काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन्।
मोदीको शपथ शनिबार दिल्लीमा हुँदै छ। यसअघि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीलाई लोकसभा निर्वाचनमा सबैभन्दा ठूलो दल हुन सफल भएकामा बधाइ दिएका थिए।
प्रधानमन्त्री दाहालले दिएको बधाइलाई मोदीले सामाजिक सन्जाल एक्समार्फत धन्यवाद दिएका थिए। ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। उहाँको न्यानो शुभकामनाका लागि धन्यवाद व्यक्त गरें। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं,’ प्रधानमन्त्री मोदीले भनेका थिए।
प्रधानमन्त्रीको दिल्ली भ्रमणबारे काठमाडौंस्थित भारतीय दूतावासलाई जानकारी गराइएको र आजको मन्त्रिपरिद् बैठकले त्यसलाई अनुमोदन गर्ने बताइएको छ। यसअघि बुधबार दुई प्रधानमन्त्रीबीचको फोनवार्तामा मोदीले शपथका बेला दिल्ली आइदिन दाहाललाई निम्तो दिएका थिए।
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा बढी २४० सिटमा विजयी भएको छ। ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ।
बिजेपी नेतृत्वको नेसनल डेमोक्र्याट एलायन्स (एनडीए)ले २९३ स्थानमा विजयी भएको छ।मोदीले बुधबार पदबाट राजीनामा दिएसँगै तेस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन्।
एनडीएका दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देशम पार्टी (टिडिपी)ले मोदीकै नेतृत्वमा सरकार बनाउने सहमति जनाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
तर, २३१ सिट जितेको कांग्रेस आईसहितको इन्डिया गठबन्धनले पनि सरकार निर्माणका लागि जेडीयू र टिडिपसँग वार्ता थालिएको जनाएको छ। भारतमा कुनै पनि दलले बहुमत (२७२)का नपाएपछि भाजपा वा विपक्षी गठबन्धलाई सरकार बनाउन अन्य दलको सहयोग आवश्यक पर्नेछ।