काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारलाई ल्यापटपमाथि लगाइएको अन्तःशुल्कबारे पुनर्विचार गर्न आग्रह गरेको छ।
सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि ५ प्रतिशत अन्त:शुल्क लगाएको भन्दै क्यान महासंघले सो निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेको हो।
मंगलबार बसेको महासंघको बैठकले ल्यापटपमा लगाइएको करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटी सहित विभिन्न क्षेत्रमा असर पुग्ने उल्लेख गरेको छ।
‘मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको छ,’ क्यान महासंघका अध्यक्ष रणजीत पौदारले भने, ‘सूचना प्रविधिको विकासका लागि अपरिहार्य डिभाइसमै यसरी अन्तःशुल्क लगाइएकाले हामी सरकारको ध्यानाकर्षण गराउँछौं।’
नयाँ आर्थिक वर्षका लागि सरकारले सूचना प्रविधि क्षेत्र लक्षित राम्रा कार्यक्रम ल्याइरहँदा ल्यापटपमा अन्तःशुल्क बढाउनुले गलत सन्देश दिएको उनको भनाइ छ।
‘ल्यापटपको मूल्य एक लाख छ भने १३ हजार त भ्याट लाग्छ। अब पाँच प्रतिशत अन्तः शुल्क लाग्ने भएपछि एक हजार १८ रुपैयाँ पुग्छ,’ अध्यक्ष पोदारले भने, ‘यसको मारमा सबैभन्दा बढी उपभोक्ता नै पर्ने देखिन्छ।’
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले सरकारको यो कदमले शिक्षा, स्वास्थ्य, पर्यटन, अर्थ, आईटी, अस्पताल लगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पर्ने बताए। उनले प्रविधिमैत्री समाज निर्माण गर्न ल्यापटपजस्ता अत्यावश्यक डिभाइस आयातमा प्रोत्साहनमूलक नीति हुन जरुरी रहेकोमा जोड दिए।