काठमाडौं । कोटेश्वर–कलंकी सडक खण्डमा आकासे पुल निर्माण कार्य सुस्त गतिमा छ । सो सडक खण्डको ६ स्थानमा आकासेपुल निर्माण गर्ने लागेको एक वर्ष भइसकेको छ ।
त्यसमध्ये बल्खु, सानेपा र महालक्ष्मीस्थानको आकासेपुलको डिजाइन बिग्रेको भन्दै निर्माण रोकिएको छ । बाँकी बालकुमारी, सातदोबाटो र एकान्तकुनाको आकासेपुल निर्माण कार्य भने ९० प्रतिशत सकिएको सडक विस्तार योजनाका प्रमुख अमृतमणि रिमालले बताए ।
‘तीन स्थानका डिजाइन बिग्रिएकाले सडक विभागमा सच्याएर काम अगाडी बढाउनको लागी प्रस्ताव गरी फाइल पठाएको छौ,’ उनले भने ‘विभागबाट स्वीकृति आउने बितिकै काम अगाडी बढाउछौं ।’ बिग्रेको डिजाइन विभागबाट सच्याएर एक वर्षभित्र सबै आकासेपुलको काम सक्ने तयारीमा रहेको उनको भनाइ छ ।
सो खण्डमा नै ३/३ ओटा पुल निर्माण गर्ने गरी मर्हजन निर्माण सेवा र अवाले विल्डस कम्पनीले एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो । एउटा आकाशेपुल निर्माणको लागी करिव ३ करोड रुपैयाँ छ । सबै पुलको गरी कुल लागत २१ करोड रुपैयाँमा निर्माण कार्य अगाडी बढाइएको प्रमुख रिजालले जानकारी दिए ।
चीन सरकारको अनुदानमा नेपालकै नमुना ८ लेन सहितको १०.३९ किलोमिटरको सडक विस्तार भएता पनि पर्याप्त मात्रामा आकासेपुल बनेको छैन ।
सोहि कारण सरकारले ६ स्थानमा आकासेपुल बनाउन लागेको थियो । चिनीयाँ कम्पनी सांघाइले कोटेश्वर, ग्वार्को र बागडोलमा तीन वटा आकाशे पुल निर्माण गरीसकेको छ।
गत वर्ष मंसिर २९ मा चीनले कलंकी–कोटेश्वर सडक खण्ड नेपाललाई हस्तान्तरण गरेपछि पुल निर्माणको काम अगाडि बढाइएको थियो ।
नयाँ पुलहरु अपाङ्गमैत्री बन्ने भनिए पनि बजेट अभावका कारण त्यस्तो नहुने रिमालले बताए । ‘अपाङगमैत्री बनाउनको लागी बजेट नपुग्ने भएकाले अहिले सामान्य ओहोरदोहोर गर्ने पुल निर्माण गर्न लागेको छ’ उनले भने ।
नेपाल सडक मापदण्ड २०७१ अनुसार सडकको दायाँबायाँ न्यूनतम १.२ मिटरको साइकल लेन र न्यूनतम १.५ मिटरको फुटपाथ हुनुपर्छ । तर, अहिले बनिरहेको चक्रपथमा ड्रेन, फुटपाथ र साइकल लेनसहित २.५ मिटर मात्र छ ।