मिक स्थल हो।
निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने सरकारी लक्ष्य भए पनि अहिलेसम्म निजी क्षेत्रसँग छलफल भएको छैन। बजेट कार्यान्वयन साउन १ देखि हुने भएकाले पनि सरकारले हतार नगरेको हुन सक्छ।
प्रधानमन्त्री कार्यालयले बनाउने कार्यविधिले निजी क्षेत्रसँगको सहकार्यको प्रारुप तयार गर्नेछ। सार्वजनिक/निजी साझेदारीको नमुना परियोजना मानिएको त्रिभुजका लागि आगामी बजेटमा २ अर्ब विनियोजन भएको छ।
सरकारी योजनाअनुसार भरतपुर कोणमा पर्या–पर्यटन सेवा, जलयात्रा र विशिष्टीकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद, पर्या–पर्यटन सेवा तथा अनुसन्धानमूलक उच्च शिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकास तथा विस्तारका लागि काम हुनेछ।
एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने अवधारणा सरकारले सार्वजनिक गरेको हो।