काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलसँगको सहकार्यमा ब्रोकर कम्पनी नासा सेक्युरिटिजले सेयरमा लगानी गर्ने ग्राहक लक्षित अवसर सार्वजनिक गरेको छ।
सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले हस्ताक्षर गरे।
समझदारीअनुसार एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्नेछन्।
पहिलो पटक डिम्याट खाता खोल्न १०० र मेरोसेयरमा दर्ता हुन ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ। १५० रुपैयाँको शुल्क ५५ प्रतिशत छुटपछि ६७.५० मात्रै तिरे पुग्ने एनसेलले जनाएको छ ।
एनसेल एपको माध्यमबाट ग्राहकले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नवीकरण गर्नेलगायत समस्या र जिज्ञासा राख्न सक्नेछन्।
‘ग्राहकलाई युज केस अवसर उपलब्ध गराएर आर्थिक गतिविधि बढाउँदै बजारलाई चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न तत्पर छौं’, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने।
उपभोक्तालाई प्रविधिमा सधैं सहज पहुँच बनाउन एनसेलले ‘सधैं अन’ अभियान सञ्चालन गरिरहेका बेला सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गरिएको उनले बताए।
एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० बढी देशमा उपलब्ध रोमिङ सेवा प्रयोग गर्दै डिम्याट खाता खोलेर सेयरमा लगानी गर्न सक्नेछन्।
‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नवीकरण’मा नारासहित सुरु भएको सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्तालाई अनलाइन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक पौड्यालले बताए।