काठमाडौं। त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोङफेङ इलेक्ट्रिक भेहिकल्स सोरुम सञ्चालनमा ल्याएको छ।
त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोङफेङ अटोमोबाइल कम्पनीबाट आधिकारिक वितरक नियुक्त भएपछि कम्पनीले इलेक्ट्रिक भेहिकल आयात गरी बिक्री वितरण सुरु गरेको हो।
डोङफेङ अटोमोबाइल कम्पनी चीनको तीन ठूला गाडी निर्मातामध्येको हो भने विश्वका ६० देशमा यसका उत्पादन बिक्री वितरण हुँदै आएका छन्।
हाल ११ सिटे, १४ सिटे क्षमताको डोङफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताका कार्गो भ्यान बिक्री सुरु गरेको त्रिवेणी मोटोकर्पले जनाएको छ। ११ सिटे क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले फुल चार्जमा ३०० किमि रेञ्ज दिन्छ।
त्यसैगरी १४ सिटे क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले फुल चार्जमा ३०० किमि रेञ्ज दिन्छ।
यी गाडीका सबै सेग्मेन्टमा सीएटीएल ब्याट्री जडित छन्। कम्पनीले उक्त रेञ्ज ४० किमि प्रतिघन्टा गतीमा गाडी चलाए प्राप्त गर्न सकिने बताएको छ। यी गाडीस्मा त्रिवेणी मोटोकर्पले रेञ्ज परीक्षण गर्दा २५० किमिको रेञ्ज सजिलै पाइएको बताइएको छ।
कम्पनीले डोङफेङ इलेक्ट्रिक भ्यान नेपालभरि बिक्री वितरण गर्न डिलर नेटवर्क व्यवस्था गरिसकेको छ। ग्राहकलाई चार्जिङ सुविधा दिन चार्जिङ स्टेसन आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको र भविष्यमा आवश्यकताअनुसार थप्दै लगिने कम्पनीको भनाइ छ।