काठमाडौं । जेठ १ गतेबाट सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २००० बिन्दु माथि छ। २०८१ वैशाख ४ गतेदेखि जेठ १ गतेसम्म भने नेप्से २००० र १९०० बिन्दुको बिचमा थियो। यसो, त लामो समयदेखि बजार यही १९०० र २००० बिन्दु वरपर घुमिरहेको छ।
नेप्से माथिल्लो बिन्दुमा चढ्न नसक्दा अधिकांश कम्पनीको सेयर मूल्य अंकित मूल्य नजिक छ। सेयर बजारमा धेरै हिस्सा ओगटेका तथा कुनै समय अधिक आकर्षणमा पर्ने गरेका बैंक, विकास बैंक, बिमा कम्पनी, जलविद्युत क्षेत्रका कम्पनीको सेयर मूल्य हाल न्यनू बिन्दुमा छ।
तुलनात्मक रुपमा हेर्दा सेयर बजार नै सुस्त अवस्थामा छ। यस्तो अवस्थामा करिब एक दर्जन कम्पनीको सेयर मूल्य मात्रै २००० रुपैयाँ प्रतिकित्ताभन्दा माथि रहेको देखिन्छ। २ हजार बढी सेयर मूल्य हुने कम्पनी लघुवित्त, उत्पादनमूलक क्षेत्रलगायतका छन्। लामो समयदेखि आफ्नो वित्तीय विवरण सार्वजनिक नगरेका तथा वार्षिक साधारणसभा पनि गर्न नसकेका केही कम्पनीको सेयर मूल्यसमेत २००० रुपैयाँ भन्दा माथि छ।
उच्च प्रतिफल दिनसक्ने, सर्वसाधारणको सेयर हिस्सा कम भएका, पुँजी र वित्तीय सूचक बलियो अवस्थामा रहेका कम्पनीको सेयर मूल्य महँगोमा किन्न खोज्दा पनि सहजै पाइने अवस्था छैन।
यद्यपि, नेप्सेमा सूचिकृत करिब ३०० कम्पनीमा एक दर्जन कम्पनीको सेयर मूल्य मात्रै २ हजार माथि हुनुले पनि पुँजी बजार सुस्त अवस्थामा रहेको पुष्टि हुन्छ। किनभने, बजार चलयमान भएको समयमा यो भन्दा धेरै कम्पनीको सेयर मूल्य दुई हजार भन्दा माथि हुने गरेको उदाहरण छन्।
राष्ट्रिय बिमा कम्पनी लिमिटेड
राष्ट्रिय बिमा कम्पनी लिमिटेड (आरबीसीएल)को सेयर पछिल्लो कारोबार दिन जेठ २२ गते मंगलबार प्रतिकित्ता १३ हजार २०० रुपैयाँमा कारोबार भएको छ। नेप्सेमा यस कम्पनीको २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ, जसमा १२.२५ प्रतिशत सेयर मात्रै सर्वसाधारणको स्वामित्वमा छ। २६ करोड ६६ लाख सेयर पुँजी भएको यस कम्पनीले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ५१ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो। नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी तोकेको छ। यसअनुसार यस कम्पनीले अझै पनि आफ्नो चुक्ता पुँजी पुर्याउन सकेको छैन। गत वर्षको तुलनामा चालू आर्थिक वर्षको कम्पनीको नाफा २४.७८ प्रतिशतले कम छ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५८.१९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६११.२९ रुपैयाँ छ। कम्पनीले २०८० जेठ ३१ गते ६ आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको थियो। कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७२/७३ सम्मको वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
साविक राष्ट्रिय बिमा संस्थान र निर्जीवन बीमा विभाग को ३१औं वार्षिक साधारणसभा र राष्ट्रिय बिमा कम्पनीको प्रथम वार्षिक साधारणसभा एकैपटक सम्पन्न गरेको थियो। त्यसयता कम्पनीको वार्षिक साधारणसभा भएको छैन।
नागरिक लगानी कोष
नागरिक लगानी कोष (सीआईटी)को सेयर मंगलबार प्रतिकित्ता २११८ रुपैयाँमा कारोबार भएको छ। नागरिक लगानी कोषको ५ करोड ३१ लाख ३७ हजार ५०४ कित्ता सेयर नेप्सेमा सूचीकृत छ जसमा २० प्रतिशत सर्वसाधारणको स्वामित्वमा छ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको ७७ करोड ७९ लाख रुपैयाँ भन्दा १३ प्रतिशतले बढी हो।
कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.४१ रुपैयाँ छ भने रिटर्न अन इक्वीटी ८.४९ प्रतिशत छ। नागरिक लगानी कोषले २०८० असार ३१ गते आफ्नो २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
बोटलर्स नेपाल (तराई)
मंगलबार बोटलर्स नेपाल (तराई) लिमिटेड (बिएनटी)को सेयर प्रतिकित्ता १२ हजार ६७१.२० रुपैयाँमा कारोबार भएको छ। कम्पनीको १२ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ, जसमा २५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बिएनटीले २६ करोड १४ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको ३६ करोड १० लाख २५ हजार रुपैयाँको तुलनामा ३८.०९ प्रतिशतले कम हो।
कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ र प्रति सेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ छ। कम्पनीको प्रतिसेयर वार्षिक आम्दानी २८८ रुपैयाँ रहेको छ। बोटलर्स नेपाल तराईले पछिल्लो पटक २०७८ पुस २८ गते आफ्नो ३५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
उच्च प्रतिफल दिनसक्ने, सर्वसाधारणको सेयर हिस्सा कम भएका, पुँजी र वित्तीय सूचक बलियो अवस्थामा रहेका कम्पनीको सेयर मूल्य महँगोमा किन्न खोज्दा पनि सहजै पाइने अवस्था छैन। यद्यपि, नेप्सेमा सूचिकृत करिब ३०० कम्पनीमा एक दर्जन कम्पनीको सेयर मूल्य मात्रै २ हजार माथि हुनुले पनि पुँजी बजार सुस्त अवस्थामा रहेको पुष्टि हुन्छ।
बोटलर्स नेपाल (बालाजु)
बोटलर्स नेपाल (बालाजु) लिमिटेड (बिएनएल)को सेयर मंगलबार प्रतिकित्ता १६ हजार ५० रुपैयाँमा कारोबार भएको छ। कम्पनीको १९ लाख ४८ हजार ८८७ कित्ता सेयर नेप्सेमा सूचीकृत छ, जसमा २५ प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा छ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको ४३ करोड ५४ लाख रुपैयाँको तुलनामा ८६.२४ प्रतिशत हो। १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पन्ीको जगेडा कोषमा ५ अर्ब ७० करोड ९८ लाख रुपैयाँ छ।
कम्पनीको प्रतिसेयर वार्षिक आम्दानी २४ रुपैयाँ र नेटवर्थ ३ हजार २२९ रुपैयाँ रहेको छ। कम्पनीले पछिल्लो पटक २०७८ पुस २८ मा आफ्नो ४३औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
साल्ट ट्रेडिङ कर्पोरेसन
साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)को सेयर मंगलबार प्रतिकित्ता ४ हजार ८६४ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको ३२ लाख ७ हजार १७१ कित्ता सेयर नेप्सेमा सूचीकृत २१ प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा छ।
३२ करोड ७ लाख चुक्ता पुँजी रहेको एसटीसीको जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसैअवधिको ३ करोड ७१ लाखको तुलनामा ४० प्रतिशतले बढी हो।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २८९ रुपैयाँ ५५ पैसा छ। साल्ट ट्रेडिङले २०८० चैत २३ गते आफ्नो ५७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
विशालबजार कम्पनी
विशालबजार कम्पनी लिमिटेड (बिबिसी)को सेयर मंगलबार प्रतिकित्ता ३ हजार ८७० रुपैयाँमा कारोबार भएको छ। कम्पनीको ४ लाख ९१ हजार ४०० कित्ता सेयर नेप्सेमा सूचीकृत छ, जसमा ८५.२६ प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा छ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासयता वित्तीय विवरण सार्वजनिक गरेको छैन। कानुनबमोजिम साधारणसभा नबोलाएको भन्दै २०७४ असार ७ मा पाटन उच्च अदालतले विशालबजार कम्पनीलाई साउनमसान्तसम्म वार्षिक साधारणसभा गर्न आदेश दिएको थियो।
साेहीअनुसार कम्पनीले २०७४ साउन ३१ मा साधारणसभा गरेको थियो। त्यसपछि अर्को साधारणसभा गरेको छैन।
समाज लघुवित्त वित्तीय संस्था
समाज लघुवित्त वित्तीय संस्था (समाज)को सेयर मंगलबार प्रतिकित्ता २१६० रुपैयाँमा कारोबार भएको छ। कम्पनीको २ लाख २८ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचिकृत छ जसमा सर्वसधारणकाे ९८ हजार २५५ अर्थात् ४३ प्रतिशत र प्रमोटरको १ लाख ३० हजार २४५ कित्ता अर्थात् ५७ प्रतिशत छ।
कम्पनीले सार्वजनिक गरेको चालू आथिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअुनसार कम्पनी २२ लाख ९८ हजार रुपैयाँ घाटामा छ। गत आर्थिक वर्षको यसै अवधिमा भने कम्पनीले ७५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो।
२ करोड २८ लाख चुक्ता पुँजी रहेको कम्पनी घाटामा गएसँगै प्रतिशेयर आम्दानी १० रुपैयाँ ६ पैसा ऋणात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९५. ५१ रुपैयाँ छ। कम्पनीको जेठ २१ गतेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण नगर्ने निर्णय गरेको गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफा साधारण जगेडा कोषमा र रिटेन अर्निङमा जम्मा गर्दै सेयरधनीलाई लाभांश नदिने भएको हो। आर्थिक वर्ष २०७९/८० मा कम्पनीको ३० लाख ७३ हजार ७५१ रुपैयाँ भएकोमा २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा जम्मा गर्ने भएको छ।
बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको छ। कम्पनीले २०८० साउन ३१ गते आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (एएनएलबी)को सेयर मूल्य मंगलबार २३४० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ। कम्पनीको ६ लाख ८५ हजार ७१८ कित्ता सेयर नेप्सेमा सूचीकृत छ, जसको ३२.६३ प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा छ।
कम्पनीको चुक्ता पुँजी ६ करोड ८६ लाख रुपैयाँ रहेको छ। कम्पनीले २०८० पुस २८ गते आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था
युनिक नेपाल लघुवित्त वित्तीय संस्था (युएनएलबी)को सेयर सोमबार प्रतिकित्ता २००९ रुपैयाँमा कारोबार भएको थियो, तर मंगलबार भने घटेर १९८३ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ।
कम्पनीको १४ लाख ८५ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत छ, जसको ३० प्रतिशत स्वामित्व सर्वसाधारणमा छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी ३ करोड ८८ लाख रुपैयाँ घाटामा थियो।
कम्पनीले तेस्रो त्रैमाससम्ममा संस्थाले १७ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५.८७ रुपैयाँ, प्रतिसयर नेटवर्थ ३२८.६५ रुपैयाँ छ। कम्पनीको रिजर्भको आकार १८ करोड २५ लाख रुपैयाँको छ भने रिटेन्ड अर्निङ १५ करोड २६ लाख रुपैयाँ छ।
यस्तै, निक्षेप संलकन २ अर्ब ५४ करोड र कर्जा प्रवाह ३ अर्ब ४१ करोड रुपैयाँ छ। कम्पनीले २०८० साउन २५ गते आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
सोल्टी होटल
सोल्टी होटल लिमिटेड (एसएचएल)को सेयर मंगलबार प्रतिकित्ता ४३४ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ। अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेको कम्पनीको अंकित मूल्य अन्यको जस्तै १०० रुपैयाँ मान्ने हो भने सेयर प्रतिकित्ता ४ हजार ३४० रुपैयाँ प्रतिकित्ता हुन जान्छ।
सोल्टीको ९ करोड २८ लाख ९५ हजार ३७० कित्ता सेयर नेप्सेमा सूचीकृत छ, जसको १५ प्रतिशत सर्वसाधारणको स्वामित्वमा छ।
सोल्टी होटलले चालू आवको तेस्रो त्रैमाससम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको ३७ करोड ११ लाखको तुलनामा ११ प्रतिशत बढी हो।
अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा छ। कम्पनीले २०८० पुस ४९ गते आफ्नो ४९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।
युनिलिभर नेपाल
मंगलबार युनिलिभर नेपाल लिमिटेड (युएनएल)को सेयर ४४ हजार४८७ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ। हालै मात्र युनएलले अधिकृत पूँजी ३० करोडबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ।
यसको ९ लाख २० हजार ७०० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। त्यसमध्ये १० प्रतिसत सेयर मात्रै सर्वसाधारणको स्वामित्वमा छ। युनिलिभरले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२१५ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५८० रुपैयाँ नगद लाभांश दिएको छ।
चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार युनिलिभरले ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको ३७ करोड २६ लाखको तुलनामा ३० दशमलव ४६ प्रतिशतले बढी हो।
चैतसम्मको विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ हजार २ सय २ रुपैयाँ, प्रतिसेयर सम्पत्तिको मूल्य (नेटवर्थ) ३ हजार १ सय ६२ रुपैयाँ र सञ्चित कोष (रिटेन्ड अर्निङ) मा ४ अर्ब २६ करोड रुपैयाँ छ। कम्पनीले २०८० मंसिर २६ गते आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको थियो।