काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा विविध कार्यक्रम गरी १६औं वार्षिकोत्सव मनाइएको बताएको छ। कम्पनीले वार्षिकोत्सव अवसरमा विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीलाई खाद्यान्न र स्टेसनरी सामग्री वितरण गरिएको जनाएको छ।
कम्पनीले कोसीको विराटनगरमा पूर्वाञ्चल बालसेवा आश्रमलाई स्टेसनरी तथा विराटेश्वर वृद्धाआश्रमलाई निर्माण सामग्री, बिर्तामोडस्थित नमस्ते बाल तथा वृद्धाश्रमका बालबालिकालाई शैक्षिक सामाग्री र वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ।
मधेस प्रदेशअन्तर्गत जनकपुरस्थित राम जानकी वृद्धाश्रम, बर्दिबासस्थित भुवनेश्वरी वृद्धाश्रम र वीरगन्जस्थित मानव सेवा आश्रममा पनि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार बागमतीअन्तर्गत अपांगता पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवन देवघाटस्थित रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ।
गण्डकीअन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेंसीसहरस्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीलाई स्टेसनरी वितरण, पोखरास्थित र्वल्डएज होममा खाद्यान्न वितरण गरिएको छ।
यस्तै, कम्पनीले लुम्बिनीअन्तर्गत बुटवलस्थित अपांग आश्रममा खाद्यान्न वितरण, नेपालगन्ज, पाल्पा र घोराहीस्थित नीलसागर सेवा आश्रमका वृद्धावृद्धालाई खाद्यान्न वितरण, कपिलवस्तुस्थित कैलाश आश्रममा खाना खुवाएको छ भने कर्णालीको सुर्खेतस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत टीकापुरस्थित सहारा घर, डडेल्धुरास्थित उग्रतारा संस्कृत विद्यालय, झलारीस्थित विद्यालय र धनगढीस्थित परिवार बालगृहमा खाद्यान्न तथा विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो।