काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको फाइल खोलेर देखाउन गृहमन्त्रीलाई चुनौति दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको र त्यसमाथि छानबिन गर्न गृहमन्त्री रबि लामिछानेलाई चुनौति दिए। कांग्रेसमाथि प्रश्न उठाइएकाले छानबिन गरेर दोषिलाई कारबाही गर्न महामन्त्री शर्माले आग्रह गरे।
‘गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न। बोल्न सक्नुभएको भए शिक्षामन्त्री उपरको शब्द फिर्ता लिनूस् पूर्वप्रधानमन्त्रीज्यू भनेर उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो। नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन,’ उनले भने।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै महामन्त्री शर्माले त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव दिए।
उनले न्यूरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राखे। मेयर बालेन्द्रले गरेको काम ठिक रहेको र उनलाई काम गर्न दिनुपर्ने शर्माको धारणा थियो।
त्यस्तै, महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनी परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरेका छन्।
अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनको भनाइ थियो।