काठमाडौं। अर्थमन्त्री वर्षमान पुनसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रक्सले भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेट गरेको हो।
भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएको अर्थ मन्त्रालयले जनाएको छ। एमसीसी परियोजना सम्पन्न गर्न मन्त्रालयबाट हुने सहयोग र समन्वयका लागि तयार रहेको अर्थमन्त्री पुनको भनाइ थियो।
मन्त्री पुनले भने, ‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्न सरकार प्रतिबद्धछ। परियोजनाअन्तर्गतका आयोजनाको काम खण्ड खण्डमा भइरहेकाले समयमै सकिनेमा विश्वस्त छु।’
मन्त्री पुनले परियोजना कार्यान्वयनका क्रममा देखिने जग्गा मुआब्जा, वन क्षेत्रलगायत समस्या एमसीए नेपालमार्फत समाधान हुने विश्वास व्यक्त गरे।
भेटमा उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे अवगत गराउँदै आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए।
करिब ६० अर्ब बराबरको एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुने एमसीए नेपालले जनाएको छ।
एमसीसीबाट नेपालले प्राप्त गर्ने ४५ अर्ब अनुदानमध्ये नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्चिनेछ। आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्ने सम्झौता छ।