काठमाडौं। नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित गरेकामा अध्यक्ष चन्द्र ढकालले सरकारलाई धन्यवाद दिएका छन्। मंगलबार महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले नीति पारित भएपछि स्टार्टअप विस्तारले गति लिने बताएका हुन्।
दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई बुझाएको उनको भनाइ थियो। त्यसमा व्यापक छलफलपछि केही दिनअघिको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।
‘विकसित देशमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविकै हो किनकि व्यवसायमा नयाँ सोच प्रार्दुभाव भइरहेको र स–सानो लगानीमा नयाँ विचारका साथ केही व्यवसाय उदाउँदै गर्दा तिनको सञ्चालन कसरी र केका आधारमा भइरहेका छन् भन्ने राज्यको चासो देखिएको छ’, उनले भने। जेठ २ को मन्त्रिपरिषद बैठकले स्टार्टअप नीति पारित गरेको थियो।
अध्यक्ष ढकालले भने, ‘नीति आउनु महासंघ तथा समग्र निजी क्षेत्रका लागि महत्त्वपूर्ण छ किनकि यसका लागि हामीले निरन्तर विभिन्न माध्यमबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै आएका थियौं।’
नीतिले अंगिकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमबारे अध्यक्ष ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसाल सहभागी कार्यक्रममा महासंघ सचिवालयमा नीति संवाद आयोजना गरिएको हो।
कार्यक्रममा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठनका कार्यकारी निर्देशक उमेशकुमार गुप्तालगायतले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा सञ्चालन कार्यविधि २०८० र अहिले कार्यान्वयन भइरहेको कर्जा वितरण अन्तिम अवस्थाबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए।