काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रशासनिक समस्याको कारण आलु, प्याज र स्याउमा भ्याट हटाइएको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले आलु, प्याज र स्याउमा भ्याट हटाइएको बताएका हुन्।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न विगतमा भन्दै भ्याट ल्याउने नीति रहेको सन्दर्भमा पूर्वअर्थमन्त्री प्रकाशरण महतले प्रश्न उठाएपछि अर्थमन्त्री पुनले गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर लगाइएकोमा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेकोले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाएर आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको बताए।
फलाम स्टिलको कर नीतिका सवालमा उनले संसदीय समितिको निर्देशनलाई पालना गरेको मन्त्री पुनको दाबी छ।
बिलेटको कच्चा पदार्थ स्पन्जमा कर बढाएपछि उद्योगीहरूको आपत्ति जनाएका थिए भने प्रतिनिधिसभा सदस्यहरूले समेत अस्थिर कर नीति लिएको भन्दै संसदमा अर्थमन्त्रीको आलोचना गरेका थिए।
'स्पन्ज आइरनको भन्सार महसुल दर वृद्धि तथा बिलेट आयातमा लाग्ने अन्त:शुल्क हटाएको सम्बन्धमा सम्मानित संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्णयअनुसार अर्थ मन्त्रालयलाई प्राप्त निर्देशनसमेतलाई आधार मानेर फलामको डण्डी उत्पादनमा अन्त:शुल्क लाग्ने व्यवस्था गरिएको हो,' मन्त्री पुनले भने।
कच्चा पदार्थको रूपमा रहेको बिलेटको आयातमा अन्त:शुल्क लगाउन उचित समेत नदेखिएको हुँदा बिलेट आयातमा लाग्ने अन्त:शुल्क हटाइएको उनले जानकारी दिए।
राजस्व परामर्श समितिमा भएको छलफल, विज्ञबाट गरिएको अध्ययनको निष्कर्षका आधारमा निजी विद्युतीय सवारी साधनमा लाग्ने भन्सार महसुल र अन्त:शुल्कमा केही वृद्धि गरिएको उनले बताए।
सूचना प्रविधिको उपयोगमा वृद्धि, कर प्रणालीमा सुधार एवं मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै लगिएको उनको भनाइ छ। करका दरमा समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको र आगामी आर्थिक वर्षको लागि राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा स्रोत सुनिश्चत गरिएका आयोजनाहरूमा स्रोतको कमी हुन नदिइने अर्थमन्त्री पुनले सांसदहरूको जिज्ञासामा प्रतिवद्धता जनाए।
बजेटले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिइएकाले आर्थिक क्रियाकलाप बढ्ने प्रस्ट पार्दै उनले तीन कोण आयोजनामा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरिने बताए।