काठमाडौं । कसरी आफूलाई विश्व बजारमा सर्वोत्कृष्ट तुल्याउने भन्ने प्रतिस्पर्धा सबै ठूला कम्पनीमा हुन्छ। धेरै ठूला कम्पनी आफूलाई 'नम्बर वान' बनाउन सक्रिय हुन्छन्।
हाल माइक्रोसफ्ट विश्वको सबैभन्दा ठूलो कम्पनीमध्येमा पर्छ। यसअघि एप्पल विश्वकै दोस्रो ठूलो कम्पनी थियो। तर, हाल एप्पललाई अमेरिकी अर्धचालक चिप निर्माता एनभिडियाले पछि पारेको छ।
एक नम्बर कम्पनी माइक्रोसफ्टको बजार भ्यालु ३.१३ ट्रिडियन डलर, एनभिडियाको बजार भ्यालु ३.०१ ट्रिलियन डलर र एप्पलको बजार भ्यालु ३.०० ट्रिलियन डलर रहेको छ। यस्तो चौथो, पाँचौं र छैटौंमा क्रमश: अल्फाबेट (गुगल)को २.१८ ट्रिलियन डलर, अमेजनको १.८९ ट्रिलियन डलर र साउदी अरामको १.८२ ट्रिलियन डलर बजार भ्यालु रहेको छ।
सन् २००२ मा पनि एनभिडियाको मार्केट भ्यालु एप्पलभन्दा अगाडि पुगेको थियो। त्यतिबेला दुवै कम्पनीको मार्केट भ्यालु १० अर्ब डलरभन्दा कम थियो। पाँच वर्षपछि २००७ मा एप्पलले पहिलो आईफोन लन्च गर्यो। त्यसपछि एप्पलले मार्केट द्रुत रुपमा बढायो। तर, यतिबेला पुन: एनभिडियाले एप्पललाई पछि पारेको छ।
एनभिडियाको सेयर पछिल्लो ६ महिनामा १६९.०८ प्रतिशतले बढेको छ। एनभिडियाको सेयरले यो वर्ष अहिलेसम्म १५४.१९ प्रतिशतको प्रतिफल दिएको छ।
हालको सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाका छिमेकी भारतमा मात्रै चार इन्जिनियरिङ विकास केन्द्र छन्। भारतको हैदराबाद, पुणे, गुरुग्राम र बेंग्लोरमा विकास केन्द्र छन्।
एनभिडिया ग्राफिक्स प्रशोधन इकाई (जीपीयू)को डिजाइन र निर्माणका लागि परिचित टेक्नोलोजी कम्पनी हो। यस कम्पनीको १९९३ मा जेन्सेन हुआंग, कर्टिस प्रिम र क्रिस मालाचोस्कीले स्थापना गरेका थिए। कम्पनीको मुख्यालय सान्ता क्लारा, क्यालिफोर्नियामा छ।
एनभिडियाले गेमिङ, क्रिप्टोकरेन्सी खनन र व्यावसायिक अनुप्रयोगहरूको लागि चिप डिजाइन र निर्माण गर्छ। यसको चिप प्रणाली सवारी साधन, रोबोटिक्स र अन्य उपकरणमा प्रयोग हुन्छ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको कुल सम्पत्ति १०७.४ अर्ब डलर पुगेको छ।
एप्पलले यस वर्ष थुप्रै चुनौतीको सामना गरेको छ। चीनमा आईफोनको घट्दो माग र युरोपियन युनियनबाट जरिवानाको चिन्ताका कारण यसको शेयर दबाबमा छ।
यही चिन्ताका बीच पछिल्लो एक महिनामा एप्पलको सेयर ७.७९ प्रतिशतले बढेको छ। यससँगै एप्पलको सेयरले ६ महिनामा १.८५ प्रतिशत र एक वर्षमा ९.३० प्रतिफल दिएको छ। - एजेन्सी