काठमाडौं । सरकारको महत्वकाँक्षी कार्यक्रमको रुपमा रहेको भ्रमण वर्ष २०२० सुरु भएको छ । २०७६ पुस १६ देखि ०७७ पुस १५ (सन २०२१ सम्म ३६५ दिनभित्र हवाई वा स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने विदेशी नागरिक (गैरआवासीय नेपालीसमेत) गणना गरेर सरकारले २० लाख पर्यटकको संख्या ल्याउने योजना सार्वजनिक गरेको छ ।
विशेष गरेर संविधान कार्यन्वयन पछिको पहिलो सरकार गठन भएलगत्तै २० लाख पर्यटक नेपालमा ल्याउने र २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने निर्णय गरेको थियो ।
हालको पर्यटक परिभाषाअनुसार नेपालमा आउने सम्पूर्ण विदेशी पर्यटकका रुपमा गणना हुनेछ । तर, उनीहरु घुम्न मात्र आएका हुँदैनन, कतिपय विदेशी नेपालमा काम गर्न पनि आउने गरेका छन ।
अहिले विशेषगरी चिनियाँ नागरिक नेपालमा कामका लागि बढी आउँछन । काम गर्न आउने विदेशीको छुट्टै तथ्यांक छैन । यद्यपि श्रम तथा रोजगार मन्त्रालयबाट विदेशीले नेपालमा काम गर्ने अनुमति भने लिनुपर्छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार २०१९ को नोभेम्बरसम्म २ हजार २०३ जनाले वर्किङ भिसा लिएर काम गरिरहेका छन । सन २०१८ मा २ हजार ३४५ जना विदेशीले वर्किङ भिसा लिएका थिए । सन् २०१९ मा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन ।
यसअघि सरकारले सन १९९८ मा भ्रमण बर्ष र सन २०११ मा नेपाल पर्यटन बर्ष आयोजना गरेको थियो । १९९८ मा ५ लाख पर्यटक भित्राउने लक्ष्य लिँदा ४ लाख ६३ हजार ६८४ र सन २०११ मा १० लाख पुर्याउने लक्ष्य राखेकामा ७ लाख ३६ हजार २१५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
२०११ मा भन्दा सन १९९८ मा तुलनात्मक रुपमा आँकलनअनुसार पर्यटक आगमन भएको थियो । यी दुई वर्षलाई हेरेका कतिपय जानकारले २०२० को लक्ष्य बढी भएकाले प्राप्त हुन कठिन पर्ने बताउँदै आएका छन ।
नेकपाको दुई तिहाईको सरकारका तत्कालिन पर्यटन मन्त्री स्व.रविन्द्र अधिकारीले १५ लाख पर्यटक ल्याउने योजना अघि सारेका थिए । २०७६÷०७७ को बजेटबाट २० लाख पर्यटक ल्याउने र त्यस्को तयारीमा जुट्न संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयललाई जिम्मेवारी दिएको थियो ।
पर्यटन क्षेत्रमा सरकारको लगानी नभएको, यस क्षेत्रलाई अपनत्व गर्न नसकेको आरोपहरु निजी क्षेत्रबाट लागिरहदा भ्रमण बर्षलाई सरकारले आफ्नो कार्यक्रममा राखेको हो ।
नेपालको गन्तव्य बारे अन्तर्राष्ट्रिय जगतमा सुन्दर छवि प्रचारित गर्न,राष्ट्रिय रुपमा पर्यटनलाई प्राथमिकतामा रहेको आभाष दिन,अन्य क्षेत्रमा मुख्य सरोकारवाला निकायबीच समन्वय र सम्बन्ध सुदृढ गर्न र निजी क्षेत्रका सरोकारवालाहरुलाई उत्साहित र उत्प्रेरित गर्ने भ्रमण बर्षको मुख्य उद्धेश्य रहेको पर्यटन मन्त्री योगेश भट्टराईको भनाइ छ । २०२० लाई आधार वर्षको रुपमा मनाउने र २०३० भित्रमा ३५ लाख पर्यटक नेपालमा ल्याउने योजना सहित कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।
भ्रमण वर्ष– २०२० का कार्यक्रम संयोजक सुरज वैद्यका अनुसार श्रमिक मात्र होइन, नेपालमा हुने विभिन्न किसिमका कार्यक्रम (सभा, सेमिनार, गोष्ठी) मा सहभागी हुन आउने विदेशीको पनि पर्यटककै रुपमा गणना हुन्छ । अहिले नेपालमा विदेशीको बढ्दो आकर्षणले २०२० मा २० लाख पर्यटक पुर्याउन कुनै समस्या नरहेको वैद्य दाबी गर्छन ।
भूकम्पबाट भत्किएका ८९१ सम्पदाहरुमध्ये आधाभन्दा कम ३८७ ओटाको मात्र पुननिर्माण भएको छ । अहिले नेपालमा पर्यटकको संख्यामा बृद्धि भएपनि उनिहरुको बसाई र खर्च गर्ने प्रवित्ति बढ्न सकेको छैन् । सन् २०१७ मा एक पर्यटकले दैनिक औसत ५४ अमेरिकी डलर खर्च गरेकोमा सन् २०१८ मा ४४ डलरमा सिमित भएको छ । यो बर्षको भ्रमण बर्षको नारा “लाइफ टाइम एक्सपेरियन्स’ दिइएको छ ।
होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले भ्रमण वर्ष २०२०ले पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्ने आशा व्यक्त गरेका छन् । थला परेको होटल क्षेत्रलाई सरकारको कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।
ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल(टान)का अध्यक्ष खुम सुवेदीले नयाँ वर्ष सँगै भ्रमण वर्षको सुभारम्भले पर्यटन क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने बताए । सरकारी स्तरबाटै पर्यटन क्षेत्रको विकासमा उत्सवको रुपमा मनाउनुलाई गौरवको रुपमा लिनु पर्ने उनी बताउछन् ।
सरकारले पर्यटकका लागि आवश्यक पूर्वधारहरु निर्माण गर्न भन्दै एक बर्ष अघि पर्यटन मन्त्रालयले १ सय ओटा नयाँ गन्तव्यको पहिचान गरेर आवश्यक पूर्वधार निर्माण गरीररहेको छ । ती १ सय ओटा गन्तव्यलाई तत्कालै पूर्ण रुपमा दिन नसक्ने भन्दै त्यहि भित्रबाट भ्रमण बर्ष सचिवालयले २५ ओटा गन्तव्य छुट्याएको थियो । त्यस गन्तव्यको विषेश प्रचार प्रसार गर्ने भन्दै समिति लागि परेको छ ।
अहिले हवाई क्षेत्रमा केहि नयाँ कामहरु भने भएका छन् । राष्ट्रिय ध्वजावाहक जहाज नेपाल एयरलाइन्सले नयाँ गन्तव्यको रुपमा जापानमा उडान गरिरहेको छ । छिट्टै चीनमा उडान गर्ने तयारी गरिरहेको छ । सिधा उडान हुदा हवाइ भाडा सस्तो पर्ने र सहज हुने भएकाले धेरै पर्यटक जापान र चीनबाट नेपाल आउने अपेक्षा गरिएको छ ।
यस्तै नेपालबाटै हिमालय एयरलाइन्सले भने बंगलादेशको ढाका र चीनको दुई ओटा गन्तव्यमा उडान गरिरहेको छ । नेपालसँग सिधा हवाई सम्पर्क हुदा त्यहाँका पर्यटकहरुलाई सहज हुन्छ । यस्तै भारतबाट पनि केहि एयरलाइन्सहरुले नेपालमा उडान थप गर्न लागिरहेको छ भने अन्य देशबाट पनि नेपालमा उडान थप गरिरहेको छ ।
हवाई क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा उडान हुदा यात्रुहरुलाई सस्तो फेयर पर्ने विश्वास गरिएको छ । अहिले नेपालमा आउने जहाजहरुको हवाई भाडा महंगो भएको भन्दै धेरै पर्यटकहरुले गुनासो गर्दै आएका छन् ।