काठमाडौं। आइसीसी टी–२० विश्वकप क्रिकेटमा एक दशकपछि पुनरागमन गरेको नेपाल आज नेदरल्यान्डसँग खेल्दै छ।
नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। काठमाडौंमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो।
नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्यान्ड पाँचौं पटक सहभागिता जनाउँदैछ। नेपाल र नेदरल्यान्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन्।
तीन महिनाअघि नेपालमै भएको त्रिदेशीय टी–२० शृंखलामा नेदरल्यान्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो।
विश्वकपअन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्डप्रेरी रंगशालामा आज राती हुने उक्त खेलमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छ।
त्यसो त, नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्यान्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए।
नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो। त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरेका छन्।
यस पटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झाले सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन्। उनी १८ वर्ष भएका छन्।
विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन्।
अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन्।
त्यस्तै, विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही ७ लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन्।
विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन्। नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।
नेपाल र नेदरल्यान्डबीचको खेल नेपाली समयानुसार आज राती ९ः३० हुनेछ। समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। आज वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको दाबी गरे।
‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दै छ। यसले नेपालको गौरव थप बढाएको छ। विश्वको ध्यान नेपालतर्फ खिचिएको छ। देशको प्रतिष्ठा बढाउन निरन्तर मिहिनेत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु’, प्रधानमन्त्री दाहालले भने।