काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन भित्रिएको लामो समय भएको छैन। नेपाली सडकमा कुद्ने सवारीसाधनको संख्या हेर्ने हो भने पनि ईभीको वर्चश्व कायम भइसकेको छैन। तर, नेपालमा दुई पांग्रे विद्युतीय सवारीसाधन भित्र्याउने ब्रान्डको संख्या भने अनुमानभन्दा धेरै छ।
हाल काठमाडौं उपत्यकालगायत मुलुकभर ईभी स्कुटर बिक्री वितरण गर्ने शोरुमको उपस्थिति बाक्लो छ। लगभग आधा दशकमा ईभी स्कुटर वितरक चोकचोकमा पुग्न भ्याइसकेका छन्। हालसम्म नेपालमा करिब सात दर्जन ब्रान्डले दुई पांग्रे (टू ह्विलर्स) बिक्री गरिरहेको बिक्रेताको दाबी छ। तर, स्थापित र चलेका ब्रान्ड भने औंलामा गन्न सकिने मात्रै छन्।
अहिले ४७ ब्रान्डका स्कुटर दर्ता भएर चलेको देखिन्छन्। तर, धेरै ब्रान्डका स्कुटर दर्ता नभइकन पनि चलेको बिक्रेताको कथन छ।
उपलब्ध अधिकांश ब्रान्ड बजार अध्ययन नगरी सवारीसाधन ल्याउन हतारिँदा चल्न नसकेर बन्द भएका छन्। धेरै ब्रान्ड नचलेर बन्द भइसकेका छन्। यो अवस्थाले अधिकांश ब्रान्ड प्रयोगकर्ताको रुची, नेपाली बजार र दीर्घकालीन सोचलाई अध्ययन नगरी नेपाल प्रवेश गरेको देखिन्छ।
हाल नेपाली बजारमा एथर, सेगवे, निउ, लुयान, प्योर ईभी, सुपर सोको, टेल्जी, टेरा, भिमोटो, कोमाकी, रेमोटोजलगायत ब्रान्डका थुप्रै मोडल उपलब्ध छन्।
विद्युतीय स्कुटर ब्रान्ड सेगवेका बजार प्रमुख मनिष मुरारका नेपालमा सीमित ब्रान्डमात्र राम्रोसँग चल्न सक्ने बताउँछन्। ‘नेपालमा करिब १० ब्रान्ड राम्रोसँग चल्न सक्छन्। तर, हाल सयौं ब्रान्डले स्कुटर भित्र्याइरहेका छन्। हरेक दिन नयाँ ब्रान्ड खुल्ने र बन्द हुनेक्रम पनि जारी छ,’ मुरारका भन्छन्, ‘सरकारले सबै ब्रान्डले भित्र्याउने सवारीसाधनको गुणस्तर हेरेर आयातमा नियमन गर्ने समय आइसकेको छ।’
खासगरी एक दुई वटा सवारीसाधन ल्याएर परीक्षणका रुपमा हेरिहालौं भन्ने मानसिकतामा धेरै ब्रान्ड खुल्ने र बन्द हुने अवस्था सिर्जना भएको छ। बजारका दर्जनौं ब्रान्डका सयौं सवारीसाधनले समग्र ईभी बजारप्रति नै अविश्वासको वातावरण सिर्जना भएको छ। कुनै पनि वितरकले एउटा सवारीसाधन बिक्री गरिसकेपछि उक्त सवारीसाधनका लागि आवश्यक सेवा सुविधा र पार्टपुर्जा उपलब्ध गराउन पर्ने हुन्छ।
तर, धेरै ब्रान्ड सीमित सवारीसाधन बिक्री गरेर बाहिरिँदा समग्र बजारलाई ग्राहकले हेर्ने दृष्टिकोण फरक भएको छ। मुरारकाका अनुसार नेपालमा करिब दैनिक ६० देखि ६५ सम्म दुईपांग्रे विद्युतीय सवारीसाधन आयात हुने गरेका छन्। यसमा पनि कतिपय ब्रान्ड अनौपचारिक रुपमा आएर रजिस्टर नभई सञ्चालनमा छन्। बजारमा दर्जनौं ब्रान्डले सयौं भेरियन्टका ईभी भित्र्याउँदा प्रयोगकर्तासमेत रनभुल्ल परेका छन्।
विद्युतीय स्कुटर ब्रान्ड लुयानका बजार प्रमुख शंकर शर्मा बजारको बिक्री पक्ष नबुझी आयात र बिक्रीवितरणमा हात हाल्दा धेरै ब्रान्ड टिक्न नसकेको तर्क गर्छन्। बजारमा टिक्नका लागि बिक्री पक्ष बुझ्ने व्यवसायी कम रहेको र सर्भिस सेन्टर तथा पार्टपुर्जा स्टकमा नराख्ने प्रवृत्तिले पनि सीमित ब्रान्ड बजारमा टिक्न सकेको उनको तर्क छ।
‘एउटा कपडा व्यवसायी वा कोही व्यक्ति चीन घुम्न गयो भने एक–दुई लट स्कुटर लिएर आउँछ। त्यो बिक्रीगरेपछि हराउँछ। हाम्रोमा कुन ब्रान्डले आयात तथा बिक्री गर्यो भनेर हेर्ने संयन्त्र छैन,’ शमा भन्छन्, ‘वैदेशीक रोजगार कम्पनीले आफ्नो पैसा डिपोजिट राखेर कम्पनी दर्ता गरेजस्तै सवारीसाधन विक्रेतालाई पनि एउटा निश्चित रकम ढलौटी राख्नुपर्ने र दर्ता गर्नुपर्ने नियम ल्याएमा च्याउसरी ब्रान्ड खुल्दैन थिए।’
अलगअलग ब्रान्डका अलगअलग किसिमका समस्याले ईभी बजार प्रति यथार्थताभन्दा बढी नकरात्मकता फैलिएको छ। जुन ईभी प्रोत्साहनको नीति लिएको सरकार र अन्य ईभी व्यवसायीका लागि चुनौतिको विषय हो। नेपालमा न्यून गुणस्तरको सवारीसाधन आयात भइरहेको गुनासो पनि आउने गरेको छ।
एउटा व्यापारीले सुरुमा २० देखि २५ युनिट सवारीसाधन आयात गर्छ। उक्त आयात भएको सवारी चल्यो भने पछि अरु पनि आयात हुन्छ। अन्यथा बन्द हुन्छ। जसले सवारीसाधन आयात गर्छ, उसले कमाउँछ भन्ने किसिमको अवस्थाले पनि हालको अवस्था सिर्जना भएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा निश्चित पावर उत्पादन गर्ने मोटरबाट चल्ने सवारी अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। तर, यातायात कार्यलय प्रदेश मातहतमा भएकाले यसको अनुगमन हुन सकेको छैन।
खआर्थिक वर्ष २०७६/७७ मा १ हजार ३४९ ईभी बाइक तथा स्कुटर आयात हुने गरेकोमा चालु आर्थिक वर्षको १० महिनामा ५ हजार ८८७ युनिट ईभी बाइक तथा स्कुटर आयात भएको छ। भन्सार विभागको तथ्थांक अनुसार ईभी बाइक तथा स्कुटरको आयात बढ्दो क्रममा रहेको छ।
५ वर्षमा आयात भएका ईभी मोटरसाइकल तथा स्कुटर
आर्थिक वर्ष आयात संख्या
२०८०/८१ ५८८७ (१० महिना)
२०७९/८० ७१५५
२०७८/७९ ३६१०
२०७७/७८ २३३३
२०७६/७७ १३४९