काठमाडौं । पछिल्लो दुई महिनामा चार जना पाइलट निलम्बनमा परे। हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले २०८१ वैशाख र जेठको बीचमा चार जना पाइलटलाई निलम्बन गरेको हो।
प्राधिकरणले गरेको कारबाही फुकुवाका लागि पाइलट शक्तिकेन्द्र धाउँदै आएका छन्। पाइलटहरू विभिन्न राजनीतिक दलका नेताहरूको घरदैलोमा पुगेको यो पहिलो घटना भने हैन। प्राधिकरणले कुनै किसिमको कारबाही गरे तत्कालै पाइलटहरु नेताकहाँ पावर लगाउन पुगिहाल्छन्। यो क्रम लामो समयदेखि जारी छ।
पछिल्लो दुई महिनाको बीचमा कारबाहीमा परेका पाइलट पनि निलम्बन फुकुवाका लागि प्रधानमन्त्री कार्यालय, मन्त्री, सांसददेखि नेताहरूको दैलोमै पुगेर फोन गर्न लगाउँछन्।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निलम्बनमा परेका पाइलटले राजनीतिक पहुँच प्रयोग गरेर फुकुवाका लागि दबाब आउने गरेको बताए। ‘विभिन्न राजनीतिक दलका नेताहरुको फोन आउने गरेको छ', महानिर्देशक अधिकारीले भने, ‘जवाफमा नियमअनुसार निलम्बन र फुकुवा हुने भएकोले दायाँबायाँ केही गर्न नमिल्ने बताउने गरेको छु।’
पछिल्लो दुई महिनाको बीचमा नेवानिका विजय लामा, भावना पन्त, प्रभु हेलिकोप्टरका पासाङ शेर्पा, सिम्रिक हेलिकोप्टरका रानेश डंगोल निलम्बनमा परेका छन्।
प्राधिकरणका अनुसार पाइलटले कुन काम गर्न हुने र कुन नहुने नियममै स्पष्ट पारिएकोले त्यहीअनुसार कारबाही र फुकुवा हुने गरेको छ। कारबाहीमा फुकुवाका लागि शक्तिकेन्द्र धाउँदैमा केही हुँदैन भन्ने जानकारी ती पाइलटलाई भए पनि दबाब दिन सकिन्छ कि भन्ने उद्देश्यले शक्ति केन्द्रमा जाने गरेको बताइन्छ।
‘कति पाइलटले प्रधानमन्त्री कार्यालयमा गएर फोनसमेत गराउन लगाउँछन्। नियमसम्मत गरिएको कारबाहीमा प्रक्रियागत रूपमा अगाडि बढ्छ भनेर जवाफ दिने गरेको छु,’ महानिर्देशक अधिकारीले भने।
कारबाहीमा परेपछि प्राधिकरणले सोधेको स्पष्टीकरण राम्रोसँग दिने र आगामी दिनमा कुनै गल्ती नगर्ने प्रतिबद्धता जनाउनुको सट्टा शक्तिकेन्द्र धाउँदा झनै समस्या बल्झिने गरेको छ।
पछिल्लो दुई महिनाको बीचमा नेवानिका विजय लामा, भावना पन्त, प्रभु हेलिकोप्टरका पासाङ शेर्पा, सिम्रिक हेलिकोप्टरका रानेश डंगोल निलम्बनमा परेका छन्।
प्राधिकरणलाई लाइसेन्स खारेजीसम्मको अधिकार
कुनै पाइलटले गम्भीर लापरबाही पटक पटक गर्दै आए र प्राधिकरणले चाहे लाइसेन्स खारेजसम्म गर्न सक्छ। मानवीय संवेदशीलतासँग जोडिएको हुनाले पाइलटले कुनै गल्ती गर्ने छुट नहुने र उनीहरूको व्यवहारका आधारमा निलम्बन फुकुवाको समय समेत प्रयोगको अधिकार प्राधिकरणसँग हुन्छ।
कुनै पाइलटको एक सातामै निलम्बन फुकुवा भएको छ भने केहीको एक वर्ष लागेको छ। घटना र पाइलटको आचरणको आधारमा निलम्बन लम्बिने र फुकुवा भएकोले राजनीतिक शक्तिकेन्द्र धाउनु गलत एक हेलिकोप्टर व्यवसायी बताउँछन्।