काठमाडौं। बागमती करिडोर सडक खण्डमा निर्मित दुई नगरपालिका र दुई निर्वाचन क्षेत्र जोड्ने ‘जम्बुडाँडा पुल’ उद्घाटन भएको छ।मोटरेबलको पुलको बुधबार उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरे।
नवनिर्मित पुलले काठमाडौं निर्वाचन क्षेत्र २ र ३ तथा गोकर्णेश्वर र मनोहरा नगरपालिकालाई जोड्नेछ।
कार्यक्रममा मन्त्री महासेठले पुल निर्माणपछि स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरे। ‘पुल सञ्चालनपछि धेरैले खुसी व्यक्त गरेको देखें तर यो खुसी हुनुपर्ने नयाँ काम गरेको होइन। जनताको आवश्यकता पूरा भएको हो,’ उनले भने।
उपत्यकामा अब नयाँ डिजाइनका पुल निर्माणले प्राथमिकता पाउने र गोकर्णेश्वर तथा मनोहरा आसपास क्षेत्रमा सडक मर्मतलाई प्राथमिकता दिइने पनि उनले बताए। पुल निर्माण सडक डिभिजन काठमाडौंले गरेको हो।
कार्यक्रममा हाल जम्बुडाँडाको नामले चिनिने उक्त स्थानको पुरानो नाम डौंडिकडाँडा भए पनि डिभिजन कार्यालयले पुरानो नामलाई बेवास्ता गरेको स्थानीय जनप्रतिनिधिले गुनासो गरेका थिए। स्थानीयको गुनासोपछि मन्त्री महासेठले सडक डिभिजनलाई पुलको नाम ‘डौंडिक जम्बुडाँडा पुल’ उद्घाटनको शिलालेख नै परिवर्तन गर्न निर्देशन दिए।
उनले भने, ‘स्थानीयले पुरानो पहिचानको रुपमा रहेको डौंडिक नाम लोप हुन लागेको गुनासो गर्नुभयो। सडक डिभिजन कार्यालय काठमाडौंलाई पुलको नाम ‘डौंडिक जम्बुडाँडा पुल राखेर शिलालेख परिवर्तन गर्न निर्देशन दिन्छु।’
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार ४१.८ मिटर लम्बाइ र ७.५ मिटर चौडाइको उक्त पुल ३ करोड ८० लाखमा निर्माण भएको हो। पुल निर्माण ड्रयागन रियलको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी)ले गरेको हो।
भौतिक मन्त्रालयका सचिव गोपाल सिग्देलले पुल निर्माण हुनु सहर विकासको सूचक भएको धारणा व्यक्त गरे। पुल सञ्चालनपछि काठमाडौं उपत्यककाको ट्राफिक व्यवस्थापनमा सहजीकरण हुने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।