काठमाडौं । झापाको भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालले स्तरोन्नति थालेको छ। हाल १०० बेडमा सञ्चालित अस्पतालमा करिब १ अर्ब १५ करोड लगानी थप गर्दै ३०० बेडमार्फत सेवा दिने तयारी थालिएको हो। अस्पतालले २०० बेडको लागि संचरना तयार पारेर अनुमती मागेको छ।
अबको १ वर्षभित्रमा ३०० बेडको अस्पताल सञ्चालन गर्नेगरी काम अगाडी बढेको अस्पतालका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए। अस्पताल सञ्चालनमा आएको १८ वर्षपछि आँखाको अप्रेसनसहितको सेवा जेठभित्रै सञ्चालन गर्न लागिएको उनले बताए।
करिब ३५ करोड लगानी थप गरी आँखाका सम्पूर्ण अप्रेसन गरिने उनको भनाइ छ। आँखाको अप्रेसनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार जर्मनबाट ल्याइसकिएको उनले जानकारी दिए।
दैनिक ७०० भन्दा बढी आँखाका बिरामीको अप्रेसन गर्न सक्ने क्षमता अस्पतालमा सुरु भएको उनले प्रस्ट पारे। पछिल्लो समय भारतसँग सीमावर्ती क्षेत्रमा रहेका नेपालका अस्पतालमा आँखाको उपचार गराउन आउने भारतीय नागरिकको संख्या ह्वात्तै बढेकाले लगानी विस्तार गरिएको उनले बताए।
भद्रपुर क्षेत्रमै पहिलो आँखा अस्पतालको रूपमा ओमसाइ पाथीभरामा सञ्चालनमा आएको थियो। भारतभन्दा नेपालमा आँखाको उपचार सस्तो पर्ने भएकोले ८० प्रतिशत बिरामी भारतीय नै हुने गरेको अस्पतालले जनाएको छ।
अस्पतालको छैटौँ तल्लामा १५ हजार स्क्वायरफिटमा आँखाको उपचार केन्द्र सञ्चालन गरिएको छ। पाँच चारे स्तरको सुविधा दिने गरी अस्पताल सञ्चालन गरिएको पोखरेलले बताए। अस्पतालभित्र कुनै सुविधाको कमी नहुने गरी बिरामीको उपचार गरिने उनले बताए। डाक्टर, पूर्वाधार र उपकरणमा अस्पताल सक्षम रहेको उनको भनाइ छ।
एपोले अस्पतालसँगको सहकार्यमा मुटु उपचार
अस्पताल प्रशासनले मुटु र मिर्गौला उपचारको सेवा थप्ने योजना पनि बनाएको छ। दिल्लीमा रहेको एपोलो अस्पतालसँगको सहकार्यमा मुटुको सम्पूर्ण उपचार नेपालमै गर्ने गरी संरचना तयार पार्न थालिएको बताइएको छ।
अबको ६ महिनाभित्र ८० हजार स्क्वायरफिटको संरचना थप गरी मुटुको सम्पूर्ण उपचार नेपालमै गर्नेगरी सम्झौता भइसकेको अध्यक्ष पोखरेलले बताए। ‘मुटुको उपचारका लागि नेपालीले भारतसहित अन्य मुलुकमा जाने समस्या समाधानका लागि ओमसाइ पाथिभारामै लगानी थप गरेका हौं,’ अध्यक्ष पोखरेलले भने, ‘अहिले पनि एपोलो अस्पतालका डाक्टर अमनले महिनाको ५ दिन मुटु रोगीको चेकजाँच गरिरहनु भएको छ।'
मिर्गौला प्रत्यारोपणको लक्ष्य
अस्पतालले मिर्गौला प्रत्यारोपणको लक्ष्यसमेत लिएको छ। सोही अनुरूप पनि संरचना विस्तार भइरहेको पोखरेलले बताए। 'कोलकोत्ताको एक अस्पतालसँगको साझेदारीमा मिर्गौला सम्बन्धी सम्पूर्ण उपचारसँगै प्रत्यारोपण सेवा दिने सहमति भएको छ। हामी विभिन्न सेवा एकै थलोबाट सुलभ रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौं,' उनले भने।
अबको १ वर्षभित्रमा मुटु र मिर्गौलाको उपचार दिने गरी काम अगाडी बढेको अस्पतालले जनाएको छ। मुटु र मिर्गौलाको उपचारका लागिमात्रै संरचना निर्माणमा अस्पतालले करिव ८० करोड लगानी थप्ने जनाएको छ। ३ बिघा क्षेत्रफलमा फैलिएको अस्पताललाई भौतिक संरचना निर्माणका लागि कुनै समस्या नहुने बताइएको छ।