काठमाडौं।फुटबल क्लब, एफसी चितवनुले नेपालमा फुटबल खेलका विभिन्न आयामबारे सरोकारवालासँग अन्तर्क्रिया गरेका छ।
एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभालाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलबारे भरतपुरमा छलफल आयोजना गरेको हो। अन्तर्क्रियामा ५ सय बढी खेलाडी, विद्यार्थी र नेपाली फुटबल सम्बद्ध सरोकारवाला सहभागी थिए।
छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, संघसंस्था, निजी संस्था र खेलाडीको भूमिकाबारे विभिन्न दृष्टिकोण प्रस्तुत भएका थिए। सरोकारवालाबीच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीको आवाजलाई समावेश गर्नेजस्ता महत्त्वपूर्ण विषय पनि छलफलमा उठेका थिए।
अन्तरक्रियासँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथामजस्ता आवश्यक विषयमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो। आधुनिक उपकरण तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडी उत्साहित भएका थिए। यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नुपर्ने खेलाडीको भनाइ थियो।
अन्तर्क्रियामा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी संघका अध्यक्ष विक्रम लामाको सहभागिता थियो।
एफसी चितवनले आफ्ना साझेदारसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। आइएमई पे एफसी क्लबको प्रायोजक हो। कम्पनीले भरतपुर मेयर कप फुटबल प्रतियोगिता प्रायाेजन गरेकाे छ।